८ वैशाख २०८१ शनिबार
समाज

‘ईन्द्र भगवान’ले पनि पानी नपारेपछि बाँझै बस्यो शेराबेसी

दुलेगौँडा(तनहुँ)– सिंचाई सुविधा भएका फाँटहरुमा रोपिएका धानका वीउ गाँज हालेर हरिया बनेका छन्। लहलह परेका धान गोडमेल किसानहरुलाई चटारो छ। जिल्लाको शेराबेसीका किसानले भने साउनको अन्तिम सातासम्म पनि रोपाई गर्न पाएका छैनन्। फाँटमा लहलह परेका धान देख्दा बाँझो खेत सम्झन्छन्।

मानो रोपेर मुरी फलाउन व्यस्त हुने समय असारको महिनाभर पर्याप्त वर्षा नहुदाँ यहाँका किसानहरु आकाशको बादल हेरेर दिन बिताए। आकाशबाट पानी बर्सिएपछि रोपाई गर्ने आश साउन सकिनै लागेको छ। तर, पुरा भएन्। असारमा मकैवाली थन्काएर रोपाई गर्न खनजोत गरेर तयार पारिराखेको फाँटमा निलो गन्धे फुलेको छ। बाँझिएर खेत झाडी देखिएको छ। पर्याप्त वर्षा नभएपछि रोपाई गर्न नपाएर खेत बाँझो राखेका किसानहरु चिन्तित बनेका छन्।

मानो रोपेर मुरी उब्जाई बर्ष दिनलाई धान चामलको जोहो गर्ने किसानलाई बाँझो खेतले झस्काइरहन्छ। हुनेखानेहरुलाई बेसाएर पनि खान्छन्। यही फाँटमा खेत रोपेर सुनौला बाला झुलाएर छाक टार्ने किसानहरु चलाउनेहरु वर्ष दिन कसरी धान्ने पीरमा छन्। भोको पेट बस्नु पर्ने हो कि भनेर पिरोल्छन्।

लगातार ठुलो वर्षा भएपछि शेराबेसीका विभिन्न ठाउँमा मुल फुट्ने गर्दछ। विगतमा मुल फुटेपछि रोपाई सुरु गर्ने किसानले यो वर्ष मुल फुट्ने गरी वर्षा नभएपछि रोपाई गर्न नपाएका हुन्। पानी कुर्दै राखेको धानको वीउ सुकेर गएको छ। तीन पटकसम्म ब्याडमा राखेको वी रोप्न नपाएको स्थानीय उमा पन्थीले नागरिक न्यूजलाई बताइन्। उनले भनिन्, ‘असारमा पानी नपरेपनि साउनमा पर्लाकी भनेर तीन पटकसम्म वीउ राख्यौं। तीनै पटक रोप्न नपाई बुढो भयो, अहिले ब्याडमै सुकेर गएको छ।’  
पाँच हलको खेतमा उनले डेढ हलमा रोपाई गरेको बताईन्। ‘आकाशे पानी खेतमा जमेको मौका पारेर रोपाई गरिएको हो। त्यसपछि ठुलो पानी पर्न सकेको छैन्’, उनले अगाडी थपिन्, ‘रोपेको खेतमा धाजा फाटेको छ।’ राते र सेते लागेर रोपो सुक्दै गएको पन्थीले बताईन्। उनले पटक पटक औषधी र मल राखेपनि सिंचाई नभएकाले रोपेका धान जोगाउन मुस्किल भएको सुनाईन्। पन्थीले भनिन्, ‘दुख गरेर रोपियो, त्यही दुखनि नउठ्ने होकि जस्तो भयो।’

शेराबेसीको तलपट्टि गुबे खोला, ताल खोला र खुदी खोला उर्लिदै बगेको छ। प्रविधीको पहुँच नहुदाँ दुई सय मिटरमाथि शेराबेसीको फाँट बाँझो राख्नु परेको छ। पन्थीले नागरिक न्यूजसँग भनिन््, ‘प्रविधीको विकास गरेर फाँटमा सिचाई गर्न सके पानी नपरेको कारण खेत बाँझो राख्नु पर्दैनथ्यो होला। रुपा तालको पानी ल्याएर पनि रोप्न सकिन्थ्यो।’ अर्का किसान ऋषिराम पन्थीका अनुसार गाउँले सबैको खेत बाँझो छ। मुल फुटेका र मुलको नजिकका गह्रामा एक डेढ हलको मेलोे रोपाई केहीले गरेपनि धेरैको खेत बाँझै रहेको उनले बताए।

उनले भने, ‘बाँझो खेत देखेसी मन्न खिन्न हुन्छ। रोपाई गर्न पाएको भए ढुक्क हुन्थ्यो। असार साउनमा केही काम पनि छैन्। हिउँदमा के खानी भन्ने पीर छ।’ बस्तु भाउलाई आवश्यक परालसमेत बेसाउन पर्ने उनले बताए।

बाँझो खेतमा कोदो रोप्न पनि वीउ नराखिएकाले झन समस्या परेको उनले उल्लेख गरे। ‘पानी आउँछ भन्दै रोपाई गर्न बसियो। अस्तिसम्म धानकै वीउ राख्यौं। कोदोको वीउ राखेको भए रोप्न पाइन्थ्यो। बाँझो राख्न पर्थेन’, उनले सुनाए। 

स्थानीयले पानी माग्दै साउनको पहिलो साता इन्द्र भगवानको पूजा गरे। शेराबेसी र आसपासका फाँटमा पर्याप्त वर्षा नहुदा रोपाई गर्न नपाएका किसानले वर्षा हुने अपेक्षाले इन्द्रको पुजा गरे हुन्। वर्षा नभएपछि शेराबेसीसँगै शुक्लागण्डकी नगरपालिका–१ र २ का केही उर्वर फाँटहरुमा रोपाई भएन्। दुई सय रोपनीको हाराहारीमा खेत बाँझो रहेको राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए। उनका अनुसार शेरावेसी, ज्यामिरकोटे र सुन्दरी गाउँका अधिकांश खेत बाँझो छ।

पानी पर्ने आशाले सामूहिक रुपमा इन्द्र भगवानको पुजा आराधना गर्दै पानी मागेपनि राहत मिलेन्। यसअगाडी लामो समय पानी नपरेर खडेरी परेपछि २०४४ साल बैशाखमा शेरावेसीबासीले इन्द्रको पूजा गरेका थिए। त्यतिबेला पुजा गरेपछि पानी परेर स्थानीय खेतवाली लगाएका थिए। ‘त्यसयता अहिलेसम्म पानी नपरेकै कारण खेत बाँझो राख्नु परेको थिएन्’, उनले भने, ‘यसपाली के भयो कुन्नी! इन्द्र भग्वानको पुजा ग¥यौँ। मुल फुट्ने गरी पानी पर्न सकेन्। कलियुग लागेछ।’ 

गण्डकीमा ८६ प्रतिशत रोपाई
समयमा पर्याप्त वर्षा नभएपछि गण्डकी प्रदेशमा यो वर्ष साउन तेस्रो सातासम्म ८६ प्रतिशत रोपाई भएको छ। कृषि विकास निर्देशनालयका अनुसार धान खेतीका लागी योग्य एक लाख ९ हजार ४ सय ४५ हेक्टर क्षेत्रफल जमिनमध्ये ९४ हजार २ सय ६८ हेक्टरमा रोपाई भएको हो।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै म्याग्दी जिल्लामा ९५ प्रतिशत र कम लमजुङमा ७७ प्रतिशत रोपाई सकिएको वाली विकास अधिकृत मिलन आचार्यले जानकारी दिए। उनका अनुसार स्याङजा, कास्की, तनहुँ, नवलपुर र गोरखामा ८८ प्रतिशत रोपाई भएको छ। पर्वत र बागलुङमा  ८६ प्रतिशत रोपाई भयो। मनाङ र मुस्ताङमा रोपाई हुदैन्।

रोपाई गर्न बाँकी खेत यो वर्ष बाँझै रहने सम्भावना बढी रहेको आचार्यले बताए। उनले भने, ‘आकाशे पानीको भरमा रोपाई हुने खेतहरु हो बाँझो रहेका। पर्याप्त बर्षा नभएकाले बाँझो बनेका हुन्।’ अब वर्ष भएर रोपाई गरेपनि उत्पादनमा कमी आउने उनले जानकारी दिए। ‘किसानले राखेको वीउ बुढो भईसकेको छ। बुढो वीउले उत्पादनमा कमी ल्याउँछ’, उनले भने।

प्रदेशमा गत वर्ष अहिलेको बढी रोपाई भएको अनुमान गरिएको छ। गत वर्ष जिल्लाहरुमा कृषि ज्ञान केन्द्र ढिला गरी स्थापना भएकाले यकिन तथ्याङ्क नरहेको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७६ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App