coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री माथि गठबन्धनको शंका चुलियो, आन्दोलनको चेतावनी

काठमाडौं–कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताएको सरकारले हालसम्म पनि कुनै पक्रिया सुरु नगरेको भन्दै संघीय गठबन्धनले अब ‘नकुर्ने’ चेतावनी दिएको छ।

मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनको बिहीबार बसेको बैठकले सरकारले आफूहरुलाई झुक्याउने काम गरेको भन्दै आपत्ति जनाएको छ।
गठबन्धनले एक–दुई दिनभित्रै सरकारले आफूहरुसँग परामर्श नगरे दबाबका कार्यक्रम सुरु गर्ने निर्णय गरेको गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

प्रधानमन्त्रीले बारम्बार झुक्याउने काम गरेको भन्दै बैठकमा सरकारले अविश्वासको वातावरण सृजना गरेको नेताहरुले बताएका थिए। गठबन्धनले केही दिनभित्रै संशोधन प्रस्ताव दर्ता नगरे मंसिर पहिलोसाता कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ। गठबन्धनले भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर लिखितरुपमा संविधान संशोधन प्रस्ताव चाँडो दर्ता गराउने दबाब दिने भएको छ। प्रधानमन्त्रीलाई लिखितरुपमा दबाब दिने निर्णय गरेको गठबन्धनले बाहिरैबाट पनि सरकारमाथि दबाब बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

बैठकमा संविधान संशोधनप्रति प्रमुख प्रतिपक्ष एमालेसमेत सकारात्मक बनेका बेला सरकारले संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेको भन्दै प्रधानमन्त्रीको नियतमाथि शंका उब्जेको बताएका थिए।

‘बाहिर बाहिर मिठा कुरा गर्ने तर व्यवहार ठिक उल्टो गर्ने प्रधानमन्त्रीको कामले सरकारप्रति अविश्वास बढाएको गठबन्धनले निष्कर्ष निकालेको छ,’ महासचिव झाले नागरिकन्युजसँग भने,‘त्यस विषयमा प्रधानमन्त्रीलाई दबाब दिने निर्णय भएको छ।’

बैठकमा नेताहरुले भोलिदेखि संसदमा लोकमान विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने र बाँकी मुद्दा ओझेलमा पर्ने भन्दै तत्काल संविधान संशोधन विधेयक दर्ता नहुने त होइन भन्दै चिन्ता व्यक्त गरेको छ। शुक्रबारदेखि व्यवस्थापिका संसदमा अख्तियारका निलिम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध पेश भएको महाभियोग प्रस्तावमाथि छलफल सुरु हुँदैछ। ‘भोलिदेखि पुन मुलुक लोकमानमय हुनेछ,’ एक नेताले भने,‘यस्तो अवस्थामा संविधान संशोधन विधेयक दर्ता हुने संभावना कम रहन्छ।’ विभिन्न वहानामा सरकारले संविधान संशोधन विधेयक दर्ता गराउन ढिला गर्दै सरकार मुख्य विषयबाट पन्छिन खोजेको भन्दै गठबन्धनले सरकारमाथि शंका व्यक्त गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७३ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App