८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय परिचयपत्र वितरण रोकः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ। 

नेपाली कांग्रेसका सांसदहरू दीलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचयपत्र वितरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गरेका हुन्। शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा उनीहरुले यस्तो बताए।

कांग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचयपत्र वितरण गरेर सरकारले गल्ती गरेको दाबी गर्दै तत्काल स्थगित गर्न माग गरे। उनले राष्ट्रिय परिचयपत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराए।

कांग्रेस सांसद अमरेशकुमार सिंहले कानुनविपरीत राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाए। उनले कानुननै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो ? भनी सरकारलाई प्रश्न गरे।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचयपत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको उल्लेख गर्दै आपत्ति जनाए। उनले समितिमा विचाराधीन नागरिकता विधेयक र राष्ट्रिय परिचयपत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचयपत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराए।

बैठकमा समितिका सदस्यहरूले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचयपत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए।

प्रकाशित: २४ श्रावण २०७६ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App