coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बुटवलको फूलबारीमा भेटियो अवैध काठ

बुटवल फूलबारीको चितुवा बस्ने घरमा अवैधरूपमा लुकाएर राखिएको काठ। तस्बिरः विनोद परियार/नागरिक

रुपन्देही– बुटवलकाे पर्यटकीयस्थल फूलबारीभित्र अवैध काठ फेला परेको छ।

मणिमुकुन्दसेन उद्यान बुटवल फूलबारीको चितुवा बस्ने घरमा लुकाएर राखेको अवस्थामा ७३ दशमलव १९ क्युफिट टिक रुखको काठ डिभिजन वन कार्यालय रुपन्देहीले बरामद गरेको छ। बुटवल सामुदायिक वनभित्र रहेको पर्यटकीयस्थल फूलबारीको चिडियाखानाभित्र काटेर गोलिया बनाइएको २८ थान टिकको काठ भेटिएको हो।

मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारी सञ्चालक समितिको महासचिवमा बुटवल उपमहानगर वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपाल र सचिव पदमा वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल छन्। जनप्रतिनिधिनै सम्मिलित फूलबारीभित्र चितुवा रहेको चिडियाघरभित्र लुकाएर राखेको अवस्थामा काठ फेला पर्नुलाई रहस्मयरूपमा हेरिएको छ।

बरामद गरिएको काठको बजार मूल्य करिब अढाई लाख पर्छ। दुईवटा कोठामा राखिएको काठमध्ये एउटा कोठामा भने दुईवटा गोलिया मात्रै छ। ढलेका रुख काट्ने निहुँमा अन्य रुख काटेर काठको तस्करी गरेको आशंका गरिएको छ। बिहीबार स्थानीयले वनभित्र अवैधरूपमा रुख कटान भएको भन्दै डिभिजन वन कार्यालय रुपन्देहीमा खबर गरेका थिए। फूलबारीमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले प्रमाण नभएका काठ फेला पारेको छ। ‘कुनै पनि प्रमाण नभएको ७३.१९ क्युफिट काठ बरामद गरेका छौं, छानबिन गरेर कारबाही गर्छौं,’ डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख इन्द्र पछाईले भने।

चितुवा बस्ने घरभित्र कसैलै शंकानै नगर्ने ठाउँमा काटिएका काठ राखिएको छ। शंकास्पदरूपमा काठ फेला परेकाले छानबिन गरेर घटनामा संलग्नलाई कारबाही गरिने डिभिजन वन प्रमुख पछाईले बताए।

बुटवलको पहिचान बनेको फूलबारीभित्र केही दिनअघि हावाहुरीले रुख ढलेको भन्दै बुटवल सामुदायिक वनलाई अनुरोध गरेर डिभिजन वनबाट रुख काट्ने अनुमति लिएको थियो। ढलेका रुख काट्नका लागि आफूहरूले अनुमति दिएको भए पनि बरामद भएका काठ भने अवैधानिकरूपमा लुकाइएको अवस्थामा भेटिएको वन प्रमुख पछाईले बताए।

बुटवल सामुदायिक वनका पदाधिकारी र फूलबारी सञ्चालक समितिको संलग्नतामा वनका रुख काटेर तस्करी गरेको आशंका गरिएको छ। लामो समयदेखि बुटवल सामुदायिक वन १–४ मा विवादसमेत कायम थियो। स्थानीयले भने केही दिनदेखि ट्रयाक्टरबाट रातारात काठ ओसारेको बताएका छन्।

स्थानीय तथा  विवादित बुटवल सामुदायिक वनका अध्यक्ष माधवप्रसाद प्रधानले सामुदायिक वनमा तस्करी गर्नकै लागि आफ्नो नेतृत्वको समितिलाई अवैधानिक बनाइएको आरोप लगाए। उनले वनभित्रका सयौं रुखहरू काटेर तस्करी गरिएको बताए। ‘जनप्रतिनिधि सञ्चालक रहेको फूलबारीभित्र अवैधानिक काठ भेटिएको छ, यो सामान्य कुरा होइन,’ उनले भने।

बुटवल वडा नम्बर १ का अध्यक्ष तथा मणिमुकुन्द सेन उद्यान बुटवल (फुलबारी) सञ्चालक समितिका सचिवसमेत रहेका महेन्द्र लिगलले भने आफूलाई कुनै जानकारी नभएको बताए। ‘ढलेका रुख काट्ने निर्णय भएको हो, के के भयो मलाई जानकारी भएन,’ उनले भने।

डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत रविन्द्र चौधरीको नेतृत्वमा आएको टोलीले काठ बरामद गरी समितिका उपाध्यक्ष बाबुराम पोखरेललाई मुचुल्का बुझाएको छ। वनको टोली फूलबारीभित्र प्रवेश गरेपछि सञ्चालक समिति र कर्मचारीसमेत भागेका थिए।

चितुवा रहेको जंगल छेउको घरभित्र काठका गोलियालाई सुरक्षित रुपमा राखिएको छ। फूलबारीभित्रै अवैध काठ बरामद भए पनि फूलबारी सञ्चालक समिति र बुटवल सामुदायिक वनका पदाधिकारीले भने कुनै जिम्मेवारी लिएनन। घटनास्थलमा पदाधिकारीहरु आएनन्। फूलबारी सञ्चालक समितिका उपाध्यक्ष पोखरेलले समेत पत्र बुझ्न मानेका थिएनन्।

पोखरेलले आफूहरू पनि अचम्मित परेको भन्दै जो सुकै भए पनि कारबाही गरिने बताए। ‘बदमासी भएको छ, म त बैठकमा मात्रै आउने हो, कस्ले ग-यो हामी अचम्मित छौं,’ उनले भने।

सञ्चालक समितिका अध्यक्ष खेम लुइँटेल बुटवलमा भए पनि फूलबारीमा बदमासी हुँदा पनि फूलबारीमा प्रवेश गरेनन्। महासचिव तथा वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपाल पनि सम्पर्क बाहिर थिए। अध्यक्ष लुइँटेल भने नेकपा स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई भेट्न होटल न्यू इरा पुगेका थिए।

डिभिजन वन कार्यालय रुपन्देहीले वैधानिक मानेको बुटवल सामुदायिक वनका अध्यक्ष महेन्द्रकुमार राजभण्डारी पनि सम्पर्कविहीन भए। उनले पाँच पटकसम्म फोन गर्दा पनि सम्पर्कमा आएनन। सामुदायिक वन र फूलबारी सञ्चालक समितिको मिलेमतोमा काठ तस्करी भएको आशंका गरिएको छ।

सामुदायिक वनका उपाध्यक्ष हीकबहादुर दर्लामीले आफूहरुले ढलेका १२ वटा मात्रै रुख कटान गरेको तर, चितुवा घरमा कस्ले राख्यो त्यसबारे अनभिज्ञ भएको बताए। उनले पुरानो काठ भएकाले पुरानो वन समितिलाई जानकारी हुन सक्ने भन्दै जिम्मेवारीबाट पन्छिए।

प्रकाशित: २४ श्रावण २०७६ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App