८ वैशाख २०८१ शनिबार
समाज

एकैरातमा खरानी भए १३ पसल (फोटो फिचरसहित)

नेपालगन्जको वीपी चोकमा आगलागीबाट भएको क्षति। तस्बिरः अर्जुन ओली/नागरिक

नेपालगन्ज– नेपालगन्जको वीपी चोकस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आगलागीबाट १२ वटा फर्निचर उद्योग र एक डेन्टल क्लिनिकमा क्षति भएको छ।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर ओलीले बताए। प्रहरीका अनुसार व्यवसायी हासिमअलि सिद्धिकीले सञ्चालन गरेको बाबा फर्निचरमा सबैभन्दा बढी ९० लाख बराबरको क्षति भएको छ।

यस्तै जासिम रज्जा सिद्धिकीको बाबा टे«डर्समा ५० लाख, पारस बडहीको बिन्देश्वरी फर्निचरमा ४० लाख, व्यवसायी सब्बिरहुसेन सिद्धिकीले सञ्चालन गरेको हिमालय स्टिल फर्निचरमा ३५ लाख, अलि हुसेनको सानिया स्टिल फर्निचरमा २० लाख, अनिस अन्सारीको वारसी काठ फर्निचर उद्योगमा २० लाख, साहिद अन्सारीको स्टार फर्निचरमा १५ लाख, रिजवान अहमद जसगढको न्यु रुवी स्टिल फर्निचरमा १० लाख, लड्डन गुड्डु भनिने अब्दुलवाहिद सिद्धिकीको एवन फर्निचरमा आठ लाखको क्षति भएको छ।

यसै गरी व्यवसायी हीराबहादुर रुचालको आलिया ट्रेडर्समा पाँच लाख, जाविरअलि सिद्धिकीको अमन फर्निचरमा पाँच लाख, सरदार डेन्टल आर्ट्समा पाँच लाख र व्यवसायी प्रतापसिंह ठाकुरको दर्ता नभएको पसलमा दुई लाख क्षति भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए।

बिहीबार राति करिब ११ बजेतिर एवान फर्निचरबाट सुरु भएको आगो समयमा नियन्त्रणमा आउन नसक्दा अन्य पसलमा पनि सल्किएको थियो। ‘राति ११ बजेतिर एवान फर्निचरमा आगोको झिल्को देखिएको छ भनेर हामीलाई खबर आयो, त्यसपछि तत्कालै मेरो कमाण्डमा एक सय पाँचजना नेपाल प्रहरीको टोली आगो नियन्त्रण कार्यमा खटियो,’ एसपी ओलीले भने, ‘नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज विमानस्थलको दमकलले आगो निभाउने प्रयास गरे, तर पानी कहाँबाट ल्याउने भन्ने अन्योलता छायो, पछि खानेपानीको ट्यांकीबाट दमकलमा पानी भर्दै निभाउने काम भयो।’

बाँकेमा उपलब्ध रहेका तीनवटा दमकलले आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएपछि राति २ बजेतिर बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग समन्वय गरी गुलरिया नगरपालिकाको दमकल ल्याइएकोे एसपी ओलीले जानकारी दिए।

चारवटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको प्रयासले बिहान ५ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए। तत्काल क्षतिको प्रारम्भिक विवरण संकलन गरिए पनि पूर्ण क्षतिको विवरण पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले विद्युत् सर्ट भएरनै आगलागी भएको ठहर गरेको छ।

दमकल समयमा नआउँदा आगलागीबाट धेरै क्षति भएको पीडित व्यापारीले गुनासो गरेका छन्। पीडित व्यवसायी हासिमअलि सिद्धिकीले दमकल समयमा नआउँदा धेरै पसलमा आगो फैलिएको र क्षति धेरै भएको बताए। ‘नेपालगन्ज उपमहानगरपालिकाको दमकल धेरै ढिलो आइपुग्यो, त्यो पनि आधा पानी ल्याएर आयो,’ उनले भने, ‘आगो नियन्त्रणमा विमानस्थलको दमकलले धेरै काम ग¥यो।’ विमानस्थलको दमकल नआएको भए थप क्षति हुने व्यापारीले बताएका छन्।

अर्का व्यवसायी सब्बिर हुसेन सिद्धिकीले दमकललाई बोलाउँदा पनि समयमा नआएको गुनासो गरे। ‘आगो दनदनी बलिरहेको थियो, हातमा बाल्टिन ल्याएर आए पनि आगो निभाउन सक्ने अवस्था थिएन, नगरपालिकाको दमकल बोलाउँदा करिब पौने घण्टा जति ढिलो आयो, तर पानी कम रहेछ,’ उनले भने, ‘राँझाबाट आएको दमकलले आगोलाई नियन्त्रणमा ल्याउने काम ग-यो।’ आफ्नो पसलभित्र रहेको सामान कत्ति पनि नबचेको व्यवसायी सिद्धिकीले सुनाए।

नेपालगन्जको वीपी चोकमा आगलागीबाट भएको क्षति। तस्बिरः अर्जुन ओली/नागरिक
नेपालगन्जको वीपी चोकमा आगलागीबाट भएको क्षति। तस्बिरः अर्जुन ओली/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App