धरान– पहाडी जिल्ला र आसपासबाट धरानमा बिक्री हुने हरियो तरकारी एवं सागसब्जीहरूमा विषादी नभएको पाइएको छ।
धरान उपमहानगरपालिकाको सहयोगमा फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्टले गरेको तरकारीको नमुना परीक्षणबाट यहाँ बिक्री भइरहेको तरकारी विषादीमुक्त भएको पाइएको हो। उपमहानगरको आर्थिक सहयोगमा फोरमले हिउँदमा उत्पादन हुने हरियो तरकारीमा विषादीको मात्राबारे परीक्षण गरेको थियो। फोरमका अध्यक्ष एवं केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूले गएको पुस, माघ, फागुन र चैतमा हरियो सागसब्जीको नमुना संकलन गरिएको थियो। ‘धरानको लागि खुसीको कुरा छ, हामीले गरेको नमुना परीक्षणबाट यहाँ बिक्री भइरहेको सागसब्जी, हरियो तरकारी विषादीमुक्त छ,’ बिहीबार परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै लिम्बूले भने, ‘हामीले गरेको तरकारीको नमुनामा विषादीको मात्रा निल देखियो।’
लिम्बूका अनुसार धरानको तरकारी बजारहरू भानुचोकस्थित सब्जी बजार, पुरानो बजार, अमान बजारको अर्गानिक हटिया, बुढासुब्बा मन्दिर क्षेत्र, देवी गाउँ, वसन्तटारलगायत क्षेत्रको नमुना संकलन गरेर परीक्षण गरिएको थियो। ‘आलु, टमाटर, काक्रा, रायो साग, धनियाँ, बोडी, तोरी सागलगायतको नमुना परीक्षण गरेका थियौं,’ लिम्बूले भने, ‘किसानले पनि सरकारले प्रतिबन्ध नलगाएको नै विषादी हालेका छन्, तर उत्पादन भएको तरकारीमा परीक्षण गर्दा विषादीको मात्र छँदैछैन, त्यसैले तरकारी पखालेर ढुक्कले खाँदा हुन्छ।’
तरकारीको नमुना परीक्षण विश्वकै उत्कृष्ट विषादी परीक्षण गर्ने प्रविधि ग्याँस क्रोमेटोग्राफी मास स्टोक्ट्रोमेटी(जिसिएमएस)बाट गरिएको हो। यो प्रविधि नेपालमा ३ ठाउँमा मात्र छ। त्यसैले यो प्रविधिबाट गरिएको परीक्षणको नतिजामा कुनै शंका नहुने विभाग प्रमुख लिम्बूको भनाइ छ। ‘तरकारीमा जति विषादी प्रयोग भएको छ, त्यो पनि सरकारले प्रतिबन्ध लगाएको विषादी होइन र उत्पादन भएको तरकारीमा त विषादी नै भेटिएन,’उनले भने।
परीक्षणबाट भानुचोकमा नमुना लिइएको आलुमा बिएचसी(विषादी)को केही मात्रा देखिएको छ। यो विषादी सरकारले प्रतिबन्ध लगाएको हो। तर, मानव स्वास्थ्यलाई असर नपर्ने मात्रा देखिएको लिम्बूले बताए। ‘यो विषादी सरकारले सन् २००१ बाट नै प्रतिबन्ध लगाएको हो, तर विषादी एक पटक लगाएपछि जमिनमा २५, ३० वर्षसम्म रहिरहन्छ,’ उनले भने, ‘जति मात्रा देखिएको छ, त्यो तत्कालको होइन, पुरानो नै विषादी देखिएको हो, त्यसैले स्वास्थ्यमा खतरा होइन।’
विषादी परीक्षण गरेको संस्थाले धरानमा आउने तरकारीको स्रोत रहेको धनकुटाको विभिन्न क्षेत्र, विष्णुपादुका, पानबारी, ठिंगाबारी, वसन्तटारलगायत क्षेत्रमा पनि पुगेर अध्ययन गरेको जनाएको छ। धनकुटाका कृषकहरूले कुन–कुन विषादी प्रयोग गर्छन् र विषादी बिक्रेताहरूबाट पनि कुन–कुन विषादी बढी बिक्री हुन्छ भन्ने पनि अध्ययन गरिएको थियो। त्यसक्रममा सागसब्जीमा कीरा नलागोस् भनेर किसानहरूले ३० देखि ३२ प्रकारको विषादीहरू प्रयोग गरिरहेको खुलेको थियो। धनकुटामा ७ वटा र धरानमा २० वटा विषादी पसल रहेको र धरानका १३ वटा मात्र विषादी पसल दर्ता भएको पाइएको लिम्बूले बताए। ‘यस्तो विषादीभन्दा पनि जैविकरुपमा हुने तितेपानीलगायतको विषादी विकल्पमा प्रयोग गर्नु उचित हुन्छ, यसबारेमा जनचेतनाको कार्यक्रम किसानसम्म लैजान आवश्यक छ,’लिम्बूले भने।
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले हिउँदे तरकारीको परीक्षणको रिपोर्टबाट उत्साहित भएको प्रतिक्रिया दिँदै अब बर्खायाममा उत्पादन हुने तरकारीको पनि परीक्षण गर्ने तयारी गरिएको बताइन्। धरान भित्रिने दूधको पनि अवस्थाबारे परीक्षण गर्न सम्झौता भइसकेको उनले खुलाइन्। ‘बेमौसमी खेतीमा बढी विषादी हुन्छ भन्ने थियो तर यो परीक्षणबाट विषादी छैन भन्ने पुष्टि भयो, ज्यादै खुसी र उत्साहित छौं, हामीले विषादी नभएको तरकारी उपभोग गरिरहेका रहेछौं,’उनले भनिन्, ‘तर बर्खायामको उत्पादनको पनि परीक्षण गर्न बाँकी नै छ, त्यो पनि हामी गर्छाैं। धरान आउने दूध कति शुद्ध छ भनेर परीक्षण गर्ने सम्झौता पनि भइसकेको छ।’ स्वदेशमा उत्पादन हुने तरकारी विषादीरहित हुने प्रमाणित भएकोले उत्पादनमा जोड दिन पनि किसानहरूलाई आग्रह गरिन्।
प्रकाशित: २४ श्रावण २०७६ ०७:५० शुक्रबार