८ वैशाख २०८१ शनिबार
राजनीति

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

अर्घाखाँची– राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

‘संविधान संशोधन गर्न नसके जनमत संग्रह गर्नुपर्छ,’ उनले भने,  ‘जनमत संग्रहको म्यान्डेटलाई सबैले स्कीकार्नु पर्छ।’  उनले धर्मनिरपेक्षताको आडमा योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै राप्रपा नेपालले त्यस्ता कामको सधै विरोध गर्ने बताए। उनले सबै धर्मको बीचमा समनता, स्वतन्त्रता कायम राख्दै हिन्दू राष्ट्र घोषणाको पक्षमा आफ्नो पार्टी निरन्तर लड्ने बताए। हिन्दू राज्यको बलमा नेपाललाई  विकास र समृद्धितर्फ लैजान सकिने उनले बताए। थापाले बहुसंख्यक नागरिक हिन्दू राज्यको पक्षमा हुँदा हुँदै पनि धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनु विडम्वनाको विषय बनेको बताए।  
उनले संविधान संशोधनमार्फत  मधेसी मोर्चाका जायज मागलाई छिटो भन्दा छिटो पूरा गर्नुपर्ने बताए। उनले राष्ट्रिय हितलाई असर नपार्ने गरी संविधान संशोधन गर्न सकिने  बताए।  उनले भने, ‘मधेसी मोर्चाका  केही जायज मागहरु छन्, ती मागहरुका विषयमा संविधान संशोधन गरी टुङ्गो लगाउन सकिन्छ।’

उनले अंगिकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई राष्ट्रको उच्च तहमा पु¥याइनुपर्छ भन्ने माग कुनै पनि हालतमा संबोधन हुन नसक्ने बताए। उनले संविधान कार्यान्वयन गर्न ०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरिनु पर्ने बताए।  स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन निर्धारित मितिमा नभए देशमा संवैधानिक रिक्तता हुने बताए।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा तिव्वतका नेताहरुलाई भेटेको विषयमा आफूले कुनै टिकाटिप्पणी नगर्ने बताए। ‘शेरबहादुर जिको विषयमा बिरोधाभाषपूर्ण अभिव्यक्ति आएका छन्,’ उनले भने, ‘त्यसैले मैले त्यत्ति टिका टिप्पणी गर्न आवश्यक ठानेको छैन।’ उनले नेपाल असंग्लन, पञ्चशिल शिल सिद्धान्त र संयुक्त राष्ट्र संघको वडापत्रमा हस्ताक्षर गरेको राष्ट्र भएकाले कसैसँग भेट्दा वा बोल्दा परराष्ट्र नीतिमा  निकै सचेत हुनु पर्ने बताए। उनले कुटनीतिक मर्यादालाई ख्याल गरेर मात्र भेटघाट तथा बार्ता गर्नुपर्ने बताए ।

उनले १२ बँुदे समझदारी भएदेखि नेपालमा बाह्य हस्तक्षेप बढेको बताए । उनले नेपालमा सत्तामा जानको लागि र गइसकेपछि टिक्नका लागि वाह्य शक्तिसँग आत्मसमर्पण गर्ने परिपाटीको विकास हुँदा स्वाधीनता कमजोर बन्दै गएको बताए । उनले लोकमानसिंह कार्कीलाई हटाउनका लागि परेको महाअभियोग प्रस्तावका विषयमा राप्रपा नेपालले अध्ययन गरेर निर्णयमा पुग्ने बताए । उनले औचित्य पुष्टि भएको खण्डमा महाअभियोगको पक्षमा उभिने  तथा नभए पछि हट्ने संकेत गरे । राप्रपा नेपालले बोकेका बिचार मुलुकको विकल्पको रुपमा खडा भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अर्घाखाँचीले आयोजना गरेको हिन्दुत्व जागरण सभालाई  सम्बोधन गर्न उनी जिल्ला आएका थिए ।  सभामा उनले करिव डेढ घण्टा लामो भाषण गरेका थिए ।  सभामा बोल्दै अध्यक्ष थापाले मुलुकमा बहुदलीय व्यवस्था आएपछि सत्तामा जाने र गिराउने खेलका कारण राष्ट्रले विकासको गति लिन नसकेको बताए। उनले आफू समेत सहभागी केपि शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र र जनताको हितमा काम गर्दा गर्दै  सत्ता ढालेर अर्को सरकार बनाउनु बेठिक भएको बताए। उनले ओली नेतृत्वको सरकारले मंसिरमा  स्थानीय निकायको निर्वाचनको मिति  तोकेर  संविधान कार्यान्वयनमा लागेको भएपनि  अहिलेको सरकारले चुनावलाई बेवास्ता गरेर संविधान कार्यान्वयनलाई अल्मलाइरहेको बताए ।   

प्रकाशित: २५ कार्तिक २०७३ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App