४ वैशाख २०८१ मंगलबार
समाज

जोखिमपूर्ण वीरेन्द्रनगरकाे ‘हटलाइन सडक’

हटलाइन सडकअन्तर्गत जिल्ला प्रहरी कार्यालयनजिकै भत्किएको नाला र हिलाम्मे सडक। तस्बिरः नागरिक

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको गणेशचोकदेखि विमानस्थलसम्मको तीन किलोमिटर सडक निर्माणको काम अहिलेसम्म अन्तिम चरणमा पुगिसक्नुपर्ने थियो। भदौ मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने सडकको अहिलेसम्म ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

समयमै सडक निर्माण नहुँदा ‘हटलाइन सडक’मा यात्रा जोखिमपूर्ण छ। जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा हिलोले यात्रा गर्न समस्या हुन्छ। सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा नाली भत्किएका छन्।

भदौ समान्तभित्र निर्माण सम्पन्न गर्ने गरेर आशिष÷श्याम एण्ड शंकर जेभी कन्स्ट्रक्सनले २०७५ असोज १ गते सात करोड ४३ लाख १२ हजार ६ सय ३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ‘सम्झौताअनुसार अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने हो,’ संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका सव–इन्जिनियर चन्द्र खड्काले भने, ‘अहिलेसम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।’

ग्राभेल र नाला बनाउने काममा ढिलाइ भए पनि कालोपत्रे गर्ने काम भने रफ्तारमा हुने उनले बताए। ‘निर्माण अवधिको काम थप ६ महिना थप्ने प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘ग्राभेल, नाला निर्माणलगायतको काममा ढिलो भए पनि कालोपत्रे गर्ने काम समयमै सम्पन्न हुन्छ।’

वीरेन्द्रनगरको गणेशचोकदेखि विमानस्थलसम्मको २.९ किलोमिटर सडकलाई ‘हटलाइन सडक’का रूपमा विस्तार गर्न लागिएको हो। कालिञ्चोकदेखि गणेशचोक पूर्वतर्फको पुलसम्म ३५ मिटर सडकको क्षेत्रफल छ। त्यसमा १० मिटर कालोपत्रे गरेर बाँकी ठाउँलाई फुटपाथ बनाउने गरी डिजाइन गरिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए।

उनले समयमै काम सम्पन्न नहँुदा सडक हिलाम्मे भएको बताए। ‘दुवैतर्फ नाला बनाउँदा सडक हिलाम्मे भएको छ, यसले यात्रुहरूलाई सास्ती भइराखेको छ,’ उनले भने, ‘निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो यसको समाधान गर्न निर्देशन दिएका छौं।’

आशिष जेभी÷श्याम एण्ड शंकर जेभीका निर्देशक खगेन्द्रविक्रम राणाले सडकको केही भागमा पानी जमेका कारण काम हुन नसकेको बताए। ‘हामीले नियमित कामहरु गरिरहेका छौं, वर्खाले केही ठाउँमा काम गर्न समस्या भएको छ,’ उनले भने, ‘प्रदेश राजधानीको हटलाइन सडकलाई जतिसक्यो चाँडो सम्पन्न गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ।’

प्रकाशित: २४ श्रावण २०७६ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App