coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘शिवपुरीलाई ‘साइलेन्ट’ पार्क बनाऔं’

काठमाडौं - वन तथा वातावरण मन्त्रालय र स्थानीय सरकारले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जभित्र सफारी र केबलकार सञ्चालन गर्ने तयारीप्रति वन तथा वातावरण क्षेत्रका विज्ञले घोर–आपत्ति जनाएका छन्।  जल, जंगल र जडीबुटीको हिसाबले सर्वोत्कृष्ट मानिएको क्षेत्रमा सवारी गुडाउने, होटल रेस्टुराँ खोल्ने र केबलकार सञ्चालन गर्ने जस्ता ठूला पूर्वाधार निर्माणको कामले वातावरणीय विनाश निम्त्याउने विज्ञहरूको ठहर छ।  उपत्यकानजिकै एक सय ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको संवेदनशील पर्यावरणीय ठाउँ शिलाधार क्षेत्रलाई ‘साइलेन्ट’ पार्कको रूपमा विकास गर्नपर्नुे विज्ञहरूको सुझाव छ।

बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै वातावरणविद् तथा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार २०२१ सालभन्दाअघि पनि उपत्यकामा पानीको अभाव भएपछि शिवपुरीमा वृक्षरोपण गर्दै जाँदा बिस्तारै पानीको स्रोत र हरियाली बढेको थियो।  त्यति बेला उपत्यकामा जनसंख्या कम भए पनि शिवपुरी क्षेत्रमा रुख कटान बढी हुन्थ्यो।  इन्द्रचोक र असन क्षेत्रमा यहींबाट दाउरा र घाँस ल्याउने गरिन्थ्यो।  व्यापारी र स्थानीयले लापरबाही गरेपछि त्यसलाई रोक्दै वन तथा वातावरण मन्त्रालयले ६ सयभन्दा बढी रुख रोपेको थियो।

आफैंले रोपेको रुख काट्दै केबलकार सञ्चालका पक्षमा लागेर सरकारले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्न खोज्दै छ।

‘शिवपुरी डाँडो नाङ्गै भएको भन्दै ३० वर्षअघि सरकारले उल्लेख्य संख्यामा रुख रोपेको थियो,’ श्रेष्ठले विगत सुनाए, ‘अहिले फेरि आफैंले रोपेको रुख काट्दै केबलकार सञ्चालका पक्षमा लागेर सरकारले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्न खोज्दै छ। ’ शिवपुरी जलाधार क्षेत्र पानी, पक्षी र पुतलीका लागि उपयुक्त ठाउँ हो।  यदि यस क्षेत्रमा होहल्ला, सफारी खुला र केबलकार सञ्चालन गर्दा जंगली पक्षी, जीव पनि लोप हुने खतरा बढ्छ।  जीव र चराचुरुङ्गीको अस्तित्व जोगाउनका लागि भए पनि शिवपुरीलाई चलाउन नहुने विज्ञहरूको निष्कर्ष छ।

लेखक तथा पत्रकार भैरव रिसालले प्रकृतिलाई भत्काएर आफूखुसी गरियो भने त्यसले प्राणी जगतमा अर्को विनाश ल्याउन सक्ने बताए।  उनले यसबारे सबै एक भएर सरकारलाई खबरदारी गर्नुपर्नेमा जोड दिए।  ‘यो क्षेत्र उपत्यकाको पानीको मुख्य ट्यांकी हो, यसलाई उधिनियो र खनजोत गर्नतिर लागियो भने पानीको बहाव घट्न र अन्य जीव बिस्तारै अन्यन्त्रै सर्न सक्छन्,’ उनले भने।  उनले शिवपुरीमा सफारी र केबलकारजस्ता विषयलाई उठाएर वातावरणमाथि खेलाँची गर्न नहुने बताए।  ‘शिवपुरी क्षेत्र शान्त छ, यसलाई शान्त नै राख्नुपर्छ, यहाँ पुगेर होहल्ला तथा सिटी फुक्नसमेत दिनुहुँदैन, यसो गर्दा जीव र पक्षी भाग्न सक्छन्,’ रिसालले सुनाए।

शिवपुरी क्षेत्र संरक्षण समूह अभियन्ता कमलजंग कुवँरले राज्यले पर्यावरणलाई तहसनहस पार्ने गरी नीति–नियम बनाउन नहुने बताए।  उनले सरकारको कदमकै कारण शिवपुरीमा केबलकार र सफारी खुला गर्ने तयारी भएको जानकारी दिए।  ‘हामीले व्यवसाय नै गर्ने हो भने पनि अरू धेरै क्षेत्रहरू छन्, यसलाई नै मास्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘यदि सरकारले यसलाई रोकेन भने हामी सहन्नौं। ’ उनले शिवपुरी निकुञ्जभित्र सफारी चलाउने सरकारको तयारीले त्यहाँको जैविक पर्यावरण तहसनहस हुने बताए।  ‘वन तथा वातावरण मन्त्रालयले पुरानै बाटो प्रयोग गरेर सफारी प्रवेश गर्नेगरी अघि सारेको नियमावली निकुञ्जको अस्तित्व भत्काउने किसिमको छ,’ कुवँरले भने, ‘पहाडी हरियाली क्षेत्रको रसिलोपना र संवेदनशीलता नबुझी हचुवामा यस्ता नियम लागू गर्दा त्यसले प्रकृतिमा विनाश ल्याउँछ नै। ’

काठमाडौंदेखि उत्तरी भागमा रहेको यो क्षेत्र उपत्यकाको सबैभन्दा ठूलो भाग मानिन्छ।  अध्ययनअनुसार अन्य डाँडाबाट भन्दा शिवपुरीबाट उपत्यकाभित्र पानी धेरै आउँछ।  पूर्र्वमा मणिचुड डाँडादेखि पश्चिम नुवाकोटको ककनी र नार्गाजुन वनसम्म फैलिएको शिवपुरी–नार्गाजुन क्षेत्र पर्यावरणीय हिसाबमा पनि स्वच्छ छ।  शिवपुरी क्षेत्र काठमाडौं उपत्यकाबाट बग्ने मनहरा, वाग्मती, विष्णुमती, रुद्रमतीजस्ता नदीहरूको मुख्य मुहान हो।  शिवपुरीमा पानीको बहाव घट्यो भने त्यसपछि यी नदीहरू पनि संकटमा पर्न सक्छन्।

जलाधारविज्ञ मधुकर उपाध्यायले वन क्षेत्रमा सफारी चलाउँदा अन्य विकृति बढ्दै जाने बताए।  ‘सीमित मानिस सही तरीकाले यात्रा र टे«किङ गर्दा केही फरक पर्दैन तर त्यहाँ नयाँ बाटो र संरचना बनाउँदा मानिसको चाप बढ्ने, खाली जग्गा भरिँदै जाने, होहल्ला भई वातावरण बिग्रिने हुन्छ।  त्यसकारण शिवपुरी क्षेत्रलाई नछोएकै जाती बरु अहिलेकै अवस्थामा राखिराखौं,’ उनले भने, ‘जमिन उधिन्न र जंगल फँडानी गर्नतिर लागे शिवपुरीको अस्तित्व चाँडै समाप्त हुनेछ।  काठमाडौंमा पानी रसाउने मुख्य मुहान नै शिवपुरी भएकोले यो क्षेत्रलाई चलाउन हुँदैन। ’

शिवपुरीलाई उपत्यकाभित्र भएका राजकुलाको शीर मानिन्थ्यो।  अहिले भने शिवपुरी खोलामा जोडिएका राजकुलोहरूको नामोनिसान छैन।  विज्ञहरूका अनुसार नागार्जुन, गोदावरी, चन्द्र्रागिरी क्षेत्रबाट उपत्यकाभित्र चिस्यान आउँथ्यो।  किसानले यिनै क्षेत्रका नदीबाट पानी ल्याएर खेतीपाती गर्थे।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत दीलबहादुर पुर्जा पुनले पर्यावरणमा असर नपर्ने गरी शिवपुरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी भइरहेको बताए।  उनले सफारी खुला गर्दैमा शिवपुरीको जलाधार र शान्तपन ध्वस्त नहुने दाबी गरे।  ‘हामी हचुवामा केही काम गर्दैनौं, यदि सबै पक्षसँग कुरा मिल्यो र वातावरण अनुकूल भयो भने मात्रै काम अघि बढाउन दिन्छौं,’ उनले भने।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल सफारी खुला र केबलकार सञ्चालनका पक्षमा छन्।  उनले पर्यटकीय हिसाबलाई ध्यान दिँदै यसो गर्न लागिएको बताए।  भइरहेको वन क्षेत्रलाई आर्थिक उर्पाजनमा जाड्न सक्नु फाइदाको विषय भएको उनको तर्क छ।  ‘शिवपुरीमा केही सामान्य गतिविधि गर्र्र्दैमा केही बिग्रिन्न, यस्तै अवस्थामा हामीले आर्थिक लाभ लिन सकियो भने राम्रो नै हुन्छ,’ उनले भने, ‘सधैं हावामात्रै खाएर हुन्न। ’

प्रकाशित: २४ श्रावण २०७६ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App