coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक सय ८१ खाद्य वस्तुको नमूना परीक्षण

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा खाद्यवस्तुको नमूना परीक्षण गरिँदै। तस्बिर : नागरिक

रसुवा – खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले ६ महिनामा एक सय ८१ वटा खाद्य वस्तुको नमूना परीक्षण गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा चीनबाट आयात भएका खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थ ७३, फल तथा सागपातजन्य पदार्थ ५९, मसला तथा मसलाजन्य सामग्री १२, कन्फेक्सनरी १०, मासु तथा मासुजन्य पदार्थ आठ, चिया/कफी आठ, नुन पाँच, तेल तथा घ्यूजन्य पदार्थ चार र दूध तथा दुग्धजन्य पदार्थ दुइटाको नमूना परीक्षण गरिएको छ।

यो गत माघ महिनादेखि असार मसान्तसम्मको तथ्यांक हो। नाकामा कारोबार बढेपछि गत माघ १३ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइएको थियो। चीनबाट खाद्य सामग्री आयात बढ्दै जाँदा नमूना परीक्षण हुने क्रम पनि बढ्दै गएको हो।

कार्यालयले परीक्षण गरेका खाद्य वस्तुमध्ये चारवटा फिर्ता पठाइएको छ। खाद्य प्रतिकूल देखिएकाले सिसम तेल, बिस्कुट र एग फुड फिर्ता गरिएको कार्यालय प्रमुख अतिस घिमिरेले बताए।

प्रयोगशालासहित स्थापना भएको कार्यालयमा खाद्य सामग्रीको गुणस्तर परीक्षण हुने क्रम पनि बढेको उनले बताए। तर कार्यालय स्थापना भएको ६ महिना बितिसक्दा पनि चीन निर्यात हुने खाद्य सामग्री परीक्षणका लागि एउटै नमूना आएको छैन। चीनबाट नेपाल भित्रिएका खाद्य सामग्रीको परीक्षणका लागि भन्सार कार्यालयले नमूना पठाउने गरेको छ।

‘आयात भएका सामग्रीको गुणस्तर प्रमाणीकरण गरिरहेका छौं,’ उनले भने, ‘निर्यात हुने सामग्रीका लागि भने गुणस्तर प्रमाणीकरण भएको छैन।’

चाउचाउ, मैदाको पिठो, चिउरालगायत सामग्री जाने गरेको छ। गुणस्तर प्रमाणित नगरी सामग्री आयात तथा निर्यात गर्न मिल्दैन। भन्सार कार्यालयले खाद्य सामग्रीको नमूना गुणस्तर कार्यालयमा पठाउँछ। कार्यालयले आयात तथा निर्यात भएका सामग्रीको गुणस्तर प्रमाणित गरेपछि मात्रै भन्सारले अनुमति दिन्छ।

यो नाका हुँदै नेपाल आउने खाद्य सामग्रीमा चक्लेट, चम्मा पिठो, बिस्कुट, सोया सप, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफीलगायत सामग्री छन्। यी सामग्री नेपालमा रहेका चिनियाँले प्रयोग गर्छन्।

‘नेपालमा काम गर्ने तथा घुम्न आउने चिनियाँले यी सामग्रीको प्रयोग गर्छन्,’ उनले भने, ‘अखाद्य वस्तु आउँदा यो प्रयोग गर्ने सबैलाई असर पुग्छ।’ सामग्री आयात तथा निर्यात बढ्दै जाँदा कार्यालयमा स्रोत साधन तथा जनशक्ति अभाव भएको छ।

कार्यालय स्थापनाले गुणस्तरहीन सामग्री आउने सम्भावना भने घटेको छ। २०७५ कात्तिक १८ गते कार्यालयको स्थापना भएको हो। कात्तिकमा कार्यालय स्थापना भएको भए पनि माघ १३ गतेदेखि कार्यालयबाट सेवा सुरु भएको हो।

कार्यालय स्थापना भएपछि आयात हुने खाद्य पदार्थको गुणस्तर तथा लेबलमा पहिलेको भन्दा क्रमिक रूपमा गुणात्मक सुधार भएको उनले बताए। कार्यालयले परामर्श सेवा प्रदान गरेकाले आयातकर्ता तथा निर्यातकर्ता लाभान्वित भएका छन्।

प्रकाशित: २४ श्रावण २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App