४ वैशाख २०८१ मंगलबार
अर्थ

कोसी करिडोर ५५ प्रतिशत सकियो

कोसी करिडोर सडकअन्तरगत पाँचथरको रानीगाँउ खण्ड। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने द्रुतसडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोरको काम ५५ प्रतिशत पूरा भएको आयोजना कार्यालय फिदिमले जानकारी दिएको छ। १० मिटर चौडाइ भएको सडकको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।

पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म तमोर र कोसी नदीको तिरैतिर एक सय ४८ किलोमिटर सडकको काम आधाभन्दा धेरै समपन्न भएको आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए। ‘ग्राबेल स्तरको काम सम्पन्न गर्ने गरी सात प्याकेजमा ठेक्का लागेको छ। हालसम्म ५५ प्रतिशत काम पूरा भयो। पहिलो खण्डमा ग्राबेल गर्ने कामसमेत सुरु भएको छ,’ आयोजना प्रमुख मुल्मीले भने, ‘कामको गतिलाई हेर्ने हो भने निर्धारित समयमा काम सकिने छ। सबै प्याकेजको कामले गति लिएको छ।’

पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्थुम र धनकुटाका बासिन्दालाई अस्पताललगायत सुविधा भएको तराई, प्रदेश राजधानी र संघको राजधानी जोड्ने छोटो सडकका रुपमा यसलाई लिइएको छ। पाँचथरको पञ्चमीदेखि नेपाल–चीन सिमानासम्मको उत्तर–दक्षिण लोकमार्गको सडक बन्ने क्रममै छ।

सबै प्याकेजको काम तीव्रताका साथ अघि बढेको आयोजना प्रमुख मुल्मीले जानकारी दिए। सबै खण्डमा काम भइरहेको उनले बताए। हालसम्म एक सय ३५ किलोमीटर सडकको ट्र्याक खुलेको उनले जानकारी दिए। तीन किलोमिटर खण्डमा वनले बाटो खन्न रोकेको छ भने बाँकी खण्डमा चाँडै ट्र्याक खुलिसक्ने बताइएको छ। चालु आवमा सबैतिर ग्राबेलको काम अन्तिम चरणमा पुग्ने अपेक्षा रहेको मुल्मीले बताए।

‘कामको गतिलाई हेर्ने हो भने निर्धारित समयमा काम सकिने छ। सबै प्याकेजको कामले गति लिएको छ।’

६ अर्ब १५ करोड १४ लाख रुपैयाँमा सात प्योकजमा ठेक्का लागेको सडकको ट्र्याक निर्माणदेखि ग्राबेल स्तरसम्मको स्तरोन्नतिका लागि ठेक्का लागेको थियो। यो मध्ये आव ०७५/७६ मा तीन अर्ब ६४ करोड ११ लाख ८६ हजार बराबरको वित्तीय प्रगति भएको छ। पूर्वी पहाडमा प्राथमिकताको सडकको रुपमा यसलाई लिइन्छ। ‘कोसी करिडोर सडक विस्तार योजना–२’ अन्तर्गत मध्यपहाडी लोकमार्ग आयोजनामार्फत यो सडकको काम अघि बढेको हो।

‘पूर्वी पहाडबाट तराई र काठमाडौं जोड्ने छोटो बाटोको रुपमा लिइएको छ। सबैतिरबाट काम सन्तोषजनक रहेको छ। आशा गरौं चाँडै प्रगति हुने छ,’ मुल्मीले भने, ‘अहिलेसम्म ठेकेदारले राम्रै काम गरेका छन्। स्थानीय स्तरमा पनि उत्साह देखिन्छ।’

प्रदेशको अस्थायी राजधानी विराटनगरलगायत सहर पुग्न, ठूला अस्पताल तथा अन्य व्यापारिक केन्द्रसँग जोड्न यो सडकले महत्व राख्ने बताइन्छ। तीनवटा ठेक्का २०७४ फागुनमा र दुईवटा २०७५ वैशाखमा ठेक्का लागेको थियो। ३० महिनामा काम सक्ने गरी ठेक्का लागेको हो। पहिलो रसुवा/टुडी जेबी, दोस्रो श्रेष्ठ/एफएक्स/थेगिम, तेस्रो लामा/पिएस/बिरुवा, चौथो रौताहा/सन्तोषी जेबीले ठेक्का पारी काम गरिरहेका छन्। पाचौं शर्मा एन्ड कम्पनी, छैटौं कालिका/थोदुङ/महालक्ष्मी जेभी र सतौं रौताहा/सन्तोषी जेभीको ठेक्का रहेको छ। पूर्वी पहाडलाई छोटो बाटोबाट तराईलगायत जिल्ला जोड्ने गरी कोसी करिडोरको परिकल्पना भएको थियो।

चीनसँगको सिमाना ताप्लेजुङको ओलाङ्चुङगोलाको तिप्तलादेखि मूलघाटसम्म जोड्ने उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको सडकलाई सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्मा मध्यपहाडी लोकमार्गसँग जोड्ने गरी कोसी करिडोरको काम अघि बढाइएको हो। गणेशचोकमा मध्यपहाडी लोकमार्ग जोडिन्छ।

कोसी करिडोर राष्ट्रिय प्राथमिकताको भएकाले धेरैले चासोका साथ हेरेका छन्। गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ। धनकुटाको चौबीसे, साधुरे, मूलघाट, त्रिवेणी हुँदै चतरा पुग्छ। गडतिर आसपासका स्थानीयले बढी राहत पाउने बताइन्छ। यो सडकलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा यसलाई विकास गर्न खोजिएको छ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App