coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले राष्ट्रिय अडान लिन सकेन: अाचार्य

काठमाडौं–नेकपा एमालेका सचिव भीम आचार्यले अहिले बाहिर चर्चा भएजस्तोगरि नागरिकता, भाषा, सिमांकन र राष्ट्रिय सभाको प्रतिनिधित्वबारेको समस्याको हल गर्ने कुरामा आफ्नो पार्टीको कुनै सहमति नरहने बताएका छन। उनले बाहिर चर्चा भएजस्तो विवादित विषयमा एमाले सहमत नभएको बताए। ‘अहिलेको संविधान अनुसार सिमांकन परिवर्तन हुनै सक्दैन, यहाँ मान्छेहरुले कुनै नबुझी हचुवाको भरमा बोलिरहेका छन्,’ उनले भने।

बिहीबार राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा उनले नागरिकताको सवालमा पनि एमालेले अहिले चर्चा भएको कुरामा सहमत नभएको टिप्पणी गरे। उनले भने, ‘संविधानमा जे छ, त्यही हुन्छ, अरु कुरा सम्भव छैन्।’ उनले यो विषय मधेसी जनताको चासोको विषय नभएको समेत जिकिर गरे। उनले राष्ट्रिय सभाको प्रतिनिधित्वको कुरामा पनि अहिले लहडमा बहस चलेको भन्दै एमाले हल्लाको पछि नलाग्ने बताए । उनले नेकपा एमाले संविधान संशोधन गर्ने हुँदैन भन्ने पक्षमा चाहीँ नरहेको दाबी गर्दै भने, ‘संविधानका प्रावधानले यदि नेपालको शान्ति, समृद्धि र विकासमा अनि जनताका अधिकारमा बञ्चित गर्छ, भने ती प्रावधानहरु संशोधन हुन्छ ।’

चार्यले अहिले सत्तारुढ दल र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति अनुसार नै संविधान संशोधनको चर्चा चलेकोप्रति टिप्पणी गर्दै भने,‘अहिलेसम्म औपचारिक रुपमा यसबारेमा एमालेलाई कसैले सोधेको पनि छैन, संशोधनको औचित्य पनि आउनुपर्यो नि ?’

उनले संविधान संशोधनको हल्ला चलाएका सत्तारुढ दलले नै अहिले चर्चा भएका विषयमा पार्टीमा सहमति गरेर ल्याउन चुनौती समेत दिए । उनले भने, ‘पहिला तपाइहरुले पार्टीभित्र सहमति गरेर ल्याउनुहोस्, अनि हामी छलफल गर्छौं ।’ आचार्यले मधेस र पहाडलाई पूर्ण रुपमा अलग बनाउने कुरा आफूहरुलाई कुनै हालतमा मान्य नहुने समेत जिकिर गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको तीन महिने कार्यकाल पूर्ण रुपमा असफल भएको समेत उनले दाबी गरे । आचार्यले थपे, ‘यो त कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै हो ।’ उनले आफ्नो दलले यो सरकार पूर्ण रुपमा सफल होस भनेरै कामना गरेको पनि स्पष्ट पारे । उनले भने,‘सरकार सफल होस्, समयमै निर्वाचन गरोस भन्ने हाम्रो चाहना थियो, तर केही गर्न सकेन।’

उनले वर्तमान सरकारमा राष्ट्रिय अडान नभएको समेत आरोप लगाए । आचार्यले थपे,‘खोई सरकारको राष्ट्रिय अडान, यसले कुटनीतिक सन्तुलन समेत गुमाएको छ ।’ त्यस्तै प्रधानमन्त्री दाहालले सरकार परिवर्तनको औचित्य अहिलेसम्म पुष्टि गर्न नसकेको आरोप समेत लगाए । उनले ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यात्मक व्यवस्था भएकोले त्यसको लागि आफ्नो पार्टी खरो उत्रने समेत जनाए ।

त्यस्तै उनले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अहिले प्रक्रियामा रहेकाले यो प्रस्ताव विधि र प्रक्रिया अनुसार छिट्टै टुँगिने समेत बताए । यो प्रस्ताव काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुवी छलफल भएर नै आएको भन्दै यसलाई सहमतिमै सबैले मिलेर पास गर्नुपर्ने उनको भनाई थियो ।

 

प्रकाशित: २५ कार्तिक २०७३ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App