७ वैशाख २०८१ शुक्रबार
कला

क्यानभासमा महिला स्वतन्त्रताको कथा

काठमाडौं - सहरीकरणका कारण ग्रामीण क्षेत्रको मौलिक कला, संस्कृति र रहनसहरमा प्रभाव पर्दै गएको छ। यस विषयमा केन्द्रित भएर चित्रकार स्वर्गीय अर्जुन खालिङ र स्वर्गीय शान्तबहादुर राईले नेपालको पूर्व भूभागमा रहेका किरातीहरूको जीवनशैली झल्काउने चित्रकला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना गरिएको छ।

नेपाली कला र संस्कृतिको संरक्षण र विकासमा योगदान पु¥याएका चित्रकारहरू स्व. खालिङ र राईले किरातीहरूको विवाहदेखि मृत्युसम्मका संस्कार र रहनसहन झल्काउने चित्रहरू क्यानभासमा उतारेका छन्। किराती संस्कृति र महिला स्वतन्त्रतामाथि व्यंग्य गरिएका चित्रहरू मार्मिक देखिन्छ।

आकाशमा उड्ने चरासँग महिला स्वतन्त्रताको तुलना गरिएका चित्रकला मार्मिक छन्। दिनभर घरायसी काममा व्यस्त रहने महिलाको स्वतन्त्रता र पीडा झल्काउने चित्रकला प्रदर्शनीमा राखिएका छन्।

किरात ललितकला समाजले आयोजना गरेको चित्रकला प्रदर्शनी गत साउन १८ देखि सुरु भएको थियो। प्रदर्शनीमा ३८ वटा चित्रकलाहरू राखिएका छन्।

किरात ललितकला समाजका उपाध्याक्ष नवेन्द्र लिम्बुका अनुसार किराती संस्कृतिको जगेर्नामा दुवै चित्रकारहरूले योगदान दिएका छन्। प्रदर्शनीमा भित्तामा झुन्डाइएको फूलको उदाहरण दिँदै उनले भने,‘ सुकेको फूलको रङ नहराएझैँ दुवै चित्रकारहरू यो संसारमा नभएपनि उनीहरूले पु¥याएको योगदान अविस्मरणीय छ।’

किराती समुदायको पहिचानसहितको जीवनशैली, संस्कार र भेषभुषालाई प्राथमिकतामा राख्ने चित्रकार खालिङको कलामा खालिङ समुदायको घर, चिन्डो (किरात समुदायमा जाँडरक्सी राख्ने भाँडा), किराती गहनामा सजिएका महिला र रहनसहन हेर्न सकिन्छ। खालिङको घरहरुमा सुँगुर पालिएका छन्। मकैको ठाकुरा, इस्कुसको झ्याङ र काममा व्यस्त महिलाको जीवनशैली क्यानभासमा कलात्मक शैलीले प्रस्तुत गरिएको छ। पूर्वी नेपालको ग्रामीण क्षेत्रको बयान गर्ने चित्रकलामा जमिनको अभावमाथि व्यंग्य गर्दै गमलामा मकै रोपिएको छ।

चित्रकार स्वर्गीय राईले महिला स्वतन्त्रता र पीडाको विषयमा केन्द्रित भएर चित्रकला तयार गरेका छन्। महिलाको व्यस्त जीवनशैलीलाई ‘ह्युमन वीथ बर्ड’ नामक चित्रकलाले व्यंग्य गरेको छ। स्वतन्त्र भएर उड्ने चरासँग महिलाको स्वतन्त्रतालाई तुलना गरिएको चित्रकला मार्मिक छ। किराती समुदायका महिलाहरू घरायसी काममा बिहानदेखि बेलुकासम्म व्यस्त हुँदा आफ्नो स्वतन्त्रताबारे सोच्न समेत फुर्सद नभएको अवस्थाको बयान चित्रले गरेको छ। सन् २००७ देखि २०१७ सम्म चित्रकार स्व. राईले तयार गरेको चित्रहरू प्रदर्शनीमा समेटिएका छन्।

अर्का चित्रकार हिम्मतबहादुर नेम्बाङले किराती समुदायको प्रतिनिधित्व गरेकी महिला गलैंचा बुन्न तत्पर रहेको चित्र प्रदर्शनीमा राखिएको छ। चित्रकार मेख लिम्बुले किराती समुदायको जीवनशैली, रहनसहन र डान्सलगायतलाई मल्टिमिडिया इलुस्ट्रेसनमार्फत प्रस्तुत गरेका छन्। यस इलुस्ट्रेसनमा पानी, जमिन र जंगलको विषयलाई समेटेको उनी बताउँछन्।

चित्रकार विवेक मुकारुङले किराती गाउँ क्यानभासमा उतारेका छन् भने सन्तोष राईले किराती मूर्तिलाई समेटेका छन्। किराती भेषभुषामा खालिङ सजिएको र जीवनशैलीलाई राजकुमार राईले चित्रकलामार्फत प्रस्तुत गरेका छन्। दुर्गा सुनुवारले किराती समुदायको लोक बाजालाई आफ्नो कलामा समेटेका छन्। त्यस्तै चित्रकार सोनी राईले हराउँदै गएको नेपालको संस्कृतिलाई कलामार्फत प्रस्तुत गरेकी छन्। ‘हाम्रो संस्कृति अहिले फेसनजस्तो भएको छ। बत्तीभित्रको अध्याँरोजस्तो देखिने संस्कृतिलाई क्यानभासमा उतारेको छु,’ उनले भनिन्।

चित्रकार किरनकुमार सिंहले किराती संस्कृतिका गरगहनामा सजिएका महिलाको चित्रकला तयार गरेका छन्। टिकामाया राईले ‘किरात लेडी’ नामक चित्रकलामा किराती समुदायको भेषभुषामा सजिएकी महिलाको रहनसहन प्रस्तुत गरेकी छिन्। त्यस्तै नीरबहादुर याख्खाले ‘खातबारी’ नामक चित्रकलामा खातबारीको सुन्दर दृश्य कलात्मक शैलीमा उतारेको छन्।

चित्रकार सञ्जय वान्तवाले किरात समुदायमा जन्मदेखि मृत्युसम्मको आवश्यक पर्ने मुन्धुमलाई विषयवस्तु बनाएका छन्। किराती समुदायको उभौली उधौलीमा आवश्यक पर्ने चिण्डोलाई समेत क्यानभासमा समेटिएको छ। किराती समुदायले धार्मिक मान्यताका आधारमा पुजाआजा गर्दै आएको सर्पको चित्र मण्डला शैलीमा प्रस्तुत गरिएको छ। दीपेन्द्र राईले किराती चुलो, चिण्डो र डोकोको ‘इस्टेटमेन्ट’ नामक चित्रकलामा नौलो प्रयोग गरेका छन्। प्रदर्शनी आगामी साउन २४ सम्म चल्नेछ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App