८ वैशाख २०८१ शनिबार
अर्थ

३५ प्रतिशत काम सम्पन्न

काठमाडौं – ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजना निर्माणको काम ३५ प्रतिशत सकिएको छ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन आयोजनाको हालसम्मको प्रगति ३५ प्रतिशत भएको आयोजनाले जनाएको छ। तीन वर्ष निर्माणअवधि रहेको आयोजनाको २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको हो।

निर्माण पूर्वका सबै तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ। आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये सात सय २४ मिटर खनिएको छ। मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्री बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनु पर्ने छैन। थ्री ‘ए’को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजना निर्माण कार्यक्रममा चासो दिँदै नियमित रुपमा प्रगतिको जानकारी लिने गरेका छन्।

निर्माण पूर्वका सबै तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ। आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये सात सय २४ मिटर खनिएको छ। मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले केही दिनअघि निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन्। घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग आयोजनास्थलमै छलफल गरी गुणस्तर र सुरक्षामा विशेष ध्यान दिँदै निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन्।

‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको यस आयोजनामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायत सबैको निर्माण कहिले सकिन्छ भन्नेमा चासो छ, त्यसैले सबै पक्ष निर्माणमा गम्भीर भएर लाग्नु पर्छ,’उनले भने।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतको आयोजनामा २०/२० कित्ता सेयर छ। कम्पनीले सर्वसाधारणका ३७ लाख पाँच हजार कित्ता सेयर निश्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतले पनि खरिद गरेका थिए। सेयर बाँडफाँड गर्दा प्रधानमन्त्री, ऊर्जामन्त्रीलगायत आवेदन दिएकाले न्यूनतम २० र अधिकतम ३० कित्ता सेयर पाएका थिए।

वर्षायाम सकिएपछि विद्युत् गृह, सर्ज ट्याङ, पेनस्टकलगायत संरचनाको निर्माण सुरु हुने त्रिशूली जलविद्युत् कम्पनीका प्रवन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए। ‘पेन स्टक पाइप, गेटलगायत हाइड्रोमेकानिकल र टर्बाइन, रनर, जेनरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन सुरु भइसकेको छ,’गौतमले भने। इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ २०७४मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सबै संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने छ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ।

अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ। आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ। आयोजनाबाट सुक्खायाममा (मंसिर १६ देखि जेठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेठ १६ देखि मंसिर १५ सम्म)े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ।

आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ। विद्युत् बिक्रीबाट वार्षिक करिब एक अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने गौतमले बताए। आयोजनाको विद्युत् गृहबाट करिबतीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा विद्युत् जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने छ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App