६ वैशाख २०८१ बिहीबार
समाज

लौठसल्ला जोगाउन स्थानीय सक्रिय

बेथानचोक–४, चलाल गणेशस्थानमा रहेको माइरेई प्रजातिको लौठसल्लाको रुख। यो रुख करिब ३ सय वर्ष पुरानो भएको अनुमान छ। तस्बिर ः नागरिक

बनेपा - प्राकृतिक बासस्थानबाटै लोप हुन लागेको ‘माइरेई’ प्रजातिको लौठसल्लाको करिब तीन सय वर्ष पुरानो रुख जोगाउन बेथानचोक–४, चलाल गणेशस्थानका बासिन्दाले सक्रियता देखाएका छन्।

‘सानोमा घट्ट आउँदा धेरै पटक यो रुखमा चढें।  रुखमा सर्प बस्छ भनेर बूढापाकाले तर्साउँथे, हामी ओर्लेर भाग्थ्यौं।  तर, यो सल्लो बहुमूल्य होला भन्ने हामीले सोचेकै थिएनौं’, ९५ वर्षीय बलबहादुर श्रेष्ठले भने, ‘एक पटक केही मान्छे आएर पाँच लाख दिएर यो रुख काट्छौं भनेका थिए।  तर छोरा, नाति र गाउँँलेले काट्न दिएनौं। ’

लामो समयसम्म सल्लाको रुख हो भन्ने बुझे पनि कुन प्रजाति र महत्व थाहा नपाएका स्थानीयले पहिलो पटक २०७५ कात्तिकताका गाउँ आएका वन प्राविधिकको मुखबाट यो संकटमा परेको लौठसल्ला भन्ने जानकारी पाएका हुन्।  ‘यो बहुमूल्य वनस्पति रहेछ भन्ने धेरैपछि थाहा पायौं।  त्यसलगत्तै पूजाआजाका लागि थोरथोरै पात टिप्नबाहेक हाँँगाबिँगा काट्नमा बन्देज लगाएका छौं।  अब यसलाई संरक्षण गरेर राख्छौं’, स्थानीय पद्मबहादुर श्रेष्ठले भने।

क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा लिइने माइरेई प्रजातिको लौठसल्लाको पछिल्लो समय खेतीसमेत गर्न थालिएको छ।

गाउँकै प्रख्यात चलाल गणेशस्थान मन्दिर सामुन्ने एउटा ठूलो ढुंगाको कापबाट निस्केको लौठसल्ला अजंगको देखिन्छ।  रुखसँगैको भूभागलाई खानी सञ्चालकले खोतलिसकेका छन्।  ढुंगा खोतल्ने क्रममा रुख लड्ने जोखिम बढेकाले स्थानीयले खानीलाई सो क्षेत्रमा मेसिन लगाउन रोक लगाउँदै आएका छन्।  ‘हालै मात्र डिभिजन वन कार्यालयको आयोजनामा यो लौठसल्लाको महŒवबारेमा जानकारी पायौं।  त्यसपछि यो रुख सयौं वर्ष पुरानो भएकाले संरक्षण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं’, बेथानचोक–४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले भने, ‘घेराबार लगाएर रुखको महत्व चिनाउने सूचना बोर्ड त्यहीं नै र ढुंखर्क जाने सडकमा अर्को होर्डिङ बोर्ड राख्छौं।  यसबाट वनस्पतिमा चासो राख्ने जोसुकैले लौठसल्लाको पुरानो रुखको अवलोकन गर्ने अवसर पाउने छन्। ’

नेपालमा पाइने तीन प्रजातिका लौठसल्ला पश्चिमदेखि पूर्वसम्म छरिएर रहे पनि ‘माइरेई’ प्रजातिको लौठसल्ला काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली जिल्लामा मात्रै भेटिएको तथ्य लौठसल्लाको अनुसन्धानकर्ता कुमार पौडेलले डिभिजन वन कार्यालयमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ।  ‘विश्वमै अतिसंकटापन्न मानिएको माइरेई लौठसल्ला प्रजातिको रूखका लागि काभ्रेपलाञ्चोक महŒवपूर्ण जिल्ला हो।  बेथानचोक–४, चलाल गणेशस्थानमा रहेको ट्याक्सस माइरेई प्रजातिको लौठसल्लाको रूखको प्राकृतिक बासस्थान ढुंगा खानीका कारण मासिने खतरा बढेको छ’, पौडेलको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा पनौती–१२ को कलाँती भूमेडाँडास्थित चुनखानी सामुदायिक वनमा पनि माइरेई प्रजातिको लौठसल्ला पाइने उल्लेख छ।  लौठसल्लाका अन्य प्रजातिभन्दा कम उचाइमा हुने माइरेई महाभारत शृंखलाको ढुंखर्क, भूमेडाँँडा, च्यासिंखर्क, पाट्नेभन्ज्याङ हुँदै टुनिबाससम्म फैलिएको प्रतिवेदनले देखाएको छ।  विश्वमै लोपोन्मुख माइरेई नेपालका तीन जिल्लाबाहेक चीन, भियतनाम, इन्डोनेसिया, म्यानमार र भारतको मेघालयमा पनि भेटिएको छ।  अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले सन् २०१३ मै माइरेईलाई संकटापन्न वनस्पतिको सूची (रेड लिस्ट) मा राखेको पाइन्छ।

नेपालमा प्राकृतिक बासस्थानमा लौठसल्लाको संख्या एकिन नभए पनि माइरेई प्रजातिको रूख करिब ५ सयभन्दा कम रहेको अनुमान छ।  ‘‘करिब ३ सय वर्ष पुरानो ट्याक्सस माइरेई प्रजातिको लौठसल्ला बेथानचोक–४ मा भेटिएकाले यसबारे अध्ययन र अनुसन्धान गर्न इच्छुकका लागि उपयोगी हुने ठानेर सब–डिभिजन खोपासीको सहयोगमा संरक्षणको प्रयास सुरु भएको छ।  यसै क्रममा जनप्रतिनिधि, सामुदायिक वनका अगुवा तथा रुख आसपासका स्थानीयका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छौं’, काभ्रेका डिभिजनल वन अधिकृत बद्रीकुमार कार्कीले भने।

जैविक विविधता कायम राख्न तथा क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा लिइने माइरेई लौठसल्लाको पछिल्लो समय खेतीसमेत हुने गरेको छ।  ‘तर प्राकृतिक बासस्थानमा रहेको लौठसल्ला ट््याक्सस माइरेईलाई जोगाउन जरुरी भइसकेको छ।  काभ्रे जिल्लाभर प्राकृतिक बासस्थानमा रहेका माइरेईको खोजी गर्दै समुदाय र स्थानीय तहको समन्वयमा संरक्षण गर्दै जाने योजनामा छौं’, कार्कीले भने।

प्रकाशित: २४ श्रावण २०७६ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App