८ वैशाख २०८१ शनिबार
फोटो फिचर

उपत्यकालाई चम्काउँदै सुन्दर हिमाल

बिहान सबेरै चियाको चुस्की लिँदै झ्यालबाट मुस्कुराउँदै गरेको हिमालको दृश्य देख्न पाउँदा परमानन्दको महसुस गर्छु। दिनभरिको भागदौड र अस्तव्यस्तताबाट थकित अवस्थाबीच मुस्कुराइरहेको हिमालको रोचक दृश्य देख्दा साँच्चिकै थकानहरु मेटिएको आभाष हुन्छ। त्यो हिमाली दुनियाँलाई एकनाशले हेरिरहँदा सबै कुरा बिर्सेको अनुभूत हुन्छ।

दिनभरि चाँदीझै टल्किएका हिमालहरु बेलुकीपख सूर्यको किरणको स्पर्शले सुनौलो ताज पहिरिएकी अप्सराझैँ देखिन्छ। हिउँद सुरु हुनैलाग्दा उपत्यकाले प्राकृतिक रङ फेर्छ। उपत्यका घेरेर बसेका पहाडहरु हरिया देखिन्छन् र फराकिला क्षितिज निलामै देखिन्छन्। अनि वर्षभरि धुलो र धुवाँबीच हराइरहेका हिमालहरु एकाएक आफ्नो उपस्थिति देखाउँदा सबैको मन लोभ्याउने गर्छ।

यो समय उपत्यकाको विभिन्न स्थानबाट गणेश, मनास्लु, दोर्जेलाक्पा, लाङ्टाङ हिमालहरुको मनोरम दृश्य देख्न सकिन्छ। मानिसहरु लाखौँ पैसा खर्च गरेर विभिन्न देशबाट यही डाँडाकाँडा र हिमाली दुनियाँमा रमाउन आउँछन्। मानिसहरु मृत्युपश्चातको स्वर्गको कल्पना गर्छन्। जिउँदो छँदै स्वर्गीय आनन्दको अनुभव गर्न पाएकोमा म आफैँलाई भाग्यमानी ठान्छु।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App