६ वैशाख २०८१ बिहीबार
समाज

छोरीको विवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग

नेपालगन्ज उपमहानगरपालिका कार्यालयअगाडि गरिएको प्रदर्शन। तस्बिरः नागरिक

नेपालगन्ज– छोरीको विवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग राख्दै नेपालगन्जमा प्रदर्शन गरिएको छ। मधेसी र मुस्लिम समुदायका महिलाले बिहीबार नेपालगन्ज उपमहानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। कानुनतः १६ वर्षको उमेरमा विवाह गर्न पाइँदैन।

मुलुकी अपराध संहिताअनुुसार विवाह गर्न केटा र केटीको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान छ। २० वर्षभन्दा कम उमेरमा विवाह गरे वा गराएको पाइएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। तर, मधेसी र मुस्लिम महिलाले आफूहरूको संस्कृति र परम्पराविपरीत कानुन निर्माण भएको भन्दै उक्त प्रावधान सच्याउनुपर्ने माग गरेका छन्। कानुनमा भएको प्रावधान नसच्याउँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ।

१६ वर्षमै विवाह गर्न पाउनुपर्ने मागबारे आन्दोलनमा सहभागी बिनिता खटिकको छुट्टै तर्क छ। उनी भन्छिन्, ‘हाम्रो पुरानो संस्कृतिअनुसार १६ वर्षमै विवाह गर्न उपयुक्त मानिन्छ, गरिब मान्छेले २० वर्षसम्म छोरीलाई कसरी पाल्न सक्छ र ?’ २० वर्षसम्म छोरीलाई राख्दा भागेर प्रेम विवाह गर्न सक्ने र आफूहरूको संस्कृतिमा मागी विवाहनै उचित रहेकाले १६ वर्षमा गर्न पाउनुपर्ने बिनिता बताउँछिन्।

ठूलो संख्यामा उपस्थित भएका महिलाको प्रदर्शनका कारण उपमहानगरपालिकाको कामकाज प्रभावित हुनुका साथै सुर्खेत रोडको यातायात सेवा प्रभावित भयो। यसअघि पनि सोही माग राखेर उनीहरुले जिल्ला प्रशासन, उपमहानगरपालिका कार्यालय, विभिन्न गाउँपालिका तथा वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।

अधिवक्ता बलबहादुर चन्द १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग कानुनविपरीत रहेको बताउँछन्। ‘गत वर्षको भदौ महिनाबाट लागू भएको मुलुकी अपराध संहिता कानुनले विवाहका लागि केटा र केटीको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेको छ, २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने र गराउनेलाई कानुनी कारबाही हुने स्पष्ट व्यवस्था छ,’ उनले नागरिकन्यूजसँग भने।

प्रकाशित: २३ श्रावण २०७६ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App