७ वैशाख २०८१ शुक्रबार
समाज

छायाँनाथ धामको तीर्थयात्रा शुरु

मुगु– विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ। बिहीबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो।  

हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्यूको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिए संगै छायाँनाथ धाम तीर्थ यात्रा शुरु भएको मानिन्छ।

बिहीबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन्। जनैपूर्णिमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी भिमप्रसाद चौलागाईंले बताए। 

महादेबले शतिदेवीको शवलाई घुमाउदै लैजाने क्रममा छायानाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायानाथमा  पतन भएकाले विश्वका चारवटा धाम मध्य छायानाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दु धर्मालम्वीहरुले साउन शुक्ल पुर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पुरा हुने विश्वासले छायानाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरुको भनाई छ।

छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्ट, माला पवित्र बनाउन जाने गरेका छन्। बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ। 

विहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी पुर्णिमाको पछिल्लो दिनमा फर्किने गर्दछ। यसैबीच, भोलि नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तिर्थालुहरु जाने भएका छन्। त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गरी आउने गर्दछन्।

प्रकाशित: २३ श्रावण २०७६ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App