coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तलब नपाएपछि विद्यालयमा तालाबन्दी

जाजरकोट- यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन्।

तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ। निजी स्रोतबाट राखिएका शिक्षक रवीन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन्। विद्यालयमा आम्दानीका स्रोत नभएपछि तलब उपलब्ध गराउन नसकेको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए।

वडा नं ८ मा परेका सबै योजनाहरुको रकम हल्चौरदेखि राम्रासम्मको घोडेटो बाटोमा बजेट हालेर स्थानीयवासीको श्रमदानसमेतमा निर्माण भएको बाटोको रकमबाट शिक्षकलाई तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिले लिखित सहमति गरेको छ। योजनाको रु छ लाख २० हजार पूरै निकासा भए पनि उपभोक्ता समितिले रु पाँच लाख मात्र उपलब्ध गराएको बताइएको छ।
 
सोही बाटो अहिलेसम्म तीन पटक निर्माण भइसकेको छ। विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकले पढाएर विद्यालय सञ्चालन हुँदै आएको छ। वर्ष दिनसम्म विद्यालयमा पढाए पनि तलब नपाएको भन्दै शिक्षकहरु तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने अडानमा छन्।

विकास निर्माणका लागि आएको रकम विद्यालयमा हालेर काम राम्रो नगरेको आरोपसमेत लागेको छ। विद्यालयको समस्या समाधान गर्न अभिभावक भेला बोलाएको प्रअ सिंहले बताए। यो भन्दा अगाडि वन उपभोक्ता समूहको रकम र अभिभावकले चन्दा उठाएर विद्यालय सञ्चालन गर्दै आएका थिए। रासस

प्रकाशित: २३ श्रावण २०७६ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App