१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

गुँला पर्व अर्थात संगीतको उत्सव

काठमाडौं- ल्याकुसा  मानन्धर समाज गुठीका सदस्यहरुले अघिल्लो शुक्रबार बिहानैदेखि आफ्नो परम्परागत बाजागाजा सहित धार्मिक तिर्थयात्रा शुरु गरेका छन्। गुँला पर्वको पवित्र महिनाको अवसर पारेर स्वयम्भुनाथ स्तुपाबाट सो तिर्थयात्रा शुरु गरेका हुन्।

नेवारी भाषमा ‘गुँ’ भन्नाले नौं र ‘ला’ ले महिना भनेर बुझिन्छ। सो पर्व नेपाल सम्वत अनुसारको पात्रोमा नौं महिना पुगेको अवसरमा मनाइन्छ। समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व हो। भगवान गौतम बुद्धको महिमा गाउँदै महिनाभरी उनमै समर्पित भएर मनाइने गरेको सँगीतका गुरु तथा ल्याकुसा मानन्धर समाज गुठीका सदस्य अमृत नारायण मानन्धरले बताए।

विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने बौद्ध धर्म मान्ने नेवारी समुदायले गुँला पर्व मनाउँदै आएको छ। बर्षेनी साउन शुक्ल प्रतिपदाबाट पर्व सुरु हुने गर्दछ। पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाउने परम्परा छ। पर्व अवधिभर दैनिक बिहान बाजागाजाका साथ बौद्ध चैत्य जाने गर्दछन्। गुँलाबाजामा बाँसुरी, खिं लगायत बाद्य समावेश हुन्छन्।

एक महिने पर्वका अवसरमा दैनिक आ–आफ्नो क्षेत्रका मठमन्दिर, बौद्ध विहारका साथै विशेष दिन विशेष ठाउँ घुम्ने गर्दछन्। ल्याकुसा मानन्धर समाज र यसको साँगीतिक समूहले यो पर्वको लागि धेरै मेहेनतका साथ लामो समयदेखि तयारी गरेको थियो। यस साँगीतिक तीर्थ यात्रामा सबै सँगीतका पारखीहरुले आफ्नो कला देखाउने अवसर पाउने गरेका छन्। सो यात्रामा सहभागी हुने सबैको खानपीन तथा बसोबासको व्यवस्था ल्याकु मानन्धर समाज गुठीले नै गर्ने गर्छ।

अमृत मानन्धरका अनुसार एक महिना चल्ने यो पर्वमा सहभागी भएका सबै युवाहरु अरु बेला आफ्नो अध्ययनमा व्यस्त हुन्छन्। र पनि खाली समयमा पर्वको लागि तयारीमा जुट्ने गरेका हुन्छन्। यस्तै पर्वको तयारी धेरै महँगो हुने गर्छ। तरपनि ती सबै युवाहरुको र पर्वभरी लाग्ने खर्च गुठी आफैले व्यहोर्ने गरेको छ।

पर्वमा बजाउने बाजा एकै दिनमा सिक्न नसकिने र यसको लागि धेरै समय लाग्ने पनि उनले बताए। एकदमै कठिनाईका साथ २५ वर्षदेखि मानन्धरले बाजा बजाउन र सिक्ने गरेको उनको भनाई छ। आफुहरुले प्रशिक्षणका बेला ३० देखि ४० जना मिलेर एउटै कोठामा बसेर घर नै नगई बाजा बजाउन सिकेको उनले सम्झे। उनका अनुसार, समय परिवर्तन हुँदै गएपछि पहिले बजाइने सेहनाईको ठाउँमा कार्नेज, कनट र ट्रम्पेट बजाउने गरिन्छ।

पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन्। पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ।

२६ वर्षिय निराकर मानन्धर अहिले मानन्धर समाजका सदस्य हुन्। स्थानीय टिभीमा यी बाजाहरु बजाएको देखेर यस प्रति आकर्षित भएको उनले सुनाए। आफ्नो जीवनको १६ वर्ष यसमा बिताएका निराकरले बाजा बजाउँदा आफ्नो सँस्कृती र परम्परामा रमाउने गरेका छन्। उनी आफु जस्तै अन्य युवाहरुलाई पनि यसमा सहभागी हुन प्रेरित गर्छन्। यस्ता परम्पराहरु आफु भन्दा अगाडिका मान्छेहरुबाट सिकेर आउँदो पुस्तालाई यसमा आउन प्रोत्साहन गरेमा आफनो परम्परा तथा रितीरिवाजलाई जगेर्ना गर्न सकिने उनको भनाई छ।

 

प्रकाशित: २३ श्रावण २०७६ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App