coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

समयमा काम नगर्ने ठेकेदारलाई १ करोड २२ लाख जरिवाना

मध्यपहाडी लोकमार्गअन्तर्गत तमोर नदीको पुल। तस्बिरःगिरिराज बाँस्कोटा/नागरिक

पाँचथर– राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा समयमा काम नगर्ने ठेकेदार कारबाहीमा परेका छन्। सदरमुकाम फिदिममा रहेको आयोजना कार्यालयले पूर्वनिर्धारित प्रतिबद्धता अनुरुप काम नगर्ने ठेकेदारलाई कारबाही गरेको हो।

लोकमार्गको सुरुआती विन्दु चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवासम्मको खण्डका पाँच वटा ठेक्काका ठेकेदार कम्पनीलाई कारबाही गरिएको हो। निर्धारित समयमा काम नसक्ने र म्याद थप्नका लागि आवश्यक कारण नदेखिएपछि ठेकेदार कम्पनीलाई जरिवाना लगाइएको हो। पाँच वटा ठेक्कामा १ करोड २२ लाख रुपैयाँ जरिवाना लगाइएको आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए।

कार्यालयले पाँचथरको चिवाभञ्ज्याङबाट भोजपुरसम्मको लोकमार्गले हेर्ने २ सय ८० किलोमिटर खण्डका ३५ वटा ठेक्का रहेका छन्। पुल र सडक निर्माणको ठेक्का लिएर काममा ढिलाइ गर्ने ठेकेदार कम्पनीहरू जरिवानामा परेका हुन्। तेह्रथुमको खोरंगा खोलामा पुल बनाउने जिम्मा पाएको कोसी एण्ड न्यौपाने निर्माण प्रालिलाई ४९ लाख ६९ हजार रुपैयाँ जरिवाना लगाइएको छ।

यस्तै भोजपुरको पिखुवा खोला पुलमा काममा ढिलाइ गर्ने इलाइट ठेकेदार कम्पनीलाई ७ लाख ७३ हजार जरिवाना गरिएको छ। यस्तै तेह्रथुमको सडकको स्टकचर काममा ढिलाइ गर्ने हिम्दुङ एण्ड थोकर कम्पनी पनि कारबाहीमा परेको छ। २०७०/०७१ सालमा ठेक्का लिए पनि समयमा काम नगरेको भन्दै ५४ लाख ५३ हजार रुपैयाँ जरिवाना लगाएको हो। यस्तै, सुरुआती विन्दु मानिएको पाँचथरको चिवाभञ्ज्याङ नजिक स्तरोन्नतिको ठेक्का पाएको गौरापार्वती जेभीलाई १ लाख ७५ हजार १ सय ५२ रुपैयाँ जरिवाना लगाइएको छ। यस्तै, भोजपुरमा सडकको काममा ढिलाइ गर्ने एरोभा कन्ट्रक्सनलाई १ लाख १९ हजार ८ सय २० रुपैयाँ जरिवाना लगाएको छ।

काममा ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना लगाएर राजस्व असुली गरिएको हो। आर्थिक वर्ष २०७५/०६७ मा काममा ढिलाइ गर्ने कम्पनीहरू कारबाहीमा परेका हुन्। गत पुसमा फिदिममा कार्यालय स्थापना गरेपछि ठेकेदार कम्पनीलाई ताकेता बढाएको थियो।

मध्यपहाडी लोकमार्गको फिदिम आयोजना कार्यालयले सुरुआती विन्दु नेपाल भारतको सिमाना चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवासम्मको खण्डलाई हेर्छ। यो खण्ड ३ सय ८६ किलोमिटर लामो छ। यसमध्ये २ सय ८० किलोमिटर खण्डमा मध्यपहाडी लोकमार्गको नयाँ सडक पर्छ भने अन्य खण्डमा पुराना सडक छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरमा २० किलोमिटर, तेह्रथुममा १८ किलोमिटर र भोजपुरमा २२ किलोमिटर कालोपत्रे सडक पर्दछ। भोजपुरसम्मको ३५ वटा ठेक्का ६ अर्ब ४४ करोड ७३ लाखमा लागेको थियो। लोकमार्गको तेह्रथुम र भोजपुरका अधिकांश खण्डमा कालोपत्रेको ठेक्का लागेको छ। पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ६७ किलोमिटर सडक रहेको छ।

प्रकाशित: २३ श्रावण २०७६ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App