४ वैशाख २०८१ मंगलबार
खेल

युनाइटेडले लुकाकुलाई कारबाही गर्ने

लन्डन – म्यानचेस्टर युनाइटेडले स्ट्राइकर रोमेलु लुकाकुलाई अभ्यासमा उपस्थित नभएकोमा कारबाही गर्ने भएको छ। कुनै जानकारीबिना अभ्यासमा उपस्थित नभएको भन्दै क्लबले कारबाही गर्ने बुधबार जनाएको हो। तर कारबाहीबारे क्लबले केही तोकेको छैन। बेल्जियमका २६ वर्षे लुकाकुले गत दुई दिन पूर्वक्लब एन्डरलेक्टमा अभ्यास गरेका थिए। तर युनाइटेडमा सोमबार खेलाडीका लागि बिदा रहँदै आएको छ।

इटालियन क्लब इन्टर मिलान र युभेन्टसले लुकाकुलाई भिœयाउनका लागि गृहकार्य गरिरहेका छन्। प्रि–सिजनको खेलमा लुकाकु चोटका कारण क्लबबाट खेलेका थिएनन्। एजेन्टले लुकाकुको भविष्य निश्चित गर्न पहल गरिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। इटालियन क्लब इन्टर मिलान जाने इच्छा देखाएका लुकाकुको मूल्यबारे युनाइटेड केही बोलेको छैन भने मिलान र युभेन्ट्सले निश्चित रकम तोकेर क्लब भिœयाउन प्रस्ताव गरिरहेका छन्। तर लुकाकुको विषयले अन्तिम रूप पाउन सकेको छैन। लुकाकु दुई वर्षअघि इङ्लिस क्लब इभर्टनबाट ७५ मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्धित भएका थिए।

इटालियन क्लब इन्टर मिलानमा इच्छा देखाएका लुकाकुलाई ५४ मिलियन पाउन्ड प्रस्ताव गर्दा युनाइटेडले अस्वीकार गरेको थियो। गत मंगलबार यसै बारेमा पुनः छलफल भए पनि निर्णय निचोडमा पुगेको छैन। इन्टरलाई सफल बनाउन सक्ने सक्षम खेलाडी रहेको भन्दै इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकु क्लब अनुबन्धका लागि पहिलो प्राथमिकतामा रहेको अभिव्यक्ति यसअघि दिएका थिए।

प्रकाशित: २३ श्रावण २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App