coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतद्वारा शृंखला क्लिन स्विप

शृंखलाको ट्रफीका साथ भारतका कप्तान विराट कोहली

गुयना – कप्तान विराट कोहली र विकेटकिपर ऋषभ पन्तको अर्धशतकीय योगदानप्रेरित भारतले वेस्ट इन्डिजविरुद्धको अन्तिम ट्वान्टी–२० क्रिकेटमा जित निकाल्दै शृंखला क्लिन स्विप गरेको छ।

भारतले मंगलबार गुयना नेसनल क्रिकेट स्टेडियममा वेस्ट इन्डिजमाथि ७ विकेटको जित निकाल्दै शृंखलामाथि क्लिन स्विप गरेको हो। १ सय ४६ रनको लक्ष्य पछ्याएको भारतले पन्तको अविजित अर्धशतकीय योगदानमा पाँच बलअगावै जित निकाल्यो।

यता, ट्वान्टी–२० विश्वकप क्रिकेटको साबिक विजेता वेस्ट इन्डिज भारतसँग स्तब्ध भएसँगै यस संरचनामा लगातार छैटौं हार बेहोर्न बाध्य भयो। भारतका लागि पन्तले सर्वाधिक ५९ रनको योगदान दिए। १९औं ओभरमा कार्लोस ब्राथवेटको पहिलो बलमा पन्तले छक्का प्रहार गर्दै सहज जित दिलाएका थिए। उनको इनिङमा समान चार चौका र छक्का समावेश थियो।

पन्तले तेस्रो विकेटका लागि कप्तान कोहलीसँग १ सय ६ रनको साझेदारी गर्दै पाहुना टोलीको जितको आधार तय गरेका थिए। तर, कोहली ५९ रन बनाएर आउट भए। ओसाने थोमसको बलमा आउट हुनुअघि कोहलीले ४५ बलमा ६ चौका प्रहार गरे। कप्तान आउट भएपछि पन्तले इनिङ सम्हाल्दै सफलता दिलाए। यद्यपि, भारतको सफलतामा दीपक चाहर म्यान अफ दी म्याच घोषित भए।

उत्कृष्ट सुरुआत गरेका चाहरले पहिलो विकेट दोस्रो ओभरको अन्तिम बलमा लिए। उनले सुनील नारिनलाई २ रनमा पवेलियनको बाटो देखाउँदा वेस्ट इन्डिजको खातामा ४ रन मात्र थियो। तीन ओभर मात्र बलिङ गरेका चाहरले ४ रन  खर्चिंदा तीन विकेट लिँदै वेस्ट इन्डिजको इनिङ धराशयी बनाए। भारतका कप्तान कोहलीले यस शृंखलामा केही खेलाडी प्रयोग गर्नुका साथै जितको पनि उद्देश्य रहेको उल्लेख गरेका छन्।

‘हामी केही खेलाडीहरू प्रयोग गर्न चाहन्थ्यौं। साथै जित निकाल्ने पनि योजना थियो,’ टोली छनोटको नीति उल्लेख गर्दै भारतका कप्तान कोहलीले भने,‘सोहीअनुरूप चाहरको क्षमता पनि भुवनेश्वर कुमारको जस्तै राम्रो रह्यो। नयाँ बलमा उनी विपक्षीविरुद्ध घातक साबित पनि भए।’ त्यसअघि वेस्ट इन्डिजको इनिङमा किरन पोलार्डले सर्वाधिक योगदान दिँदा घरेलु टोलीले मध्यम योगफल जोडेको थियो।

वेस्ट इन्डिज एक समय १४ रनमा तीन विकेट गुमाएको थियो। भारतका चाहरले नै नारिनसँगै, इविन लेविस र स्थानीय स्टार सिमरान हेटमायरलाई चौथो ओभरभित्र नै पवेलियनको बाटो देखाउँदै वेस्ट इन्डिजको इनिङ धराशयी बनाए। तर, पोलार्डले चौथो विकेटका लागि निकोलस पुरनसँग ६६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकासे।

यद्यपि, पुरन १७ रनमा पवेलियन फर्किए। गत शनिबारको डेब्यु खेलमै म्यान अफ दी म्याच चयन भएका तीव्र गतिका बलर नवदीप सैनीले त्यो साझेदारी तोडेका थिए। पोलार्डलाई पनि सैनीले पेवलियन बाटो देखाएका थिए। ४५ बल खेलेका पोलार्ड ५८ रन बनाएर आउट भए। उनको इनिङमा एक चौका र ६ छक्का थियो। भारतका लागि डेब्यु गरेका राहुल चाहरले त्यसपछि ब्याटिङ गर्न आएका कप्तान कार्लोस बेथ्रवेटलाई १० रनमै आउट गर्दा वेस्ट इन्डिज पुनः कमजोर भयो।

यद्यपि, रोभमेन पावेलले ३२ रनको अविजित इनिङ खेल्दै घरेलु टोलीको इनिङ सम्मानजनक स्थितिमा पु¥याएका थिए। तर, भारतीय कप्तान कोहली र पन्तले अनुशासित ब्याटिङ गर्दै योगफललाई सहजै भेट्टाए। हारपछि वेस्ट इन्डिजका कप्तान ब्राथवेटले शीर्ष क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोरेको बताए। उक्त शृंखलामा भारतका क्रुनाल पाण्ड्या प्लेयर अफ दी सिरिज भए। ट्वान्टी–२० विश्वकप क्रिकेटको साबिक विजेता वेस्ट इन्डिज भारतसँग स्तब्ध भएसँगै यस संरचनामा लगातार छैटौं हार बेहोर्न बाध्य भयो।

प्रकाशित: २३ श्रावण २०७६ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App