coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालंगा नदीले बगायो हाइड्रोपावर संरचना

कालंगा नदीले बगाउँदै गरेको कालंगा हाइड्रोपावरको निर्माणाधीन नहर र जम्मा गरेका कच्चा पदार्थ। तस्बिर: जगत/नागरिक

बझाङ - निजी लगानीबाट सञ्चालन गर्न लागिएको सुदूरपश्चिमको एकमात्र कालंगा हाइड्रोपावरको निमार्णाधीन संरचना बाढीले बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको छ।  अविरल वर्षाका कारण मंगलबार राति कालंगा नदीमा आएको बाढीले निमार्णाधीन हाइड्रोपावरको नहर, सिमेन्ट, छड, गिटी, बालुवा, दुईवटा क्रसर मेसिन तथा दुईवटा जेसिभीलाई बगाउँदा हाइड्रोपावरको दुई करोडभन्दा बढीको क्षति भएको हो।

‘हामी राति पाउटामा रहेको अफिसमा लेबरसहित सुतिरहेका थियौं, एकाएक नदीमा ठूलो आवाज आयो।  के भयो भनेर बाहिर आउँदा त हामीले निर्माण गरेको नहर, काम गर्न जम्मा गरेको बालुवा, गिटी, छड र दुई वटा क्रसर मेसिन बगाएर लाँदै गरेको देख्यौं,’ कालंगा हाइड्रोपावरका एमडी विवश अमात्यले भने, ‘अलिकति ढिलो थाहा पाएको भए नदी किनारमा सुतिरहेका मजदुरसमेत बगाएर ठूलो मानवीय क्षति हुने थियो।  धन्न बाँचियो। ’

नदीमा आएको बाढीको पानी नजिकै रहेको पाउटा बस्तीमा पसेर रातभर भागदौड मच्चिएको थियो।  मजदुर र मेसिनले छ महिना लगाएर गरेको हाइड्रोपावरको सबै काम नदीले बगाएको छ।  जिप, ट्र्याक्टर र स्काभेटरसमेत नदीमा डुबिरहेका छन्।  निर्माण सामग्रीहरू छरपस्ट भएका छन्।

‘नदीमा यति ठूलो बाढी आएको सम्झना छैन।  यो वर्ष जीवनमा पहिलो पटक कालंगा नदीमा ठूलो पानी आएको देखेको पाउटाका स्थानीय ६३ वर्षीय मनवीर बोहराले बताए। बस्ती नै बगाउने डरले राति गोठमा बाँधेका चौपायासहित पाउटाका १३ परिवार सडकमा विस्थापित भएका थिए।  बिहान नदीको पानी केही घटेपछि (नौ घण्टापछि) मात्र घरभित्र पसेका थिए।  ‘अझै बर्खाको जस्तो पानी परेको छैन, भदौ असोजमा बस्ती नै बगाउने चिन्ता छ,’ बोहोराले भने, ‘हाइड्रोको लगानी कालंगाको पानी भएको छ।  हेर्दाहेर्दै भएका संरचना नदीमा हरायो। ’

जिल्लाकै दुर्गम मानिने बुगल क्षेत्रमा सञ्चालन हुन लागेको १५ दशमलव ३३ मेगावट क्षमताको कालंगा गाड हाइड्रोपावरको काम ६५ प्रतिशत पूरा भएको बताइएको थियो।  सुरुङ मार्ग तयार भइसकेको सो हाइड्रोपावर निर्माणका कहिले स्थानीय र कहिले प्रकृतिबाट पाउने सास्तीका कारण लक्षित २०७७ सालभित्र निर्माण सम्पन्न हुन नसक्ने अवस्था बनेको छ।

प्रकाशित: २३ श्रावण २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App