coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतीय पर्यटक समस्यामा

काठमाडौं- ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ। तीर्थाटनका लागि नेपाल आएका अतिज भगवत सहितको टोली धेरै दिन नेपाल बस्न नसक्ने अवस्थामा छ। पशुपति दर्शन गरिसकेको उक्त टोली स्वयम्भु, बौद्धनाथ लगायतका धार्मिक स्थल नघुमी फर्कंदैछ।

नेपालमा भुक्तानी गर्नुपर्ने पैसाकै अभाव रहेको  उनले सुनाए। 'नेपालबाट फर्कंदा लैजानुपर्ने उपहार पनि किन्न नपाइने भो,' उनले भने, 'साथमा सयका नोट छैनन्, बास बसेको होटलमा भुक्तानी गर्न समेत गाह्रो छ,' अजितले भने 'हामीलाई देश फर्किनै गाह्रो छ, ल्याएको २० हजार रुपौयाँमा धेरै नोट ५ सय र हजारका छन्।'

मुम्बईबाटै नेपाल घुम्न आएका विपुल पाल्लीले पैसा हुँदाहुँदै पनि धेरै गाह्रो परेको बताए। चाइना टाउनमा सपिङ गर्दै गरेका उनले धेरै सामान किन्ने योजना भए पनि नपाएको सुनाए। 'नेपालमा गर्नुपर्ने काम धेरै छन्। तर अब घर फर्किनै समस्या होला जस्तो छ,' उनले भने, 'साथमा भारतीय नोट १५ हजार मात्रै छन्,' उनले भने, 'अब सबै पैसा फिर्ता लानुपर्ला।'

अर्का भारतीय रामेश्वर मिश्रले पनि ठूला दरको नोटमात्र रहेकाले नेपाल यात्रा सुखद नभएको बताए। उनले भने, 'एटिएमबाट २ हजार मात्रै पाइयो, यो पौसाले काम चलाउनै सकिन्न।' उनले एटिएमबाट अन्य पैसा झिक्न नसके समस्यामा पर्ने जनाकारी दिए।

भारतीय पर्यटकको किनमेल गन्तव्य मानिने चाइना टाउनको व्यापारमा कमी आएको सम्बद्ध व्यवसायीले बताएका। भारतीय ग्राहकले पैसा हुँदाहुँदै पनि किनमेल गर्न नपाएको गुनासो गरेको व्यापारीले बताए। चाइना टाउनमा व्यापार गर्दै आएकी सावित्री थापाको अनुसार धेरै ग्राहक सामान नकिनी फर्केका छन्। 'ग्राहक त धेरै आए तर व्यापार निकै कम भयो,' उनले भनिन्।

उनका अनुसार केही दिन अझै घुम्ने योजनासाथ आएका अधिकांश पर्यटकले तत्कालै स्वदेश फर्किहाल्नुपर्ने अवस्था आएको बताएका छन्। आफूसँग रहेका भारु कसरी साट्ने भन्ने चिन्ताले सताएको पनि उनले सुनाइन्।

चाइना टाउन व्यवसायी संघका अध्यक्ष ज्योति मुडभरीले व्यापारमा आएको गिरावट केही दिनका लागि भएको बताए। उनले ठूला नोट बन्द हुँदा बजारमा असर देखिनु स्वाभाविक रहेको बताए। चाइना टाउनमा दैनिक ५० हजार रुपैयाँ हाराहारी भारु कारोबार हुने गरेको उनले बताए।

प्रकाशित: २५ कार्तिक २०७३ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App