coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षिकाहरुले चलाएको एउटा सामुदायिक विद्यालय

पशुपति आधारभुत विद्यालयलाई जग्गा दान दिए पछि जग्गादाता खड्कालाई सम्मान गर्दै । तस्बिरः सुमन/नागरिक

मुगु– जिल्लाभर सरकारी विद्यालयको संख्या १ सय ३८ रहेको छ। जसमा धेरै विद्यालयहरुमा वातावरणीय, शैक्षिक सिकाईमा अब्बल होलान तर छायाँनाथ रारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालय महिला शिक्षिकाहरुले नमुनाका रुपमा सञ्चालन गरि रहेका छन्।

छायाँनाथ रारा नगरपालिका–३ ईमा गाउँमा २०४६ सालमा स्थापना भएको पशुपति आधारभुत विद्यालय अहिले नगरपालिकाभित्रका ४५ विद्यालयहरु मध्य फरक देखिएको छ। १ कक्षा देखि ५ कक्षासम्म पढाई हुने यस विद्यालयमा अहिले सबै शिक्षकाहरु नै छन्। कार्यालय सहयोगी बाहेक त्यहाँ कार्यरत शिक्षिकाहरु सबै महिला नै भएका कारण विद्यालयको स्वरुप नै अलग देखिएको छ। सुरुमा सानो दुई कोठा मात्र भएको यो विद्यालयमा अहिले चार कोठा छन भने खेल मैदान, शौचालय, खानेपानी र मजबुत घेरबार छ।

यसको अतिरिक्त विद्यालयले दिवा खाजामा स्थानीय उत्पादनलाई जोड दिएको छ। विद्यालयको जमिन र वरीपोरी स्थानीयको केहि जग्गा प्रयोग गरि मकै, गाँजर, सागपात, काउली फलाएको छ।

नारी उत्थान तथा सचेतना केन्द्रको सहयोगमा विद्यालय पोषण बगैचा कार्यक्रम अन्र्तगत विद्यार्थीलाई स्थानीय उत्पादन उपभोग गर्ने बानीको विकास गराउन थालेको विद्यालयका प्रधानाध्यापक चेतना शाहीले जानकारी गराईन। पछिल्लो समयमा स्थानीय उत्पादन लोप हुँदै गएको र यसको इतिहास जोगाउन तथा अभिभावकलाई स्थानीय उत्पादनमा आकर्षित गर्न विद्यालय पोषण बगैंचा कार्यक्रबाट बालबालिकामार्फत दबाब पर्ने प्रधानाध्यापक शाहीको बुझाई छ।

विगतमा ईमा गाउँका ३०/४० विद्यार्थी हुने गरेकोमा गएको शैक्षिक सत्रदेखि विद्यार्थीको त्यो संख्या बढेर ७० पुगेको छ। अहिले यो विद्यालयमा सदरमुकाम गमगढी, श्रीनगर, ठिनी र ईमा समुदायका विद्यार्थी अध्ययनरत छन्।

विद्यालय स्थापना हुँदाका ताका ईमा गाउँका स्थानीयबासी रामबहादुर खड्काले विद्यालयका लागि जग्गा दान दिएपछि कक्षा १ देखि ३ सम्म सुरु भएको यस विद्यालय २०६८ सालदेखि महिला शिक्षिकाहरुको जिम्मा आएपछि निकै परिवर्तन हुँदै आएको स्थानीयबासी एवं ३ नम्बर वडाध्यक्ष नरबहादुर रावलले बताए। ३ नम्बर वडामा रहेका पाँच वटा विद्यालय मध्य यो विद्यालय नमुना देखिएकाले थप प्रोत्साहन सहयोग हुने अध्यक्ष रावलले बताए। अहिले विद्यालयलाई जग्गाको समस्या भएपछि कक्षा कोठा, खेल मैदानलगायतका क्षेत्रमा समस्या परि रहेको अवस्थामा रामबहादुर खड्काका छोरा मनबहादुर खड्काले ९५२.२५ वर्ग मिटर जग्गा विद्यालयलाई दान दिएका छन्। विद्यालयलाई दश लाख बढि मुल्य बराबरको जग्गा खड्काले दान दिएपछि विद्यालयले छायानाथ रारा नगरपालिकाको १६ लाखको लागतमा दुई कोठे भवन निर्माण गर्न लागेको छ।

बुधबार भवनको विधिवत रुपमा वडाध्यक्ष नरबहादुर रावलले शिल्यान्यास गरेका हुन्। नगरपालिका र जिल्लाका अन्य तिनवटा स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा मै हुँ भन्ने पुरुष शिक्षकले पनि विद्यालयलाई सुधार गर्न नसकिरहेको अवस्थामा तीन जना दरबन्दी रहेको पशुपति आधारभुत विद्यालयमा कार्यरत सबै महिला शिक्षकले विद्यालयलाई नमुना बनाएपछि प्रोत्साहनका लागि विद्यालयको भवन निर्माण गर्न १६ लाख बजेट व्यवस्था गरिएको छायानाथ रारा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

विद्यालय स्थापना कालमा आफ्नै सन्तानले घर नजिकै प्रारम्भिक शिक्षा प्राप्त गर्न सकुन भने बुवाले निशुल्क जग्गा दिए। अहिले विद्यालयलाई जग्गा साँघुरो हुँदा पठपाठनमा समस्या हुने र साना बालबालिकालाई गाउँदेखि टाढा पठाउन समस्या पर्ने भएकाले मैले फेरि विद्यालयलाई जग्गा दान गरेको हुँ जग्गादाता मनबहादुर खड्काले भने। जग्गा दान गर्ने खड्कालाई बुधबार दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: २२ श्रावण २०७६ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App