coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्ल्यान्ड बलियो स्थितिमा

राजकोट- जोय रुटको शतक र मोइन अलीको उच्च प्रदर्शनप्रेरित इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा मजबुत सुरुआत गरेको छ। इङ्ल्यान्डले ४ विकेट गुमाई ३ सय ११ रन जोड्दै पहिलो दिन बुधबारको खेल टुंग्याएको थियो। घरेलु मैदानमा भारतीय स्पिनरले ३ विकेट लिँदा इङ्ल्यान्डले १ सय २ रनमात्र बनाउन सक्यो। त्यसपछि २५ वर्षे दायाँहाते ब्याट्सम्यान रुट र अलीले चौथो विकेटमा १ सय ७९ रनको साझेदारी गरेपछि इङ्ल्यान्ड खेल सकिँदा बलियो अवस्थामा पुगेको हो।  अली ९९ र बेन स्टोक्स १९ रनमा अविजित छन्। अली टेस्ट क्रिकेटमा चौथो शतक पूरा गर्न एक रनले टाढा छन्। पहिलो दिनकै प्रदर्शन अलीले जारी राख्न सकेको खण्डमा इङ्ल्यान्डले ठूलो स्कोर बनाउने सम्भावना छ। इङ्ल्यान्ड कप्तान एलिस्टर कुकले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए।

रुटले टेस्टमा ११ औं शतक बनाए। भारतविरुद्ध भने उनको यो तेस्रो शतक हो। तीन वर्षयता भारतमा शतक पूरा गर्ने रुट पहिलो विदेशी खेलाडी बनेका छन्। सन् २०१३ मा अस्ट्रेलियाका माइकल क्लार्कले शतक पूरा गरेयता रुटको शतक नै पहिलो हो। २ सय ३४ मिनेट मैदानमा बिताएका अलीले १ सय ९२ बल खेलिसकेका छन्। उनले पहिलो दिन ९ चौका प्रहार गरे।

रुट र अलीको साझेदारी तोड्न मुस्किल परेको भारतीय टोलीलाई मोहम्मद सामीको चोटले थप समस्यामा परेको छ। उनी ढाडको समस्याबाट पीडित भएका छन्।

दिनको पहिलो सत्रमा इङ्ल्यान्डका लागि हसिब हमिदले कान्छो खेलाडीका रूपमा डेब्यु गरे। १९ वर्षे हमिदले पहिलो विकेटका लागि कप्तान कुकसँग ४७ रनको साझेदारी गरेका थिए। ९८ मिनेट मैदानमा बिताएका उनी ३१ रनमा विश्व नम्बर एक बलर रविचन्द्रन अश्विनको सिकार भए। ८२ बल खेलेका हमिदले ६ चौका प्रहार गरेका थिए। अश्विनले बेन डकेटलाई १३ रनमा आउट पारे। उनले २ विकेटका लागि १ सय ८ रन खर्चे। कप्तान कुक २१ रन बनाउँदै रवीन्द्र जडेजाको बलमा एलबिडब्लु आउट भए। उनले ४७ बल खेल्दै २ चौका प्रहार गरेका थिए। कुकले तेस्रो बल र हमिदले १३ रन बनाउँदा जीवनदान पाएका थिए।

कुकले टेस्ट क्रिकेटमा इङ्ल्यान्डका लागि सर्वाधिक कप्तानी गर्ने कीर्तिमान तोडेका छन्। उनको नेतृत्वमा इङ्ल्यान्डले खेलिरहेको यो ५४ औं टेस्ट हो।  १ सय २४ रन बनाएका रुटको विकेट उमेश यादवले लिए। १ सय ८० बल खेल्दै रुटले ११ चौका र १ छक्का प्रहार गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०७३ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App