८ वैशाख २०८१ शनिबार
राजनीति

‘पर्यटनसम्बन्धी भौतिक संरचनामा मौलिकता झल्कनुपर्छ’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले पर्यटनसम्बन्धी भौतिक संरचना पुनर्निर्माण तथा नवनिर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसदहरूले विद्यमान भूमण्डलीकरणको अवस्था र आधुनिकताप्रतिको बढ्दो आकर्षणले भौतिक संरचनामा रहेका नेपाली मौलिक कला र संस्कृति लोप हुँदै गएको उनीहरुले बताए। तिनको संरक्षण र विकासका विषयमा सचेत हुन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।

सांसद डाक्टर बिमला राई पौड्यालले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै नेपाल विभिन्न जातजाति, धर्म परम्परा, कला र संस्कृतिले धनी देश भएकाले मौलिक नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनको आवश्यकतामा जोड दिइन्।

पुराना भौतिक संरचनाको जीर्णोद्धार, पुनर्निर्माण र नयाँ बन्ने तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सार्वजनिक भौतिक संरचनामा मौलिक कला र संस्कृति झल्काउने कुराको  सुनिश्चितता गर्नका लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको उनले स्पष्ट पारिन्।  सांसदहरू कालीबहादुर मल्ल, रमेशजंग रायमाझी र प्रमिला कुमारीले सार्वजनिक महत्वको प्रस्तावको समर्थन गरेका थिए।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई मौलिकता देखिने गरी बुटिक विमानस्थलको रुपमा रुपान्तरण गर्ने निर्णय भएअनुसार काम भइरहेको जानकारी गराए। साथै अन्य विमानस्थलमा पनि नेपाली मौलिकता झल्काउने विषयलाई प्राथमिकतामा राखिने बताए।

उनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूमध्ये हालसम्म दुई सय ७८ वटा सम्पदाको पुनर्निर्माणको काम सम्पन्न भएको र बाँकीलाई दुई वर्षभित्र पूरा गर्ने गरी योजनाहरू परिमार्जन गरिएको बताए। विश्व सम्पदा सूचीमा भएका सम्पदाहरूसमेत क्षतिग्रस्त भएकाले तीन सय ८९ वटा थप सम्पदाको पुनर्निर्माण सुरु गरी आर्थिक वर्ष २०७६÷०७७ मा थप एक सय ५० वटा सम्पदा पुनर्निर्माण सम्पन्न गर्ने मन्त्रालयको कार्ययोजना रहेको उनले स्पष्ट पारे।

राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।  
 

प्रकाशित: २२ श्रावण २०७६ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App