६ वैशाख २०८१ बिहीबार
समाज

चराको सुरक्षित वासस्थान घोडाघोडी

कैलाली– बढ्दो अतिक्रमण, जलवायु परिवर्तन, खेतबारीमा विषादीको बढ्दो प्रयोगले चराको आहारा घट्दै जानु र विषादीका कारण वंश विनाश हुँदा चराका केही प्रजाति लोपोन्मुखको सूचीमा परेका छन्। यिनै लोपोन्मुखको सूचीमा परेका चराहरु पछिल्लो समयमा कैलालीको घोडाघोडी ताल क्षेत्रमा देखिन थालेका छन्।

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताललाई सरकारी तथा निजी क्षेत्रले संरक्षण, सम्वर्द्धन गर्नुका साथै विषादीमुक्त अभियान थालेपछि लोपोन्मुख चराका लागि सुरक्षित वासस्थान बन्दै आएको हो। पछिल्लो समयमा विश्वव्यापीरूपमै खतरामा परेको सुनौलो तोप चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराको मुख्य वासस्थान रहेको पुष्टि भएको छ।

ताल क्षेत्रमा सुनौलो तोप चरा, राजधनेस, राज लहाँचे चरा पनि भेटिन थालेका छन्। घोडाघोडीमा चरा संरक्षणका क्षेत्रमा क्रियाशील चरा संरक्षण नेटवर्क कैलाली अध्यक्ष डिआर चौधरीका अनुसार विश्वमै लोपोन्मुख रहेका चराका प्रजाति पनि घोडाघोडी ताल क्षेत्रमा भेटिनुले पनि यहाँ ती चराका लागि सुरक्षित वासस्थान छ भन्न सकिने आधार देखिएको छ। ताल क्षेत्रमै लोपोन्मुख चराले वासस्थान बनाई बचेरासमेत हुर्काउन थालेका छन्। ‘सुरक्षित वासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित छ,’ उनले भने।

तालमै लोपोन्मुख चराले वासस्थान बनाई बचेरासमेत हुर्काउन थालेको चरा संरक्षण नेटवर्क कैलालीकी उपाध्यक्ष जमुना न्यूरे बताउँछिन्।  ‘ताल क्षेत्रमा बगाले सिमकुखुराले पनि गुँड बनाई बच्चा कोरल्न थालेको छ,’ उनले भनिन्,‘सुरक्षित वासस्थान मानेपछि बगाले सिम कुखुराले घोडाघोडी ताल क्षेत्र रोजेको हुनसक्छ।’ पहिलेको तुलनामा अहिले नयाँ प्रजातिका चराहरुको संख्या घोडाघोडी ताल क्षेत्रमा उल्लेख्य बढेको उनको भनाइ छ। लोपोन्मुख चराको वासस्थान भएको बताउँदै उनले भनिन्, ‘चरा खोज्दै जाँदा केही समय पहिले ताल क्षेत्रमा  सुनौलो तोप चरा पनि भेटिएको थियो, विश्वव्यापीरूपमै खतरामा परेको चरा घोडाघोडीमा भेटिनुले पनि यहाँ लोपोन्मुख चराको वासस्थान रहेको पुष्टि भइसकेको छ।’

यसका साथै हरिहाँस, नादुन हाँस र बगाले सिमकुखुराले घोडाघोडी ताल क्षेत्र बाहेक अन्य ठाउँमा प्रजनन गरेको रेकर्ड नभेटिएको बताउँदै अध्यक्ष चौधरी भन्छन्, ‘यी प्रजातिका चराले देशभरमै अन्य ठाउँमा प्रजनन गरेको रेकर्ड भेटिएको छैन, जसले गर्दा यी चराहरुको प्रजननका लागि उचित स्थान पनि घोडाघोडी रहेको पुष्टि हुन्छ।’ बर्खायाममै यी चराहरु प्रजननका लागि घोडाघोडी ताल क्षेत्रमा पुग्ने गरेको उनको भनाइ छ।

नेपालका लागि घुमन्ते रूपमा आउने जाने गरेको बगाले सिमकुखुरा अहिले यहाँ स्थायी वासस्थान बनाइ प्रजनन प्रक्रिया गर्न थालेको छ। हिउँदमा आउने आगन्तुक चराका रूपमा रहेको बगाले सिमकुखुरा रैथाने चरा हुन थालेको उनले बताए। नेपालमा साइबेरियाबाट जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख तथा दुर्लभ चराको उचित वासस्थान भएको हावा, पानीसँग मेल खाएका कारण दुर्लभ चराको संख्या घोडाघोडीमा थपिने गरेको उनी बताउँछन्।

यस्तै घोडाघोडी ताल क्षेत्रबाट हराएको जल अप्सरा चरा करिब पाँच वर्षपछि फेरि भेटिएको छ। जल अप्सरा रैथाने चरा भए पनि उचित व्यवस्थापन, वासस्थान नहुनु र चोरी सिकारीका कारण लोपोन्मुख अवस्थमा पुगेका थिए। यस्तै घोडाघोडी ताल क्षेत्रमै लोपोन्मुख चराको रूपमा रहेको सुनजुरे हाँस पनि देखिन थालेको छ।  घोडाघोडी तालको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसले पनि यस क्षेत्रलाई प्रजनन केन्द्र बनाएको छ। विगतका वर्षहरूमा  हरिहाँसको संख्या वृद्धिका लागि सहयोग पुगोस् भनेर चरा संरक्षण नेटवर्कले कृत्रिमरूपमा हरिहाँसको गुँड निर्माण गर्दै आएको छ।

घोडाघोडी ताल क्षेत्रमा रहेका पूर्वी ओझुवा ताल, ओझुवा ताल, रामफल ताल, नकरोड ताल, बुढिया नकरोड ताल, टेङ्नुवा ताल, बैसहवा ताल, चन्द्र बिजुवा ताललगायत २१ वटा सहायक तालमा दुई सय ९९ प्रजातिका चरा भेटिएका छन्।

प्रकाशित: २२ श्रावण २०७६ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App