७ वैशाख २०८१ शुक्रबार
समाज

यात्रु ठग्ने साढे १२ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडाैं- ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार सात सय ४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानुनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो।

महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा आठ हजार एक सय २० ट्याक्सी चालकलाई कारबाही गरेको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारबाही गरिएको जानकारी दिए। 'यात्रु ठग्ने दैनिक ४०/५० चालकलाई कारबाही गर्दै आएका छौं,' उनले भने।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ।  त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने पाँच सय रूपैयाँदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्ने गरिएको पन्तले बताए। महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारबाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं. १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा छन्। रासस

प्रकाशित: २२ श्रावण २०७६ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App