coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अंगीकृत नागरिकता लिनेक्रम बढ्दो

काठमाडौं- अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ। यहीबेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाहा छैन।

गृह मन्त्रालयका अनुसार तराईका २० जिल्लामा यस्ता नागरिकता लिनेको संख्या बढिरहेकेा छ। नयाँ संविधान जारी भएयता दैनिक सरदर १९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिइरहेका छन्।

मन्त्रालयले राखेको ०७२ असोजदेखि ०७३ वैशाखसम्म वैवाहिक अंगीकृत नागरिकता लिनेको अभिलेखअनुसार संविधान जारी भएको ८ महिनामा तराईका २० जिल्लाबाट ४ हजार ५ सय ६३ ले वैवाहिक अंगीकृत नागरिकता लिइसकेका छन्।

मन्त्रालयको रेकर्डअनुसार रुपन्देहीबाट सबैभन्दा बढीले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। संविधान जारी भएको आठ महिनामा रुपेन्देहीमा ८ सय १२ ले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्।

यसैगरी, नवलपरासीबाट ५ सय २९ र कपिलवस्तुबाट ४ सय ६८ व्यक्तिले यो नागरिकता लिएको गृहसँग तथ्यांक छ। यसैगरी, पर्साबाट ४ सय ७६, बाराबाट ३ सय २४, रौतहटबाट २ सय १८, सर्लाहीबाट १ सय ४५, महोत्तरीमा २ सय १९, धनुषाबाट १ सय ८२, सिराहाबाट १ सय ३० व्यक्तिले अंगीकृत नागरिकता लिएका छन्। यसैगरी, सप्तरीबाट १ सय ४१, सुनसरीबाट १ सय ९२, मोरङबाट १ सय ५७ र झापाबाट १ सय ९४ व्यक्तिले वैवाहिक अंगीकृत लिएका छन्। यसैगरी, कञ्चनपुरबाट २०, कैलालीबाट १६, बर्दियाबाट ९०, बाँकेबाट २ सय १५ र दाङबाट १८ व्यक्तिले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्।

२०७० असारसम्म साढे ३ लाख

गृहले सुरुदेखि ०७० असारसम्मको वैवाहिक अंगीकृत नागरिकता लिनेको रेकर्ड राखेको छ। ७५ वटै जिल्लाबाट ०७० असारसम्म ३ लाख ४४ हजार ६ सय ७१ व्यक्तिले वैवाहिक नागरिकता लिएको रेकर्ड मन्त्रालयसँग छ। ०७० असारदेखि ०७२ भदौसम्म यस्तो नागरिकता लिनेे व्यक्तिको रेकर्ड मन्त्रालयले राखेको छैन भने ०७२ असोजदेखि पुनः रेकर्ड राख्न थालेको छ। मन्त्रालयका अनुसार सुरुदेखि २०७३ असारसम्म नेपालमा सबै किसिमका नागरिकता लिनेको संख्या भने २ करोड ११ लाख ९९ हजार ८ सय ६९ छ।

नेपालको कानुनअनुसार तीन किसिमबाट अंगीकृत नागरिकता दिने गरिएको छ। वैवाहिक सम्बन्धका आधारमा दिइने वैवाहिक नागरिकता र सन्तानको सम्बन्धका आधारमा  नागरिकता दिने गरिएको छ। यसैगरी १५ वर्ष नेपालमा बसोबास गरेको, नेपाली भाषा लेख्न र बोल्ने जानेको र नेपालमा बसी व्यवसाय गरेको व्यक्तिलाई प्रक्रिया पुर्‍याई नागरिकता दिने गरिएको छ।

नेपालमा १५ वर्ष बसोबास गरेका आधारमा अहिलेसम्म ८ हजार ३ सय १७ विदेशीले नेपालको अंगीकृत नागरिकता लिएको तथ्यांक गृहसँग छ। 'पहिलेको तुलनामा वैवाहिक नागरिकता लिने व्यक्तिको संख्या बढिरहेको छ। वैवाहिक सम्बन्ध बढेका कारण पनि यो संख्या बढेको हुन सक्छ,' गृह मन्त्रालयअन्तर्गत नागरिकता तथा परिचयपत्र व्यवस्थापन फाँटका उपसचिव सागरमणि पाठकले नागरिकसँग भने।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App