coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं – पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायत खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ।

आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ। तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञ्चालनमा (चार्ज) आएको हो।

आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो। लखनपुर,  गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा थिए।

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो, राइट अफ वेको समस्या सुल्झाउन व्यक्तिगत रुपमा प्रभावितको घरघरमा समेत गयौं,’ उनले भने।

स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तर सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएको र अब इलाम, पाँचथर र ताप्लेजुङमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि पूर्वाधार तयार भएकोउनले जानकारी दिए।

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको उत्पादन प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन सुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइन निर्माण सम्पन्न भएको उनले उल्लेख गरे। ‘अब प्रवद्र्धकहरुले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी बिजुली जोड्नुपर्छ,’ घिसिङले भने।

राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, रुट परिवर्तन गर्नुपर्ने लगायत माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का; पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए। कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए।

आर्थिक वर्ष २०६३/६४ मा सुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एन्ड एस्टर जेभीसँग २३ भदौ २०६८ मा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता १४ पुस २०६८ मा कार्यान्वयनमा आएको थियो।

तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलित ऋणमा निर्माण भएको हो।

ड्रोनको प्रयोग
तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोन प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए। ‘त्यहाँ चार सय हाराहारी रुख काट्नुपर्ने थियो, यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देख्यौं त्यसैले ३१–३५ नम्बरको टावरमा ड्रोन प्रयोग गरी तार तान्यौं,’ उनले भने।

लाइन सञ्चालनमा आएको प्रवद्र्धकलाई जानकारी
प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ।

यस खण्डस्थित अमरपुर सबस्टेसनमा बिजुली जोडिने २५ मेगावाटको काबेली बी १को प्रर्वद्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीलाई लाइन चार्ज भएको मंगलबार जानकारी दिएको हो। ‘आयोजनाहरुबाट उत्पादित बिजुली अरपुर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिड प्रणालीमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौं,’ आयोजना प्रमुख द्विवेदीले भने। ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका बिजुली पनि यही सबस्टेसनमा जोडिने छ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन्। पहिलो खण्डमा करिब ८४ मेगावाट बिजुली यसअघि नै जोडिएको थियो।

प्रकाशित: २२ श्रावण २०७६ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App