coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धान रोपाइँ ८६ प्रतिशत

काठमाडौ – समयमा वर्षाद नभएर रोपाइँ ढिला सुरु भए पनि यो वर्ष गत वर्षकै हाराहारीमा धान रोपाइँ भएको छ। साउनको तेस्रो सातासम्म मुलुकभर ८६ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। गत वर्ष सोही अवधिमा ८९.६२ प्रतिशत रोपाइँ भएको थियो।

गत वर्षको तुलनामा करिब चार प्रतिशत कम धान रोपाइँ भएको भए पनि साउन मसान्तसम्म गत वर्ष जतिनै रोपाइँ हुने मन्त्रालयले जनाएको छ। तराईमा ८५.६३, मध्य पहाडमा ८६.६५ र उच्च पहाडमा ८८.८४ रोपाइँ भएको छ। प्रदेशगत आधारमा सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। उक्त प्रदेशमा ९५.३३ प्रतिशत रोपाइँ गरिएको छ। प्रदेश नं १ म ८०.१३, प्रदेश २मा ८१.९९, प्रदेश ३मा ८८.६७, गण्डकी प्रदेशमा ८६.५९, प्रदेश ५मा ८८.८६, कर्णाली प्रदेशमा ९४.१० प्रतिशत रोपाइँ भएको छ।

प्रतिकुल मौसमले ढिला रोपाइँ सुरु भए पनि गत वर्षकै जति नै रोपाइँ हुने मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए। ‘पहाड र हिमाली क्षेत्रमा गत वर्ष जस्तै रोपाइँ भएको छ,’ सुवेदीले भने, ‘तराईमा अहिले पनि जारी रहेकाले धान रोपाइँमा कमी भएको छैन।’

धान रोपाइँ ढिला सुरु हुँदा उत्पादन घट्ने आशंका गरिए पनि त्यसो नहुने कृषिका अधिकारी बताउँछन्। ढिला गरी रोपाइँ हुँदा उत्पादनमा सामान्य असर परे पनि ठूलो असर नपर्ने प्रवक्ता सुवेदीले बताए। ‘मलखाद, सिँचाइ, रोगकिरा व्यवस्था गर्न सके उत्पादनमा कुनै असर पर्दैन,’ उनले भने।

मुलुकमा यो वर्ष १३ लाख ६७ हजार आठ सय २१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अपेक्षा गरिएको छ। अहिलेसम्म ११ लाख ७६ हजार तीन सय ९३ हेक्टरमा धान रोपिएको छ। गत वर्ष सोही अवधिमा १२ लाख २५ हजार सात सय ३० हेक्टरमा रोपाइँ भएको थियो।

गत वर्षभन्दा यो वर्ष ४९ हजार तीन सय ३७ हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको छ। सिँचाइको अभाब, जग्गा प्लटिङ, ग्रामीण क्षेत्रमा जमिन बाँझो हुनुलगायत कारण पनि धान रोपाइँ थोरै मात्र कम भएको हो। मुलुकका प्रमुख सहर र तराईका केही जिल्लामा जग्गा प्लटिङ भएकाले क्षेत्रफल घटेको छ।

मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुन्छ। ६० मिटरदेखि तीन हजार ५० मिटरको उचाइमा धान रोपिन्छ। कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धान खेती हुन्छ।

धान मुलुकको प्रमुख खाद्य बाली हो। गत आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो। समयमा धान रोपाइँ, अनुकूल मौसम, प्रयाप्त सिँचाइ, रासायनिक मलको व्यवस्था हुँदा धान उत्पादन वृद्धि भएको थियो।

धान उत्पादन बढाउन कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ–नयाँ जातका धान का बीउ उन्मोचन गर्दै आएको छ। नार्कको सिफारिस अनुसार तराईका किसानले पुरानो जात राधा (राष्ट्रिय धान बाली) १२, राधा १३, राधा १४ जातका धान लगाउँदै आएका छन्।  त्यसैगरी, पश्चिम क्षेत्रमा राधा ४ धान लोकप्रिय छ। भारतबाट मिठो, मसिनो चामल आयात भएकाले नार्कले मिठो मसिनो चामल फल्ने धान सिफारिस गरेको छ। पहाडमा लेकाली धान १, ३ रोप्ने गरेका छन्। त्यसैगरी,  तराईमा जलवायु परिवर्तन भएकाले कहिले डुवान खडेरीमा सुक्खा र डुवानमा फल्ने बहुुगुणी धान १,२ लगाउँछन्।

धान उत्पादन बढाउनका लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)ले सघाउँदै आएको छ। धानको उत्पादन र उत्पादकत्व वृद्धि नहुँदा धानको उत्पादन वृद्धि हुन नसकेको अवस्थामा धानको उन्नत बीउबिजन, प्रविधिमा सघाएर धान उत्पादन वृद्धिमा सघाएको हो। नेपालमा ५० भन्दा बढी धानका नयाँ जात उपलब्ध गराउँदै आएको इरीले यहाँको हावापानी र माटो सुहाउँदो अनुसन्धानबाट निस्किएका बीउसहित उत्पादन विस्तारमा सघाएको छ।

सरकारले चामललगायत खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि गत वर्ष ३२ अर्ब रुपैयाँको चामल आयात भएको छ। यद्यपि सरकारले आगामी पाँच वर्षमा धान उत्पादन दोब्बर बनाउने घोषणा गरेको छ। धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विशेष पकेट क्षेत्र बनाइएको छ। मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने नयाँ जातका धान लगाउन प्रोत्साहित गर्दै आएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App