५ वैशाख २०८१ बुधबार
समाज

पशुपतिनाथमा ढल निर्माणमा ढिलाई

काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरमा ढल तथा सडक निर्माणमा ढिलाई भएको सर्वधारणले गुनासो गरेका छन्। चारमहिनादेखि पशुपति मन्दिरमा प्रवेश गर्ने मुलद्वार दक्षिणगेटदेखि जयबागेश्वरी सम्म र भुवानेश्वरीचोक देखि दक्षिणामुर्ति सडकमा खल्डाखुल्डी, हेमपाइप र असरल्ल निर्माण सामग्रीले मन्दिर आउजाउमा कठिनाई भएको हो।

 'सडक एम्बुस जस्तो बनेको छ। जताततै खल्डाखुल्डी र हेमपाइप यत्रतत्र छरिएका छन्।' पशुपति क्षेत्रका स्थानिय अमिरमान कपालीले भने, 'खल्डाखुल्डी खनेर अलपत्र छोड्दा, रातको समयमा धेरै मान्छे खाल्डोमा परेका छन्।'

निर्माणकार्यमा ढिलाई गर्दा पशुपति दर्शनमा आउने दशनार्थीले समेत हैरानी खेप्नुपरेको उनले बताए। ठेकेदार कम्पनीले खाल्डाखुल्डी खनेर छाड्दा समस्या भएको पशुपति सृजनशिल युवा क्लवका कोषाध्यक्ष दिपक नापितले जानकारी दिए। 'कहिले खल्डा खन्छन्। कहिले खाल्डो समाउँछन्। पाइप भने अझै सम्म ओछ्याएका छैनन्।' उनले भने, 'खोइ! हामीलाई त नाटक जस्तै लागिसक्यो।'

यता ठेकेदार कम्पनी ठेकेदार कम्पनी रौताहा /साप /धर्म एस जेभीका सञ्चालक धर्म लामाले ढल तथा सडक विस्तारमा चाडपर्व तथा विशिष्ट व्यक्तिको सवारीले केही समय ढिलाई भएको बताए।'रफतारमा सडक निर्माण गर्नै पाएका छैनौं।' उनले भने,'कहिले साउने सोमबार, कहिले तीज, कहिले जात्रा, कहिले राष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वको सवारीले निर्माणमा बाधा पुर्‍याएको छ।'  निर्माण क्षेत्रमा सर्वसाधारण तथा दशनार्थीहरुको बाक्लो उपस्थिति हुने भएकाले निर्माणमा केही अप्ठयारो भएको स्वीकारे।

'भारतीय राष्ट्रपति आउँदा त पिच गर्नुपर्ने दबाव आएको थियो। तर, ग्राभेल गरेर खल्डाखुल्डी टालटुल गर्‍यौ।'  ठेकेदार लामाले भने 'भारतीय राष्ट्रपति आउँदा १८ दिन काम रोकियो।'

'ठेक्का प्रक्रिया अनुसार निर्माणमा ढिलाई भएको छैन।' उनले भने, 'हाम्रो तर्फबाट द्रु्तगतिमा काम गरिरहेका छौं। काम गर्दा सर्वसाधारण आउजाउमा केही समस्या पर्‍यो होला।' आकाशेपानी तथा ढलको पानी व्यवस्थित गर्नका  छुट्टाछुटै दुईवटा पाइप जडान गर्दा केही समस्या आएको लामाले जानकारी दिए। 'कुनै अवरोध नआए निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धमाधम काम गरिरहेका छौं।' उनले भने,'सडक तथा ढल निर्माणमा स्थानियको जति धेरै साथ पायो।त्यति नै छिटो निर्माण सम्पन्न गर्नेछौं।'

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले ठेकेदार कम्पनीलाई छिटो ढल निर्माण गर्न निर्देशन दिएको बताएका छन्।'जतिसक्यो छिटो निर्माण गर्न दबाब दिइरहेका छौं।' उनले भने,'केही राम्रोको लागि स्थानियहरुमा धर्यता पनि चाहियो।' असार मशान्तसम्म काम सक्न निर्देशन दिएको उनले बताए। पशुपति क्षेत्र विकास कोषले सडकमा ढलको साथसाथै सडकमा आरसिसि गरेर ढुङगा ओछ्ाउनको लागि रौताहा साप धर्म एसजेभी कम्पनीलाई ठेक्का दिएको हो। उक्त सडक तथा ढल निर्माणको लागि भ्याटसहित १० करोड ३४ लाख ९५ हजार ५ सय ४० रुपैयाँमा कम्पनीले ठेक्का पाएको हो।वैशाख १३ मा ठेक्का भएको काम १८ महिना भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App