७ वैशाख २०८१ शुक्रबार
अर्थ

डिपिआर निर्माण अन्तिम चरणमा

दूधकोशी जलाशययुक्त आयोजनाको सुरुङ निर्माणस्थलमा उपकरण लैजान दूधकोशी अस्थायी पुल बनाउन स्काभेटर प्रयोग गरेर ह्युमपाइप राखिँदै । तस्बिर : दमन/नागरिक

काठमाडौं – खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको छ।

३० महिनामा पूरा गर्नेगरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि पिपिआरअन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनका काम गरिरहेको छ।

लामीडाँडाको रँभुवाबजारमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

आयोजनाको डिपिआरको काम आगामी कात्तिक–मंसिरसम्म पूरा हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘आयोजनाको हालसम्म फिजिबिलिटी रिपोर्ट तयार भएको, ड्राफ्ट डिटेल्ड डिजाइन, ड्राफ्ट टेन्डर डकुमेन्ट प्राप्त भएको, प्यानल अफ एक्स्पर्टस्बाट रिभ्यू भएर कमेन्ट प्राप्त भएको छ,’ घिसिङले भने, ‘टिओआर र स्कपिङ डकुमेन्ट स्वीकृत भएको तथा ड्राफ्ट इआइए रिपोर्ट प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम चरणमा पुगेको छ।’

लामीडाँडा विमानस्थलबाट ११ किलोमिटर उत्तर–पश्चिममा रहेको रँभुवाबजारमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट जमिन छेडेर सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरिने बताइएको छ। जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको प्रोजेक्ट मेनेजर वशन्त श्रेष्ठले बताए।

राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग
प्रभावित तीन जिल्लाका सांसदले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न ऊर्जामन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।

६ सय ३५ मेगावाट क्षमताको उक्त आयोजनाको हालसम्मको प्रगति, कामको समिक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित छलफलमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदले दूधकोसीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गरेर काम अघि बढाउन मन्त्री पुनलाई आग्रह गरेका हुन्।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि सारेका २१ आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरेको भए पनि दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई छुटाइएको भन्दै मन्त्री पुनको ध्यानाकर्षण गराएका छन्। खोटाङका सांसद विशाल भट्टराईले चाँडोभन्दा चाँडो दूधकोसीको डिपिआरको काम पूरा गरेर राष्ट्रिय गौरवको आयोजनाकारुपमा काम अघि बढाइनुपर्ने बताए।

‘दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सरकारको गौरवको आयोजनाको सूचीमा समावेश हुने र काम अघि बढ्ने अपेक्षा थियो,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘त्यसो हुन सकेन। अब डिपिआरको काम चाँडो पूरा गर्दै गौरवको आयोजनामा समावेश गरेर काम सुरु गर्न मन्त्रीलाई आग्रह गर्दछौं।’

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना संघीय, प्रदेश र स्थानीय सरकारको चासो र अपनत्वको विषय भएकाले तीनवटै सरकारको अपनत्वलाई पुँजीकृत गरेर आयोजनाको काम गर्न सकिने अवसर रहेको उल्लेख गरे। ‘यो आयोजनाले टेक्निकल्ली, सोसिअल्ली र इकोनोमीकल्ली देशलाई हित गर्छ,’ सुनुवारले भने, ‘त्यही भएर हामीले राष्ट्रिय गौरवको आयोजनाकारुपमा राख्नुपर्छ।,’

सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राईले पनि आयोजनालाई सरकारले प्राथमिकताको आयोजनाकारुपमा लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा ऊर्जामन्त्री पुनले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताकै आयोजनाकारुपमा राखेको बताए। ‘सरकारले यो आयोजनालाई प्राथमिकतामै राखेको छ,’ जनप्रतिनिधिको जवाफमा पुनले भने, ‘दातृ निकाय एडिबिलाई दूधकोसीमै लगानीका लागि प्रस्ताव हुन्छ। त्यसपछि मात्र अन्य आयोजनामा प्रस्ताव गरिन्छ।’

प्रकाशित: २२ श्रावण २०७६ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App