coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पार्किङ बन्यो दत्तात्रय मन्दिर परिसर

भक्तपुर - भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिरपरिसर पार्किङस्थल बनेको छ।  विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनधिकृत रूपमा पार्किङ स्थल बनेको हो।

दत्तात्रय मन्दिरअगाडि दिनहुँ चारपाग्रे गाडी पार्किङ भइरहेका छन्।  बेलुका भएपछि मोटरसाइकलको पनि पार्किङ बन्ने गरेको छ।  भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सो मन्दिरअगाडि पार्किङ हुने गरेको स्वीकार गरे।  उनले भने, ‘हामीले दत्तात्रय मन्दिरवरपरका स्थानीयलाई यो पार्किङको विषयलाई लिएर मिटिङ राखेका थियौं। ’ तीन–तीनपटक मिटिङ राखेर उनीहरूलाई भन्दा पनि नमानेको उनी बताउँछन्।

ऐतिहासिक दत्तात्रय मन्दिरअगाडि नो पार्किङको बोर्ड राखिएको छ।  तापनि अटेर गरी स्थानीयले पार्किङ बनाउने गरेको उनको भनाइ छ।  अब फेरि पनि मिटिङ बसेर कडा कारबाहीको प्रस्ताव पास गर्ने उनी बताउँछन्।  भविष्यमा भक्तपुरको च्याम्हासिंहदेखि भार्वाचोकसम्म चारपांग्रे निषेध गर्ने योजना रहेको उनले जानकारी गराए।  साथै उनले भूकम्पपछि पुनर्निर्माणका लागि सामान ल्याउन कठिनाइ हुने भएकाले चारपांग्रे निषेध नगरेको बताए।  भक्तपुरको टौमढी र दरबार स्क्वायरमा जस्तै वैकल्पिक बाटो भएको भए चारपांग्रे निषेध गरिसक्ने उनी बताउँछन्।

हिजोआज सो मन्दिरवरिपरि धेरै कफीसप र रेस्टुरेन्ट थपिएका छन्।  त्यसकारण पनि यो समस्या बढेको देखिन्छ।  कफीसप र रेस्टुरेन्ट खोलेका व्यवसायीले आफ्ना ग्राहकका लागि आफैं पार्किङको व्यवस्था मिलाइदिनुपर्ने हो, तर त्यसो हुन सकेको छैन।

व्यवसायीले ग्राहकचाहिँ बढी आऊन् भन्ने चाहना राख्ने अनि उनीहरूलाई पार्किङको व्यवस्था नभएपछि जहाँ खाली छ, त्यहाँ पार्किङ गरिदिने प्रवृत्ति भएको पाइन्छ।  सबै व्यवसायीलाई आफ्नो ग्राहकका लागि पार्किङ स्थल पनि आफैं व्यवस्था गर्नुपर्ने नियम बनाएको वडा कार्यालयले जनाएको छ।  नभए कारबाहीमा पर्नसक्ने जानकारी वडाले दिएको छ।

संस्कृतिविद् ओम धौभडेलले दत्तात्रय मन्दिर १५औं शताब्दीमा राजा अक्षय मल्लले एकतले मात्र बनाएको बताउँछन्।  पछि जीर्णोद्धार गर्ने क्रममा राय मल्लले दत्तात्रय मन्दिरलाई तीनतले बनाएको धौभडेल बताउँछन्।  यहाँ पहिला तीज र शिवरात्रिमा भव्य मेला लाग्ने गरेको उनले जानकारी दिए।  साथै अहिले साउनको सोमबार र पुुसको बुधबार पनि मेला लाग्ने गरेको उनी बताउँछन्।  यो मन्दिरलाई भारतका भक्तजन तथा साधुहरूले धेरै मान्ने गरेको उनले बताए।  दत्तात्रय मन्दिर काष्ठकलाको रूपमा प्रसिद्ध रहेको उनी सुनाउँछन्।

प्रकाशित: २२ श्रावण २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App