८ वैशाख २०८१ शनिबार
समाज

प्रसूतिगृहमा अत्याधुनिक क्यान्सर परीक्षण सेवा

काठमाडौं- थापाथलीस्थित प्रसूतिगृहले पाठेघरसँग सम्बन्धित क्यान्सर पत्ता लगाउने दुई अत्याधुनिक परीक्षण सेवा सञ्चालनमा ल्याएको छ। प्रसूतिगृहले पाठेघरको पानी जाँचेर क्यान्सर पत्ता लगाउने परीक्षण विधि एलबिसी टेस्ट र पाठघेरको मुखको क्यान्सर जाँच गर्ने भिडियो एक्सरे 'कल्कोस्कोपी' सेवा सञ्चालन गरेको हो।

केही निजी अस्पतालमा सीमित यो सेवा प्रसूतिगृहमा उपलब्ध भएपछि यसमा अब विपन्न वर्गको पनि पहुँच पुग्ने अपेक्षा गरिएको छ। यो सेवा उपलब्ध भएपछि महिलाले विकसित देशको जत्तिकै उपचार पाउन सफल भएको प्रसूतिगृहले जनाएको छ। 'विकसित देशको र यहाँको सेवा उही हो', प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले भने।

यसअघि प्रसूतिगृहमा पाठेघरको मुखको क्यान्सर जाँचको परम्परागत सेवामात्र उपलब्ध थियो। हाल उपलब्ध आधुनिक परीक्षण सेवाका तुलनामा परम्परागत जाँच कम प्रभावकारी रहेको गौतमले बताए। उनका अनुसार एलबिसी टेस्ट (लिक्विड बेस साइटोलोजी) सेवा सुरु हुनुअघि 'प्याप स्मेयर' प्रविधि (पाठेघरको पानी स्लाइडमा राखेर गरिने परीक्षण) बाट क्यान्सर भए नभएको परीक्षण गरिन्थ्यो। यो प्रविधि एलबिसी टेस्टको तुलनामा कम प्रभावकारी थियो। 'प्याप स्मेयर टेस्टले ४० देखि ४५ प्रतिशतमात्र सही परिणाम दिन्छ भने एलबिसी टेस्टले ८५ प्रतिशत दिन्छ', निर्देशक गौतमले भने। पाठेघरको मुखमा बढ्न लागेको क्यान्सरको भाइरस (ह्युमन पेपिलोमा) पत्ता लगाउनु पनि यो परीक्षणको अर्को विशेषता हो।

डा. गौतमका अनुसार परम्परागत कल्कोस्कोपीभन्दा अहिलेको कल्कोस्कोपी पनि बढी प्रभावकारी छ। पुरानो प्रविधिमा चिकित्सकले मात्र पाठेघरको स्थिति हेर्न सक्थे भने नयाँ प्रविधिमा चिकित्सकसहित बिरामीले पनि सीधै हेर्न सक्ने सुविधा छ।

नयाँ सञ्चालित परीक्षण सेवा निजी अस्पतालको तुलनामा आधा सस्तो भएकाले आर्थिक रुपमा कमजोर महिलाले पनि सेवा लिन सक्ने निर्देशक गौतमले बताए। उनका अनुसार यो सेवा लिन निजी अस्पतालमा १५ सय रुपैयाँभन्दा बढी तिनुपर्छ।

परीक्षणबाट पाठेघरको मुखको क्यान्सर पत्ता लागेमा त्यसको अवस्था हेरी शल्यक्रिया तथा अन्य थेरापी उपचार गर्ने व्यवस्था पनि प्रसूतिगृहमै छ।

यी सेवा लिन प्रसूतिगृह पुग्ने कुनै पनि महिला वञ्चित नभएको डा. गौतमले बताए। उपचारका लागि अस्पताल पुगेका विपन्न महिलाले सरकारको सामाजिक सुरक्षा सेवाअन्तर्गत २५ सयदेखि १० हजार रुपैयाँबराबरको सुविधा पाउँछन्। यो सुविधा अस्पतालको सामाजिक सेवा एकाइबाट दिइन्छ। 'गरिब भएकाले गरिब छु भन्न सक्नुपर्‍यो, उपचार हुन्छ', गौतमले भने।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App