५ वैशाख २०८१ बुधबार
अर्थ

सुक्खा बन्दरगाह निर्माण सेप्टेम्बरपछि

रसुवा – रसुवागढी नाकामा सुक्खा बन्दरगाहको निर्माण कार्य आगामी सेप्टेम्बरपछि मात्रै हुने भएको छ। गत वैशाखमा ठेक्का सम्झौता गरिएको भए पनि धेरै प्रक्रिया पार गर्नुपर्ने र वर्षाको समयमा फाउन्डेसन निर्माण गर्न कठिन हुने भएकाले निर्माण कार्य सुरु हुन नसकेको हो।

इन्टरमोडल यातायात विकास समितिका अनुसार चिनियाँ पक्षले सुरुमा क्याम्प निर्माण गर्ने छन्। निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सनले निर्माण सामग्री चीनबाट आयात गर्ने छ। आयात गरिने निर्माण सामग्रीको ‘मास्टर लिस्ट’ स्वीकृतिको चरणमा रहेको समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए। यसका लागि अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्छ।

सम्झौता गरिएपछि भिसाको काम सकिएको छ। आयोजना चिनियाँ पक्षले नै निर्माण गर्ने भएकाले कामदार चीनबाट आउँछन्। ‘गत असोजदेखि निर्माण कार्य अघि बढाउने योजना थियो,’ उनले भने, ‘प्राविधिक कारणले ढिलो हुन पुगेको हो।’

चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छौं,’ उनले नागरिकसँग भने, ‘नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने विषयमा छलफल भइरहेको छ।’

चीन सरकारले दुई चरणमा बन्दगाह निर्माण गर्ने जनाएको छ। डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ। चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ।

समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर सुक्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो। नेपाली पक्षले स्थानीयको समस्या समाधान गर्ने, सुरक्षा प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायत कार्य गर्नेछ।

निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ। आर्किटेक्चरल रिकन्साइन्सेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारन्टाइन, बैंक, ल्याबलगायत रहने छ।

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने उनले बताए। निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ। बन्दरगाहमा तीन सय ५० मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App