coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा राजधानी सार्ने मुद्दा

दाङ - विभिन्न कारणले जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचनको मिति तय भएपछि जिल्लामा पुनः चुनावी चर्चाले बढावा पाउन थालेको छ।  उपनिर्वाचनका लागि तय भएको मंसिर १४ लाई लक्षित गर्दै दलहरू अनौपचारिक रूपमा आन्तरिक तयारीमा जुटिसकेका छन्।  एक प्रदेशसभा सदस्य र एक वडा अध्यक्षका लागि १४ मंसिरमा दाङमा हुने निर्वाचनमा आफूलाई कसरी विजयी बनाउने भन्न्नेबारे मूलतः सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसले चुनावी रणनीति निर्माण गर्न थालिसकेका छन्।

जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएपछि यहाँ उपनिर्वाचन हुनेछ भने घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष लक्षिण बुढाको निधन भएका कारण यो वडामा पनि उपनिर्वाचन हुनेछ।  निधन भएका प्रदेशसभा सदस्य ओली र वडा अध्यक्ष बुढा नेकपाबाट निर्वाचित जनप्रतिनिधि थिए।  नेकपाले उपचुनावमा पनि आफ्नो पहिलो बिरासत जोगाउन लागिपर्ने छ भने कांग्रेसले नेकपाको बिरासत भत्काएर आफूलाई स्थापित गर्न प्रयास गर्नेछ।

पहिलो निर्वाचनको विजयमाला पहिरिएका सबै जनप्रतिनिधिको प्रमुख अजेन्डा ‘प्रदेश राजधानी’ रहेकोमा अब के अजेन्डा आउँछ र राजधानीबारे चुनावका बेला कस्तो रणनीति तय हुन्छ भन्नेबारे कौतुहलता सुरु भएको छ।
पहिलो चुनावमा दाङलाई राजधानी घोषणा गरिसकेका दलहरू अहिलेसम्म उक्त अजेन्डामा असफल सावित भैसकेका छन्।  अस्थायी राजधानी बुटवल तोकिएपछि स्थायी राजधानी दाङ हुनेमा जनअपेक्षा सेलाउँदै गएको छ।  यसर्थ अब पुनः राजधानीको विषयलाई अबको उपनिर्वाचनमा मुल अजेन्डा बनाउन दलहरूलाई त्यति सहज छैन।

नेपाली कांग्रेसले आसन्न निर्वाचनसम्म स्थायी राजधानी दाङ नतोकिए यो मुद्दा आफ्नो हितसँग जोड्ने छ।  यो अवस्थामा प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले दाङमा राजधानी ल्याउन नसकेको दाबीसहित मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास थाल्ने छ।  ‘प्रदेश राजधानी घोषणाको विषय अहिले नेकपाको हातमा छ, तर चुनावसम्म पनि दाङलाई स्थायी राजधानी घोषणा गरिएन भने नेकपाका कारण राजधानी घोषणा भएन भनेर हामीले मतदातालाई स्पष्ट पारिदिनु पर्छ,’ कांग्रेसका जिल्ला सभापति कीर्तिवहादुर खड्काले भने, ‘यो अवस्थामा हामी यही मुद्दाका साथ मतदाता समक्ष पुग्ने छौँ। ’

सरकारको नेतृत्व गरिरहेको नेकपाले पनि आन्तरिक तयारी तीव्र पार्दै लगेको जनाएको छ।  उपनिर्वाचन हुने दुवै स्थानमा जित दोहो-याउने लक्ष्यमा रहेको नेकपाले पनि राजधानीको मुद्दा कसरी उठाउने भन्ने विषयमा प्रदेशसभाले राजधानी घोषणाका लागि थालेको प्रक्रियाका नतिजालाई कुरेर बसेको छ।  अहिले स्थायी राजधानीका लागि प्रदेशसभाको राजधानी सिफारिस विशेष समितिले जनमत संकलन गरिसकेको छ भने राजधानीका लागि उपयुक्त जिल्ला चयनका लागि बनेको अर्को विज्ञ समूहले अध्ययन गरिरहेको छ। 

यो समूहले आफ्नो प्रतिवेदन बुझाएर स्थायी राजधानी दाङ स्थायी राजधानी तोकिए त्यसको भरपुुर फाइदा नेकपाले अबको उपनिर्वाचनमा पनि लिनसक्नेमा ढुक्क छ।  चुनावअगावै दाङ स्थायी राजधानी तोकिए आफ्नो नेतृत्वको सरकारले प्रदेश राजधानी ल्याएको भन्दै नेकपालाई यो मुद्दा चुनावी अस्त्रका रूपमा मतदातासम्म फ्याँक्न धेरै सहज हुने छ।  ‘अहिले स्थायी राजानीको घोषणाका लागि विशेष समितिले काम गरिरहेको छ, यसले प्रतिवेदन बुझाएपछि दाङ पक्कै पनि स्थायी राजधानी बन्ने छ भन्नेमा हामी ढुक्क छौँ,’ नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्काले भने, ‘अबको निर्वाचनमा हामी यो मुद्दालाई चुनावी अजेन्डाका रूपमा घुसाउने छौँ। ’

आन्तरिक रुपमा चुनावी रणनीतिमा लागेको भए पनि उम्मेदवार चयनको विषयमा भने अहिले कुनै प्रक्रिया सुरु नभएको अध्यक्ष खड्काले बताए।  उनका अनुसार पार्टी केन्द्रीय समितिबाट निर्देशन नआउँदासम्म उम्मेदवार चयनको विषयमा गम्भीर रूपमा बहसमा नजानेसमेत उनले बताए।  यता कांग्रेसमा भने उम्मेदवारबारेमा समेत बहस सुरु भैसकेको छ।  चुनावी मैदानमा उत्रने सम्भावित नाम समेत चर्चामा आउन थालिसकको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App