७ वैशाख २०८१ शुक्रबार
राजनीति

तिब्बती नेतासँग भेटेको छैन : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमणक्रममा आफूले तिब्बतबाट निर्वासित नेता दलाई लामालाई नभेटेको स्पष्ट पारेका छन्। इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको सेमिनारमा सहभागी हुँदै नयाँदिल्ली पुगेर बुधबार स्वदेश फर्केका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एक चीन नीतिप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका हुन्। तिब्बत चीनको अभिन्न अंग भएको जनाउँदै देउवाले भने, 'म एक चीन नीतिप्रति प्रतिबद्ध छु।'

नेपाली सञ्चारमाध्यमले दलाई लामा र उनका प्रतिनिधिसँग आफूले भेटेको भन्ने झुटा समाचार प्रकाशितत गरेको गुनासो गर्दै देउवाले आफू सहभागी इन्डिया फाउन्डेसनको कार्यक्रममा मिडियामा आएजस्तो त्यस किसिमका कुनै व्यक्तिसँग भेट नभएको बताए।

झुठा समाचार प्रकाशन/प्रसारण नगर्न आग्रह गर्दै देउवाले भने, 'मञ्चमा चारजनाबाहेक कोही बसेका छैन, बसेका पनि दलाई लामाका प्रतिनिधि होइनन्। लोकप्रियता कमाउने नाममा तपाईं (सञ्चारकर्मी) हरू अनावश्यक समाचार नबनाउनुस्।'

नयाँ दिल्लीमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गरेको जानकारी पनि देउवाले दिए। उनले ती भेटमा दुर्ईपक्षीय सम्बन्ध र भूकम्पपछिको पुनर्निर्माण विषयमा कुराकानी भएको बताए। 'नेपालप्रति प्रधानमन्त्री मोदीको अत्यन्त राम्रो सद्भाव रहेको पाएँ,' देउवाले भने, 'उहाँले इमानदार र जिम्मेवारीप्रति सजग रहेका भूतपूर्व गोर्खा सैनिकलाई संलग्न गराएर पुनर्निर्माणलाई तीव्रता दिन सुझाव दिनुभएको छ।'

नेपालमा संविधान कार्यान्वयनमा भइरहेको दलीय प्रयासबारे आफूले मोदीलाई जानकारी गराएको पनि उनले बताए। उनलेसबै दलको सहमतिमा छिट्टै संविधान संश्ाोधन प्रक्रिया अघि बढ्ने जनाए। 'प्रमुख प्रतिपक्षी एमालेको पनि सहमतिमा छिटो संशोधनअघि बढाइने छ,' देउवाले भने, 'संविधान सर्वस्वीकार्य बनाउन र कार्यान्वयनका लागि संशोधन जरुरी छ।'

१९ गते गोवा प्रस्थान गरेका देउवालाई दिल्लीमा जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो।

प्रकाशित: २५ कार्तिक २०७३ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App