coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भ्रष्टाचारको अखडा नबनोस्

सुनकोसी मरिन डाइभर्सनबाट प्रभावित हुने भनिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित कुसुमटार गाउँ। तस्बिर : अनिल/नागरिक

सिन्धुली – सरकारको प्राथमिकतामा रहेको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना भ्रष्टाचारको अखडा नबनाउन स्थानीयले सुझाव दिएका छन्। प्रभावित क्षेत्रका स्थानीयसँग आयोजनाले गरेको छलफल कार्यक्रममा आयोजना भ्रष्टाचारको अखडाको रुपमा नबनाई समयमै काम सम्पन्न गर्न स्थानीयले सुझाव दिएका हुन्।

यहाँको कमलामाई नगरपालिका–२ स्थित कुसुमटारमा भएको छलफलमा स्थानीय नवराज थिङले सरकारको प्राथमिकतामा रहेको आयोजनालाई कसैलाई भ्रष्टाचार गर्ने थलो नबनाउन आग्रह दिए। स्थानीयलाई उचित मुआब्जा दिनुपर्ने भन्दै ठूलो आयोजना भएकाले समयमै काम सम्पन्न गर्ने गरी लागिपर्न सुझाव दिए। आयोजना निर्माणस्थल सुनकोसी नदी आसपासका प्रभावित क्षेत्रका स्थानीयले समेत ठूला आयोजनालाई विभिन्न बहाना बनाएर समयमा काम सक्नुको साटो भ्रष्टाचारको अखडा बनेको भन्दै यो योजनालाई त्यस्तो हुन नदिनसमेत स्थानीयको सुझाव छ। रामेछाप खाडादेवी गाउँपालिकास्थित हात्तिटारका कृष्ण थापाले आयोजनाबाट व्यक्तिले करोडौंको बिल्डिङ बनाउने अवस्था नल्याउन सरकार सचेत हुनुपर्ने बताए। सुनकोसीको पानी मरिनमा मिसाउँदा मरिन खोलालाई समेत उचित व्यवस्थापन नगरे मरिनले अझै ठूलो क्षति गर्ने भन्दै सुनकोसी मरिन डाइभर्सन आयोजनाले मरिन खोलाको बाध व्यवस्थित गर्नुपर्ने उनले सुझाव राखे। कतिपय स्थानमा सरकारले ठूलो बजेट लगाएर निर्माण गरिएको अन्य योजनालाई समेत आयोजनाले प्रभावित पार्ने भएकाले त्यसलाई मध्यनजर गर्नलाई स्थानीयको सुझाव छ। रामेछापस्थित खाडादेवी गाउँपालिकामा सरकारको झन्डै ४५ करोड लगानीमा खानेपानी बनेको र खानेपानीको इनार सुनकोसीमा ड्याम राख्ने भनिएको क्षेत्रले प्रभावित पार्ने भएकाले त्यसतर्फ सोच्न स्थानीयको माग छ। एकै ठाँउमा सरकारको दोहोरो बजेट पार्ने र एउटा नोक्सान गरि अर्को बनाउने गरी बजेटको दुरुपयोग नहोस्, खाडादेवी गाउँपालिकास्थित भिरपानीका स्थानीय रामकृष्ण ढुंगेलले भने, एक वर्षदेखि निरन्तर काम गरेर यस वर्षदेखि पानी लिफ्ट गरी खानेपानी सुचारु भएको छ, अब फेरि प्रभावित नहोस्।

सुनकोसी गाउँपालिकाको वडा नं. ६ को सुनकोसी नदीमा १२ मिटर उचाइको बाध बाधि ६७ क्यूविक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने आयोजनाले जनाएको छ। नेपाल सरकारको प्रमुख प्राथमिकतामा परेसँगै सुनकोसी मरिन डाइभर्सन आयोजनाको कामसमेत अगाडि बढेको आयोजना प्रमुख सुशिल आचार्यले जानकारी दिए। आयोजनाबाट प्रभावित क्षेत्रमा विस्तृत अध्ययन तथा स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयसँग छलफल भइरहेको आयोजना प्रमुख आचार्यको भनाइ छ। आचार्यका अनुसार सुनकोसीको पानी मरिनमा लिफ्ट गरी जलविद्युत् उत्पादनका लागि नेपाली रुपैयाँ करिब ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ भने बाँकी संरचना निर्माणका लागि झन्डै ३० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। जसबाट २८.६२ मेगावाट जलविद्युत् उत्पादन हुने जनाइएको छ। हाम्रो मुख्य उद्देश्य सिँचाइ सुविधा बढाउनु नै हो,’ आयोजना प्रमुख आचार्यले भने, ‘सिँचाइका लागि सुनकोसी डाइभर्सन गर्दा विद्युत् उत्पादन हुने हो।  हाम्रो प्रभावित क्षेत्रका बस्तिलाई उचित मुआब्जा आउनुपर्छ, स्थानीय माधब देवकोटाले भने, घरजग्गा प्रभावित हुँदै गर्दा खुसीसाथ स्थानान्तरण हुने गरी सरकारले क्षतिपूर्ति दिनुपर्छ।

सुनकोशी र तामाकोशीको दोभानभन्दा तीन सय मिटर तलतिर सुनकोशी गाउँपालिका–६ मा १२ मिटरको बाँध उठाइने आयोजनाले जनाएको छ। आयोजनाबाट २८.६२ मेगावाट विद्युत् निकालिने र तराईका बारा, महोत्तरी, सर्लाही, रौतहट, धनुषा जिल्लाको एक लाख २२ हजार हेक्टर कृषियोग्य जमिनको सिँचाइ गरिने आयोजनाले जनाएको छ। सो बाँधबाट रामेछाप र सिन्धुलीको तीन सय १२ हेक्टर जमिन डुबानमा पर्नेछ। बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजनासमेत रहेको छ। आयोजना प्रमुख आचार्यका अनुसार डुबान क्षेत्रमा ९० प्रतिशत माझी जाति प्रभावित हुनेछन् भने पाँच सय ३२ घरधुरी प्रभावित हुने देखिएको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App