७ वैशाख २०८१ शुक्रबार
कला

प्रदेश जाँदै गाईजात्रा

काठमाडौं – गाईजात्राको अवसरमा राजधानीमा केन्द्रित रहने गाईजात्रे विशेष कार्यक्रम यस वर्ष देशभर आयोजना हुने भएको छ । ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम सात प्रदेशमा हुँदैछ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक गाईजात्रे विशेष कार्यक्रमबारे आयोजक ब्राण्ड वर्थले जानकारी गराएको थियो ।

गाईजात्रा अवसरमा राजधानीमा केन्द्रित रहेर आयोजना हुने गाईजात्रे विशेष कार्यक्रम यस पटक देशभर आयोजना हुँदैछ । विभिन्न सात वटा प्रदेशमा आयोजना हुन लागेको कार्यक्रम १० दिनसम्म चल्नेछ,’ हाँस्यकलाकार मनोज गजुरेलले भने, ‘हाँसेर मनोरञ्जन लिन पाउने अधिकार सबैको भएकाले गाईजात्रालाई हामीले हाँस्ने पर्वमको रुपमा लिएका छौं । सामाजिक बिकृतिमाथि व्यंग्य गर्दै आयोजना हुने ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रममा देशभरका मानिसहरू सहभागी हुनसक्नेछन् ।’ ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक गाईजात्रे विशेष कार्यक्रम १० दिने चल्नेछ । प्रदेश १ को विराटनगर हुँदै, प्रदेश ७ को धनगढीसम्म पुगेर आयोजना गरिने कार्यक्रम काठमाडौंमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।

‘विभिन्न सात प्रदेशलाई जोड्ने र असर गरेका विभिन्न विकृतिलाई आधार मानेर गाईजात्रा विशेष कार्यक्रम आयोजना हुँदैछ । यसले हिमाल, पहाड र मधेशमा बस्ने सबैलाई एकजुट हुन आग्रह समेत गर्नेछ,’ हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले भने । गाईजात्रा कार्यक्रममा देशभरका पाँच देखि सात हजार दर्शकले प्रत्यक्ष रुपमा हेरेर मनोरञ्जन लिने अनुमान आयोजक ब्राण्ड वर्थका कार्यकारी निर्देशक मोहन गजुरेलले बताए ।

‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की र रुविना अधिकारीलगायतका कलाकारहरुले प्रस्तुति दिदैँछन् ।

प्रकाशित: २१ श्रावण २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App