coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ट्रम्पको विजयले नेपाललाई खासै असर पर्दैन

काठमाडौं- अमेरिकाको ४५औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएपछि त्यसले अन्य मुलुकमा पर्न सक्ने असरबारे लेखाजोखा सुरु भएको छ। यसअघि कुनै पनि सार्वजनिक पद धारण नगरेका ट्रम्पको राष्ट्रपति पदमा जितपछि अमेरिकाले लिने नीति के होला र त्यसले संसारमा कस्तो असर पार्ला भनेर विश्लेषण भइरहेको छ।

विश्वशक्ति राष्ट्र अमेरिकाले लिने नीतिले सबै क्षेत्र र मुलुक प्रभावित हुनेछन्। पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य अमेरिकासँगको नेपाल सम्बन्ध कुनै व्यक्ति राष्ट्रपति हुँदा वा नहुँदा असर पार्ने स्तरको नभएकाले यसबाट नेपाललाई खासै असर नपर्ने बताउँछन्।

'अमेरिका बस्दै आएका नेपाली धेरै डेमोक्रेटिक भएकाले उनीहरूमा केही निराशा होला,' आचार्यले भने, 'तर नेपालको अमेरिकासँगका सम्बन्ध कोही व्यक्ति वा दल राष्ट्रपति हुँदा वा नहुँदा असर पर्ने प्रकारको भइनसकेकाले खासै असर पार्दैन। युरोपेली संघ वा चीनलाई भने फरक हुनसक्छ।'

आचार्यले निर्वाचनक्रममा गरिने घोषणा र राष्ट्रपति भएपछि गर्ने काममा फरक हुने बताए। 'सबै विषयमा राष्ट्रिय सुरक्षासँग जोडिएर निर्णय हुन्छ, त्यसैले चुनावमा गरेका सबै प्रतिबद्धता व्यवहारमा लागू हुँदैनन्,' आचार्यले भने। उनले ट्रम्पको विजयबाट अमेरिकी आप्रवास सम्बन्धी नियममा केही परिवर्तन हुनसक्ने बताए।

ट्रम्पले आप्रवासी नियन्त्रणलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए। उनले अमेरिकाले प्रशान्त क्षेत्रका देशसँग गरेको स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासेफिल टि्रटी) खारेज गर्ने बताएका छन्।

गैरकानुनी रुपमा अमेरिका छिर्ने व्यक्तिलाई रोक्न मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने र त्यसका लागि मेक्सिको सरकारलाई पैसा तिराउने ट्रम्पको अभिव्यक्ति निकै विवादमा परेको छ। उनले उत्तरएट्लान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रलाई बढी  दायित्व बहन गर्न लगाउने, रुससँग मिलेर काम गर्ने पनि चुनावी प्रचारक्रममा बताएका थिए।

'अमेरिकी जनताले परिवर्तन खोजेको देखिएको छ,' आचार्यले भने। ट्रम्पको जितसँगै डेमोक्रेटिक पार्टीको ८ वर्षे कार्यकालको चक्र सकिएको छ। दोस्रो विश्वयुद्धयता अमेरिकामा डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीले दुई कार्यकाल सत्ता चलाएपछि परिवर्तन हुँदै आएको छ। दोस्रो विश्वयुद्धपछि एक व्यक्ति चारचार वर्ष गरी दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने व्यवस्था भएको हो। त्यसमा अपवादको रुपमा जिमी कार्टर र जर्ज बुस सिनियर रहे।

दोस्रो विश्वयुद्धपछि राष्ट्रपति बनेको कार्टर र बुस सिनियरले मात्रै दोस्रो कार्यकाल चलाउन पाएनन्। सोभियत संघको पतनपछि मात्रै रिपब्लिकन पार्टीले उम्मेदवार दोहोर्‍याएका थिए।

'यसपटकको निर्वाचन जसले जितेको भए पनि इतिहास  बन्ने छ,' निर्वाचन परिणाम सार्वजनिक हुनुअघि नेपालका लागि अमेरिकी राजदूत एलाइना टेप्लिजले भनेकी थिइन्, 'ट्रम्पले जिते राजनीतिको आउट साइडरबाट हुनेछन् भने हिलारी क्लिन्टनले जिते पहिलो महिला।' निर्वाचन परिणाम आइरहेकै बेला राजदूतले आफ्नै निवासमा  भनिन्, 'राष्ट्रपति निर्वाचन अमेरिकी प्रजातन्त्रमा शान्तिपूर्ण शक्ति हस्तान्तरणको ठूलो नमुना हो। २ सय २५ वर्षदेखि यस्तो हुँदै आएको छ।' उनले कमै मात्रै देशमा यस्तो हुने दाबी गरिन्। उनको कमलकुञ्जस्थित निवासमा नमुना मतदानको समेत व्यवस्था गरिएको थियो।

प्रकाशित: २५ कार्तिक २०७३ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App