coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

६४ अर्ब लगानी सम्झौता

झापाको दमकमा बन्न लागेको औद्योगिक पार्क निर्माणको प्रस्तावित क्षेत्र। रतुवा नदी किनारमा बन्ने पार्कका लागि जग्गाको मुआब्जा विवाद बढेको छ। तस्बिर : युवराज/नागरिक

दमक – झापाको कमल, गौरादह र दमकमा बन्ने चाइना नेपाल फ्रेन्डसिप औद्योगिक पार्कका लागि गत शुक्रबारको लगानी बोर्ड बैठकले ६४ अर्ब चिनियाँ लगानी स्वीकृत गरेको छ। तर पनि जग्गाधनी अझै पार्क बन्नेमा विश्वस्त छैनन्।

कारण हो, तीन वर्षयता निरन्तर पार्क बन्ने प्रचार गरियो तर काम अघि बढाइएन। अहिले ६४ अर्ब रुपैयाँ लगानी आउने सम्झौता भए पनि काम नबढाएका कारण स्थानीय पार्क बन्ने विश्वस्त हुन नसकेका हुन्।

स्थानीय केही जग्गाधनी सरकारले जग्गा अधिग्रहण गर्ने मात्रै नियत राखेको बताउँछन्। औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह कार्कीले सरकारले जग्गा मात्र कब्जा गर्ने नियतमा काम अघि बढाएको आरोप लगाए।

‘न कुनै कागजले औद्योगिक क्षेत्र बन्छ भनिएको छ, अहिले जग्गा सस्तोमा कब्जामा लिने मात्रै रणनीति हो,’ उनले भने, ‘सरकारले हामीमाथि गम्भीर षडयन्त्र गरेको छ।’

औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष नन्दकिशोर बस्नेतले चिनियाँ लगानीमै औद्योगिक पार्क बन्ने दाबी गरे। ‘हामीले जग्गाको चार किल्ला छुटाएपछि लगानीका लागि आह्वान गर्ने छौं,’ उनले भने, ‘सरकार–चीनबीच भएको सम्झौताअनुसारै काम अघि बढ्ने हो।’ बस्नेतले जग्गा औद्योगिक क्षेत्रकै नाममा आउने भएकाले उद्योग नै बन्ने दाबी गरे।

सरकारले औद्योगिक पार्कका लागि आवश्यक पर्ने दुई हजार दुई सय बिघा जग्गामध्ये एक हजार सात सय ९० बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ल्याएको छ। बाँकी जग्गा सरकारी नै रहेको दाबी लिमिटेडको छ। नौ सय ४२ बिघा जग्गा लिमिटेडको नाममा निःशुल्क प्राप्त भएको छ। यस्तै चार सय ११ बिघाको मुआब्जा वितरणको काम भइरहेको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन सम्पर्क कार्यालयका सन्जय थापाका अनुसार अहिलेसम्म एक सय १७ जग्गाधनीले दुई सय ६५ बिघा जग्गाको १२ करोड सात लाख रुपैयाँ बुझेका छन्। जिल्ला प्रशासन कार्यालयअन्र्तगतको सिफारिस समितिले तीन किसिमको जग्गाको वर्गीकरण गरेको छ।
दुई हजार दुई सय बिघामा बन्ने औद्योगिक क्षेत्र चीन सरकारले ‘वान बेल्ट वान रोड’ (ओबिओआर)अन्तर्गत बनाउन लागेको हो। दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा चीनले औद्योगिक क्षेत्र बनाइदिने सम्झौता भएको हो। पार्कमा चिनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहनेछ।

प्रकाशित: २१ श्रावण २०७६ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App