८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजेः नेता पौडेल

बनेपा- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन्।

नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली काँग्रेसको सल्लाह बिना काम गरेको बताए।

नेता पौडेलले भने–“सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपथ्र्यो, तर नेतृत्वले ध्यान दिन सकेन । ”

नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको उल्लेख गर्दै सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न अझै बाँकी रहेको तर्क गरे।

“म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,” उहाँले पार्टी नेतृत्वको आलोचना गर्दै भने।

नेता पौडेलले नेपाली काँग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट काँग्रेस चल्न नसक्ने बताए।

पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन, उनको भनाइ थियो । स्थानीय तहको पुनःसंरचनामा जनताको भावनालाई समेट्न नखोजेको आरोप लगाउँदै नेता पौडेलले पुनःसंरचना आयोगले सङख्याको कुरा उठाएर बिथोलेको बताए।
पुनःसंरचनाको विषयमा स्थानीय विकास अधिकारीले पार्टीसँग सल्लाह गरेर मात्रै आयोगमा सिफारिस गरेको जिकिर गर्दै उनले  पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्नेगरी पुनःसंरचना गर्ने विषय आफूहरुलाई अमान्य हुने बताए।

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पुनःनिर्माणको कामले पूर्णता नपाएकाले र पीडितको घाउ निको नभएकाले स्थायी शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्दै भत्केको संरचनाको काम ३५ प्रतिशत मात्रै भएको बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले स्थानीय चुनावमा एमालेको, सरकारमा माओवादीको र संविधान संशोधनमा मधेसीको छाँया भए काँग्रेसको प्रभावकारितामा प्रश्न उठ्ने बताए। रासस

 

 

प्रकाशित: २४ कार्तिक २०७३ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App