७ वैशाख २०८१ शुक्रबार
खेल

पोखरामा ह्यान्डबल, एउटै कोर्टमा पालैपालो प्रशिक्षण

पोखरा - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरामा महिला तथा पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिएको छ। पोखरा रंगशालामा रहेको एउटै ह्यान्डबल कोर्टमा पुरुष र महिला खेलाडीले पालैपालो प्रशिक्षण सुरु गरेका छन्। कोर्ट अभावले पुरुष टिमको प्रशिक्षण सकिएपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने गरेका छन्।

ह्यान्डबलमा प्रशिक्षणमा रहेका सबै खेलाडीको उपस्थिति भने भइसकेको छैनन्। विभागीय टोली सशस्त्र प्रहरीको महिला तथा पुरुष खेलाडी प्रशिक्षणको लागि पोखरा आइपुगेका छैनन्। उनीहरू आउने क्रममा छन्। सशस्त्र प्रहरीबाट ७ पुरुष र ५ महिला खेलाडी प्रशिक्षणमा सहभागी हुन आउन बाँकी छ। नेपाली सेना र नेपाल पुलिस क्लबका खेलाडीहरू भने प्रशिक्षणको लागि आइसकेका छन्। पुरुषतर्फ २८ र महिलातर्फ २८ खेलाडीले पोखराको ह्यान्डबल कोर्टमा प्रशिक्षण आइतबारदेखि सुरु गरिएको हो।

पुरुषतर्फ नेपाली सेनाका ५, कर्णाली प्रदेशबाट १, सुदूरपश्चिमबाट १, गण्डकी प्रदेशबाट ५, प्रदेश १ बाट ३, प्रदेश ३ बाट २ र प्रदेश ५ बाट १ र नेपाल प्रहरीबाट ३  खेलाडी प्रशिक्षणमा सहभागी छन्। महिलातर्फ नेपाली सेनाबाट ९, कर्णाली प्रदेशबाट १, गण्डकी प्रदेशबाट ४, प्रदेश १ बाट २, सशस्त्र प्रहरीबाट ५ र नेपाल प्रहरीबाट ७ जना खेलाडी सहभागी छन्। पुरुषले बिहान ६ देखि ९ बजे र साँझ २.३० देखि ४.३० बजेसम्म प्रशिक्षण गर्नेछन्। महिलाहरूले  बिहान ९ देखि ११ बजेसम्म र साँझ ४.३० देखि ६.३० सम्म प्रशिक्षण गर्नेछन्।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता गण्डकी प्रदेशबाट विशाल बस्नेतसहित दिनेश श्रेष्ठ, विशाल नेपाली, पवन छन्त्याल र प्रवीन गुरुङ प्रशिक्षणमा छन्। महिलातर्फ भने गण्डकी प्रदेशबाट योगिता गुरुङ, माया थापा, दीप्ति गुरुङ र विमला भुजेलको सहभागिता रहेको छ। पुरुष टिमलाई प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्माले प्रशिक्षण दिएका छन् भने महिलातर्फ कृष्ण शाक्य र बृन्दा थापाको प्रशिक्षकत्वमा खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन्।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ह्यान्डबल पोखरामा आयोजना गर्ने निर्णय गरिएको छ। पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेलाइनेछ। त्यसको लागि कभर्ड हलमा फ्लोरिङ, साउन्ड सिस्टम र सिट राख्न राष्ट्रिय खेलकुद परिषद्ले ५ करोड रुपैयाँ विनियोजन गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले फास्ट ट्य्राकमै काम गर्ने गरी फ्लोरिङ, साउन्ड र सिट व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आएका छन्। त्यही हलमा ह्यान्डबलसँगै भलिबल प्रतियोगिता पनि खेलाइने छ।

सागकै पूर्वाधारको लागि परिषद्ले ह्यान्डबलको लागि पनि ५० लाख रुपैयाँ विनियोजन गरेको छ। विनियोजित बजेटबाट ह्यान्डबल एकेडेमीमा फ्लोरिङ गरेर पाहुना टोलीलाई प्रशिक्षणस्थलको रूपमा उपलब्ध गराउन सकिने विश्वास नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ सुनाउँछन्। उनका अनुसार ह्यान्डबल एकेडेमी, निर्माणकै चरणमा रहेको ब्याडमिन्टन कभर्ड हल र सम्भव भएसम्म भलिबल प्रशिक्षण केन्द्रलाई समेत ह्यान्डबलको प्रशिक्षणका लागि उपयोग गर्न सकिनेछ। तीनवटा ठाउँ भएको अवस्थामा पाहुना टोलीलाई समयअनुसार प्रशिक्षणस्थल उपलब्ध गराउन सकिने अध्यक्ष गुरुङको भनाइ थियो।

प्रकाशित: २१ श्रावण २०७६ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App