coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राहत नपाउँदा आहत डुबानपीडित

तस्बिर: टंक/नागरिक

सर्लाही - असार अन्तिम साताको अविरल वर्षाका कारण सर्लाहीका बाढी एवं डुबानपीडितहरू पर्याप्त राहत नपाउँदा झनै पीडित बनेका छन्।  डुबानले घर लडेकाहरू उचित सरकारी राहतको आशामा बसेको तीन साता बितिसकेको छ।  सरकारी स्तरबाट भने पीडितलाई राहत त परै जाओस् क्षतिको विस्तृत तथ्यांक संकलनसमेत सम्पन्न हुन सकेको छैन। 

गत साउन ३ गते विपद् व्यवस्थापन समितिको बैठकले घर, बालिनालीलगायत विस्तृत सर्भे गर्ने भन्दै तथ्यांक संकलनका लागि ३२ वटा टोली गठन गरेको थियो।  समितिका अध्यक्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले तथ्यांक संकलन कार्य दुईतीन दिनभित्रै सम्पन्न गरेर राहत वितरणको प्रक्रिया अगाडि बढाइने बताएका थिए।

तर टोली गठन भएको १८ दिन बितिसक्दा ११ वटा स्थानीय तहको मात्र विस्तृत सर्भे विवरण संकलन भएको छ।  २० वटा स्थानीय तहमध्ये हालसम्म हरिपुर, बागमती, मलंगवा, लालबन्दी, हरिवन, कविलासी, ईश्वरपुर नगरपालिका तथा रामनगर, चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकाको मात्र तथ्यांक आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।  बाढी एवं डुबानबाट सबैभन्दा बढी क्षति पुगेको धनकौल, बसबरिया गाउँपालिका एवं बलरा नगरपालिकासहित विष्णु, कौडेना र चक्रघट्टा गाउँपालिका तथा गोडैता, बरहथवा र हरिपूर्वा नगरपालिकाको तथ्यांक आउन सकेको छैन।

बाँकी स्थानीय तहबाट एकदुई दिनभित्रै तथ्यांक आउने प्रजिअ जिसीले बताए।  ‘स्थानीय तहका पदाधिकारीहरूबीच सानोतिनो विवाद देखिएकाले सबै तहबाट समयमै तथ्यांक आउन नसकेको हो,’ उनले भने, ‘अब केही दिनभित्रै संकलन कार्य सक्न टोली खटिइरहेका छन्। ’ साउन ३ गते बसेको विपद् व्यवस्थापन समितिको बैठकले हरेक वडामा वडाअध्यक्षहरूको नेतृत्वमा स्थानीय तहको कर्मचारी, स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलगायतबाट प्रतिनिधि सहभागी रहने ३२ वटा टोलीले हरेक घर–घरमा पुगेर दुईतीन दिनभित्र विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको थियो।

तर झन्डै तीन साता बित्न लाग्दा पनि तथ्यांक नै संकलन नहुँदा पीडितले उचित राहत पाउन सकेका छैनन्।  त्रिपाल एवं प्लास्टिकको अस्थायी टहरा एवं विद्यालयमा शरण लिई राहत एवं पुनःस्थापनको पर्खाइमा छटपटाइरहेका बाढी एवं डुबानपीडितका लागि तथ्यांक संकलनमै सरकारी ढिलाइले निकै आहत पुगेको छ।  धनकौल गाउँपालिकाको ढापटोल तथा महिनाथपुर, बलरालगायत विभिन्न ठाउँमा घर पूर्ण रूपले क्षति एवं अन्नपातसमेत नष्ट भएका पीडितहरू अझै त्रिपालमुनि बास बस्न बाध्य छन्। 

डुबानबाट अन्नपात नष्ट भएका पीडितलाई खानसमेत धौ–धौ भइरहेको क्षतिको पूर्ण विवरण आइसकेपछि तथ्यांक गृह मन्त्रालय पठाइने प्रजिअ जिसीले बताए।  ‘क्षतिको पूर्ण विवरण आइसक्नेबित्तिकै तथ्यांक गृह मन्त्रालय पठाउँछौं,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट विशेष राहत प्याकेज घोषणा भयो भने सोहीअनुसार पीडितलाई राहत प्रदान गर्नेछौं, नत्र विपद् व्यवस्थापन समितिको स्रोत र साधनले भ्याएसम्म क्षतिअनुसार पीडितलाई राहत एवं पुनःस्थापनको काम अगाडि बढाउनेछौं। ’

बाढी एवं डुबानकै समयमा तत्काल पीडित गाउँहरूमा पुगेर उद्धार एवं राहतमा सक्रिय गैरसरकारी संस्था बाग्मती सेवा समाज नेपाल हरिवनका कार्यकारी निर्देशक निरज भण्डारीले विपद् व्यवस्थापन समितिको विस्तृत सर्भे विवरण नआउँदा राहत वितरणमा समस्या भएको बताए।  ‘अहिले पीडित गाउँमा राहत सामग्री लिएर पुग्यो भने स्थानीय तहका प्रमुखले एकथरी, वडा अध्यक्षले अर्कोथरी पीडितको नामलिस्ट निकाल्ने गरेका छन्,’ उनले भने, ‘राहत वितरण गर्न जाँदा स्थानीय तहका प्रमुख, वडाअध्यक्षलगायत पदाधिकारीलाई सम्झाउँदाको सास्ती हुने गरेको छ।  विवादले राहत सामग्री वितरणमा समस्या भइरहेको छ।  हामीले सिडिओ साहेब तथा स्थानीय प्रहरीसँग पनि समन्वय गरेर अत्यन्त कठिनाइका बाबजुद राहत सामग्री वितरण गरिरहेका छौं। ’

विभिन्न दातृनिकायको सहयोगमा बाग्मती सेवा समाजले हालसम्म पाँच स्थानीय तहका ६ सय ५५ परिवारलाई पिउने पानी शुद्धीकरण गर्ने एक्वा ट्याब एक–एक प्याकेट, तीन स्थानीय तहका दुई सय घरधुरीलाई व्यक्तिगत सरसफाइका लागि आवश्यक सामग्री भएको हाइजिन किट र दुई–दुई थान प्लास्टिकका बाल्टिन, बसबरिया, धनकौल, बरहथवा, ईश्वरपुर र बलराका एक हजार २६ घरधुरीलाई चामल, चिउरा, बिस्कुट, नुन, चिनी, तेल, मस्यौरा, दाल वितरण गरिएको जनाएको छ।

त्यस्तै पर्सा, हरिवन, बरहथवा, धनकौल, ईश्वरपुर, बसबरिया र हरिपूर्वाका एक हजार दुई सय ३३ घरधुरीलाई खाद्यान्न सामग्रीसहित भाँडाबर्तन, प्लास्टिक, डोरी, ब्लांकेट, झुल, म्याट्रेस, सोलार बत्तीलगायत वितरण गरिएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए।  त्यस्तै ग्रामीण नारी उत्थान संघ हरिपुर, मोप्प नेपाल मलंगवा, उद्योग वाणिज्य संघ हरिवन, विभिन्न युवा समूहलगायतले पनि आ–आफ्नै ढंगले राहत वितरण गरेका छन्।

विस्तृत विवरण नआउँदा राहत वितरणमा कठिनाइ हुने भएपछि राहत सहयोगका लागि आएका दाताहरू फर्कने अवस्था आएको समेत भण्डारीको गुनासो छ।  सर्लाहीमा बाढी एवं डुबानालले २४ सय घरमा पूर्ण क्षति भई १२ हजार ८४ जना सर्वसाधारण विस्थापित भएको तथा ५ हजार ५ सय घरमा आंशिक क्षति पुगेको विवरण स्थानीय प्रहरी प्रशासनले सार्वजनिक गरेको थियो।

असार २७ गतेदेखि बागमती नदीको बाँधमा त्रिपालले छाएर बनाएको अस्थायी टहराको साँघुरो ठाउँमा सातजनाको परिवार बस्नुपरेको गुनासो गर्दै सर्लाही धनकौल गाउँपालिका–३ ढापटोलकी सुमित्रादेवी पासवान। 

प्रकाशित: २१ श्रावण २०७६ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App