७ वैशाख २०८१ शुक्रबार
राजनीति

कर्णालीका दुई स्थानीय तहमा उपनिर्वाचन

गणेश विशु

वीरेन्द्रनगर - कर्णालीका रिक्त दुई स्थानीय तहमा उपनिर्वाचन हुने भएको छ।  हुम्लाको खार्पुनाथ गाउँपालिका र सल्यानको कुमाख गाउँपालिका–५, मा उपनिर्वाचन हुने भएको हो।  खार्पुनाथकी उपाध्यक्ष सिन्दु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जिप दुर्घटना हुँदा मृत्यु भएको थियो।  त्यसपश्चात् यहाँ उपाध्यक्ष पद रिक्त छ।  खार्पुनाथमा उपाध्यक्षका लागि उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

यहाँका पाँचवटा मतदान केन्द्रमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदिश शाहीले जानकारी दिए।  उनका अनुसार खार्पुनाथ गाउँपालिकामा ३२ सय ८७ जना मतदाता छन्।  मृतक शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।  उनले एक हजार १८ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेकी रूपा शाहीले आठ सय ३६ मत ल्याएकी थिइन्।  यहाँका पाँच मतदानस्थलमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि यहाँ वडाध्यक्षको पद रिक्त थियो।  उनी तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए।  यहाँ एक मतदानस्थल रहेको सल्यानका जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए।  यहाँ १८७५ जना मतदाता छन्।  तत्कालीन वडाध्यक्षले सात सय ८८ मत ल्याएर विजयी भएका थिए।  उनका प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका अमृतबहादुर शाहले दुई सय २९ मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहराले एक सय ८० मत पाएका थिए।

उपनिर्वाचनको मिति तय भएपछि सल्यान र हुम्लामा मतदाता नामावली संकलन रोकिएको छ।  उपनिर्वाचनको तयारीमा लागेको उनीहरूको भनाइ छ।  १६ वर्षदेखिकाको मतदाता नामावली संकलन हुने भए पनि १८ वर्षभन्दा माथिकाले यस उपनिर्वाचनमा भाग लिन पाउने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।  उनका अनुसार मतदाताको विवरणको अन्तिम नामावली प्रकाशनको तयारी भएको छ।  ‘अहिले कुन मतदाता योग्य छ छैन भनेर नामावली रुजि गरिरहेका छौं,’ उनले भने, ‘रुजि भएपछि मतदाता नामावलीको अन्तिम नामावली प्रकाशन गर्छाैं। ’
सरकारले स्थानीय तहका रिक्त स्थानमा मंसिर १४ मा निर्वाचन गराउने भनेको छ।

  निर्वाचन आयोगले उक्त मितिमा निर्वाचन गराउन उपयुक्त हुने सिफारिस सरकारलाई गरेको थियो।  सरकारको उक्त निर्णयपछि यहाँ चुनावको सरगर्मी बढ्न थालेको छ।  मुलुकभर तीनवटै तहमा कूल ५० स्थानमा जनप्रतिनिध रिक्त छन्।  प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पद रिक्त छन्।  यसमा कर्णालीमा दुईवटा स्थानीय तहमा उपनिर्वाचन हुने भएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो।  स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि वैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो।  यहाँ नेकपा र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ।

प्रकाशित: २१ श्रावण २०७६ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App