८ वैशाख २०८१ शनिबार
समाज

जिम्मेवारीबाट अझै हटाइएन

काठमाडौं - मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरी हिनामिना गरेको आरोपमा महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले गरेको निलम्बन देखावटीमात्र भएको पाइएको छ।  अनियमितताको आरोपमा निलम्बनमा परेका व्यक्तिलाई सबै भूमिकाबाट हटाएर छानबिन गर्नुपर्ने भए पनि जगन्नाथले पूर्ववत् जिम्मेवारीअनुसार नै काम गर्दै आएका छन्।

संस्थानले जगन्नाथलाई निलम्बनको पत्र बुझाएको बताए पनि उनले महिटानीको बैंक खाता सञ्चालनदेखि मठमन्दिरको सबै काम गर्दै आएका छन्।  संस्थानले जगन्नाथका ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी तोक्नुपर्ने भए पनि त्यसो नहुँदा उनले नै काम गर्दै आएको संस्थानका उच्चपदस्थ एक कर्मचारीले बताए।  ‘निलम्बनमा परेका जगन्नाथले बैंकखाता सञ्चालनलगायतका सबै काम गर्दै आएका छन्,’ उनले भने, ‘जिम्मेवारीबाट नहटाउने हो भने निलम्बन गर्नुको के अर्थ रह्यो ? निलम्बनमा परेका जगन्नाथलाई बैंक खाता सञ्चालनलगायतको नियमित काम गर्न नरोकेपछि गुठी संस्थानकै अधिकारीहरुको संरक्षण रहेको आशंका जन्मेको छ।

ती कर्मचारीले संस्थानको केन्द्रीय नेतृत्वको भूमिकामाथि प्रश्न गरे।  ‘साँच्चिकै निलम्बन गरिएको हो भने किन भूमिकाबाट हटाइएन,’ उनले भने, ‘छानबिन सुरु गरेको बताए पनि आलटाल गरिएको छ। ’ महिटानी मन्दिरको जगन्नाथका नाममा रहेको एकल खाता नरोक्नु, मटिहानीको प्रशासनिक र पूजापाठको काम उनकै नेतृत्वमा हुनुले थप आशंका उत्पन्न भएको उनले बताए।

निलम्बनमा परेका जगन्नाथलाई बैंक खाता सञ्चालनलगायतको नियमित काम गर्न नरोकेपछि गुठी संस्थानकै अधिकारीहरुको संरक्षण रहेको आशंका जन्मेको छ।

यी महन्तलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा र पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी छ।  सार्वजनिक ओहोदामा बसेको व्यक्तिले अनियमितता गरेको आरोप लागेमा पदको दुरुपयोग गरेर सम्बन्धित निकायलाई थप क्षति नपु¥याओस् र प्रमाण नष्ट नहोस् भनेर निलम्बन गरिन्छ।  हरेक सरकारी तथा सार्वजनिक संस्थानमा एउटै व्यक्तिका नाममा खाता सञ्चालन गर्दा रकमको दुरुपयोग हुन सक्ने भएकाले संयुक्त रुपमा बैंकखाता सञ्चालन गर्ने भए पनि मटिहानी मठमन्दिरको खाता जगन्नाथको एकल दस्तखतमा सञ्चालन हुँदै आएको संस्थान स्रोतले बतायो।  ‘संस्थानबाट महिटानीको नाममा जाने रकम महन्तले एकल निर्णयबाट प्रयोग गर्दै आएका छन्,’ स्रोतले भन्यो, ‘सन्तुलनका लागि संयुक्त रुपमा खाता सञ्चालन गर्ने व्यवस्था नहुँदा मनपरी भयो। ’

गुठी संस्थानले नयाँ व्यवस्था नगर्दा निलम्बित जगन्नाथ नै हर्ताकर्ता रहेको संस्थानकै उच्चपदस्थ कर्मचारीले बताए।  उनले भने, ‘अरुलाई जिम्मेवारी नदिँदा दैनिक खर्चपर्चदेखि सबै काम उनले नै गर्दै आएका छन्। ’

गुठी संस्थानका प्रशासक नारायण चौधरीले भने जगन्नाथले निलम्बन गरेको पत्र बुझेको र महिटानी मठमन्दिरलाई दिने रकम रोक्का गरिसकेको दाबी गरे।  निलम्बन गरे पनि अर्को व्यक्तिलाई नखटाएको विषयमा उनले स्पष्ट जवाफ दिएनन्।  ‘महन्तलाई पूजापाठबाट नै हटाउन परम्परागत रुपमा अलि अप्ठ्यारो हुँदोरहेछ,’ चौधरीले भने, ‘अरुलाई जिम्मेवारी तोकिएको छैन। ’ महन्तको नाममा एकल खाता सञ्चालन गरेको विषय भने पुरानो परम्पराअनुसार भएको चौधरीले बताए।  ‘पहिलेदेखि नै मठमन्दिरमा जाने रकमको कारोबार उहाँ (जगन्नाथ) ले नै गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यहाँ अरु कर्मचारी नहुँदा महन्तको नाममा एकल खाता हुन्छ। ’

महिटानीअन्तर्गत स्कुल सञ्चालन गर्न, मन्दिरको व्यवस्थापन, साधुहरुका लागि खानपान, प्रशासनिकलगायतका खर्च गुठी संस्थानले पठाउने गरेको छ।  संस्थानले महिटानीका नाममा मासिक सातआठ लाख रुपैयाँ पठाउँदै आएको छ।  मठमन्दिरमा दर्शनार्थीले चढाएको भेटीबाट पनि ठूलो आम्दानी हुन्छ।

प्रशासक चौधरीले जगन्नाथलाई निलम्बन गरेकाले अब उनका नामको खातामा रकम नपठाइने बताए।  ‘अर्को व्यक्ति नखटाए पनि गुठी संस्थानको उनको नाममा रहेको खातामा पैसा पठाउँदैन,’ चौधरीले भने, ‘पैसा नदिएपछि कहाँबाट दुरुपयोग गर्नु। ’

संस्थानले महन्तलाई निलम्बन गरेर छानबिन सुरु गरेको जनाएको छ।  जगन्नाथमाथि रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायतका मन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप छ।  जग्गा बिक्री प्रकरणले सिंगो गुठी संस्थान बदनाम भएको छ।  संस्थान नेतृत्वले यो विषयलाई उच्च प्राथमिकतामा राखेर छानबिन गर्नुपर्ने भए पनि आलटाल गर्दै आएको छ।  जगन्नाथले बिक्री गर्न लागेको सूचनाका आधारमा केही जमिन भने संस्थानले रोक्का गरेको छ।  पछिल्लो पटक जनकपुरको रामनिद्यरको सातआठ कट्ठा जग्गा बिक्री गर्न लागेको सूचनाका आधारमा रोक्का गरिएको छ।

महन्तले मठमन्दिरका नामको जमिन आफ्ना नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता निकालेका थिए।  २०५४ सालमा महन्त नियुक्त भएपछि जगन्नाथले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको स्रोतले बतायो।

प्रकाशित: २१ श्रावण २०७६ ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App