८ वैशाख २०८१ शनिबार
समाज

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

कृष्ण ओली

बाजुरा- लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

बुधबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ६ बुँदे माग पत्र सहीत ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीलाई बुझाएको डेलिकेशनमा सहभागि ईश्वरराज गिरीले बताए। वाई ५, ६ र ७ मा दुबै सिजन खेती हुन सकेन।

आकासे पानीको भरमा खेती गर्दै आएका स्थानीयले पानी नपरेपछि कुनै बाली लगाएनन्। धान रोप्नका लागि राखिएको बीउ विरुवामै सुकेको थियो। हिउँदमा धान खेती नै नगरेर जमिन बाँझै छाडेको थिए। खडेरीको असर वाई सहित छिमेकी गाविस जुकोट, साप्पाटा, बाँधु रुगीन बिच्छ्यामा पनि परेको थियो। तर खेती नै नगरिएको भने वाई गासिको ५, ६ र ७ मा नै हो, गाविस सहायक लेखापाल कर्णवीर बुढाले बताए।

वाई बासीले तत्काल राहत कार्यक्रम लागु गर्नु पर्ने, खाद्य संकट प्रति राज्यले गम्भीर चासो राख्नु पर्ने, गाउँमा सिँचाई सुविधाका लागि सोलार प्रविधिबाट लिफ्ट सिँचाई कार्यक्रमका लागि पहल गर्नु पर्ने माग राखेका छन्। वाईलाई खडेरी प्रभावित क्षेत्र घोषणा गरेर विशेष प्राथामिकताका साथ राहतका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।

वाईमा सय मुरी फल्ने जमिन भएपनि बर्षेनी बाँझै हुने गरेको छ। ममोटेढुङ्गा देखि कात्तिक स्वामी मन्दिरसम्मको कृषि सडक निर्माणमा कामका लागि खाद्य कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेका छन्। भोकै बस्नु पर्ने बाध्यता वाई बासीलाई छ, यसमा ध्यान नदिई, प्रशासन कार्यालय अगाडि नै धर्नामा बस्ने कर्णसिंह कठायतले बताए।

ज्ञापन पत्र बुझाउन गाउँबाटै २० जनाको टोली मार्तडी आईपुगेको छ। खडेरीको मारमा २१५ परिवार परेका हुन्। स्थानीयले प्रहरी चौकी कुन्ना देखि सांसदहरुलाई समेत जानकारी गराएपनि सुनुवाई नभएको गुनासो गरेका छन् । ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले मागहरु सम्बन्धीत निकायमा पठाउने आश्वासन दिए।

प्रकाशित: २४ कार्तिक २०७३ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App